स्वास्थ्य सामान्य, नियमित काममा प्रधानमन्त्री

स्वास्थ्य सामान्य, नियमित काममा प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री केपी ओली स्वास्थ्य परीक्षण गरी दुई सातापछि शुक्रबार स्वदेश फर्किएका छन्। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा ‘प्लाज्मा फेरेसिस’ विधिद्वारा मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गरिएको थियो। सात सेसनसम्मको स्वास्थ्योपचारपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले उपचारपछि प्रधानमन्त्री पूर्ण स्वस्थ भएको जानकारी दिए। ‘उहाँ कम्प्लिट्ली स्वस्थ हुनुहुन्छ।

तत्काल फलोअपका लागि गइरहनु पर्दैन,’ रिमालले अन्नपूर्णसँग भने। प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्या सिंह शाहले प्रधानमन्त्री नियमित काममा फर्किन सक्ने प्रेस वक्तव्यमार्फत जानकारी दिएकी छन्। शरीरमा बढेको मिर्गौलासम्बन्धी एन्टिबडी निष्कासन गरिएपछि प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभ गरेका हुन्।

स्वास्थ्योपचारपछि स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थल रहेका सञ्चारकर्मीलाई कुनै प्रक्रिया भने दिएनन्। विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा नेता सुवास नेम्बाङलगायतले स्वागत गरेका थिए। सात पटकसम्म एन्टिबडी निष्कासनपछि तंग्रिएका प्रधानमन्त्री ओली विमानस्थलमा हात हल्लाउँदै मुस्कुराएका थिए। भदौ ५ गते स्वास्थ्योपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर गएका थिए। स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका थिए। बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको भेटवार्तामा पार्टी गतिविधि र डेंगुको संक्रमणपछि उपचाररत कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

उपचार प्रक्रिया सकियो ...

भदौ ६ गतेबाट सुरु गरिएको प्रधानमन्त्रीको शरीररमा देखिएको विकारयुक्त एन्टिबडी निष्कासन गर्ने कार्य सकिएको छ। एक दिन बिराएर ७ पटकसम्म एन्टिबडी निष्कासन गरिएको थियो।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत रहेकी निजी चिकित्सक डा. शाहले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया सकिएको जानकारी दिएकी छन्। ‘उहाँको शरीरमा बढी मात्रामा रहेको एन्टिबडीलाई वैज्ञानिक प्रविधिद्वारा हटाउने उपचार प्रक्रिया पूरा भएको छ’, डा. शाहद्वारा जारी वक्तव्यमा उल्लेख छ।

एन्टिबडी निष्कासनपछि मिर्गौलालाई गर्न सक्ने सम्भावित क्षति हटेको छ। निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार प्लाज्मा फेरेसिस गर्ने अत्याधुनिक मेसिन नेपालमा नभएपछि सिंगापुुर लैजानुपरेको हो।

प्रधानमन्त्री ओलीको दुवै मिर्गौला प्रत्यारोपण गरिएको थियो। १२ वर्षअघि भारतस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि बलियो आत्मबलका कारण उनी सक्रिय रहँदै आएका थिए। अचानक एन्टिबडी उत्पन्न भएपछि मिर्गौलाको कार्यक्षमतामा कमी आउन सक्ने चिन्ता चिकित्सकले व्यक्त गरेका थिए। सिंगापुरमा उपचाररत रहेकै अवस्थामा उनले दुई पटकसम्म मन्त्रिपरिषद् सदस्यसँग भिडियो कन्फ्रेन्ससमेत गरेका थिए। प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर गएका नेकपा सचिवालय सदस्य वामदेव गौतम र पार्टी महासचिव विष्णु पौडेल पनि स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री ओलीले साउन १८ गते सोही अस्पतालमा पहिलो पटक उपचार गराएका थिए। नौ दिनको उपचारपछि उनी साउन २७ गते स्वदेश फर्किएका थिए। १२ कात्तिक ०७५ मा छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। बलियो आत्मबल भएका प्रधानमन्त्री ओलीले सिंगापुर प्रस्थान गर्नुअघि आफ्नो स्वास्थ्यबारे दुष्प्रचार गर्नेलाई चुनौती दिएका थिए, ‘म १५ वर्षअघि बिरामी थिएँ। अब १५ वर्ष (राजनीतिक) अखडामा हुन्छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.