चकचके बाबाका ‘फेवरेट गर्ल्स’
‘झापा सुरक्षित छैन। काठमाडौं गएर बसौं।’ ‘झापाका धेरैजसो माओवादी यही क्लिनिकमा, मेरै हातले जन्मेका हुन्। मलाई केही हुँदैन।’ बुवा हाँसेर कुरा उडाउन माहिर !
‘अचना....अचना...’ टाढाबाट बोलाएको जस्तो लाग्यो।
अचना सम्बोधन मेरै लागि हो भन्ने थाहा हुँदाहुँदै पनि यो सम्बोधन अपरिचित लाग्छ। अशक्त र आर्त आवाजमा गरिएको सम्बोधन ! कहीँ मेरा कान त बजेका होइनन् ! बुवा (ससुरा) बिरामी भएदेखि मेरा कान बढी बज्न थालेका छन्। या मनका त्रासहरू बिउँझिन थालेका हुन् ! ध्यान दिएर सुन्दा रात्रिको निस्तब्धता मात्र सुन्छु।
गएका तीन महिनादेखि अस्पताल, औषधि, बिरामी र बिरामी भेट्न आउने शुभेच्छुहरूको संगतमा बितेको छ हाम्रो दिनचर्या। आवर्तक प्रश्नका आवर्तक जवाफ ! एउटै प्रवृत्तिका जवाफ दोहोर्याउँदा दोहोर्याउँदा लाग्छ— बिरामीका बारेमा सोधिएका प्रश्नका जवाफ टेप गरूँ र प्रश्नकर्ताको अघि बजाऊँ— टर्र....टर्र...। यन्त्रवत् र निर्रथक संवाद !
‘अचना... अचना...!’ बुवाले बोलाउनुभएको जस्तै लाग्यो।
स्ट्रोकले थलिएपछि बुवाको बोली र शरीर दुवै थलिएका छन्। स्ट्रोकअघि बुवाको गर्जन घरभरि गुञ्जिन्थ्यो। अहिले त्यही गर्जन अस्पष्ट, अशक्त र अपरिचित भएको छ। हतारिँदै बुवाको कोठामा पुगेँ तर बुवा त शान्त भएर सुत्नुभएको छ। बुवाको अनुहार बच्चाजस्तै देखिन्छ।
अस्पतालबाट घर फर्केपछि बुवाले दुईजनालाई बढी खोज्न थाल्नुभएको छ, ‘अचना काँ छ ? ’ र ‘कान्छी (नातिनी) काँ छ ? ’ अस्ति भर्खरको कुरा हो, बुवालाई खाना र औषधि खुवाएर, राम्ररी ओढाएर, बाथरुमको बत्तीबाहेक अरू बत्तीहरू निभाएर सञ्जीव र म कोठामा फर्केका थियौं। एकछिनपछि हाम्रो कोठाबाहिर खस्र्याक.. खस्र्याक... सुनियो। हेरेको त काँधमा अल्झेको तन्नाको अर्को छेउ भुइँसम्म लतार्दै, पातजस्तो हल्लिएको शरीरलाई मुस्किलले समाल्दै, बिस्तारै पाइला चाल्दै बुवा हाम्रो कोठासम्म आइपुग्नुभएको रहेछ। देख्नेबित्तिक्कै म आत्तिएँ र कराएँ, ‘बुवा, किन यसरी उठेर हिँडिसिएको !’
म कराएको सुनेर रेनु र कान्छी छोरी पनि कोठामा आइपुगेका थिए।
औषधिको प्रभाव हो, वा अचेतन स्थिति ! बुवाले केही प्रतिक्रिया गर्नुभएन। बरु हाम्रो ओछ्याननजिक पुगेर, जीउमा बटारिएको तन्नासँगै ओछ्यानमा पल्टिनुभयो। उठेर बस्न पनि अरूको मद्दत चाहिने अवस्थामा हुँदा, अँध्यारो करिडोरबाट बिनासहायता लगभग बीस पाइलाको दूरी हिँडेर आउनुभएछ ! कतै अल्झेर लडेको भए ! बुवालाई चोटपटक लाग्छ कि भन्ने सन्त्रास हाम्रो मनमा हात्ती बनेर बसेको छ। कान्छी छोरीले बुवाको टाउको मुसार्न थाली। ऊ सानी हुँदा यसरी नै उठेर हाम्रो कोठामा आइपुग्थी। बुवाको अनुहारमा छोरी सानी हुँदाको झझल्को देखिन्थ्यो।
स्ट्रोकपछि आईसीयूमा भर्ना गरिएको बुवालाई चुरोटको तलतलले व्यग्र बनाएको देख्दा हाम्रो मन रोएको थियो। मेडिकल कलेजमा पढ्दाताका नै सुरु भएको बुवाको चुरोटप्रेमलाई निकोटिन प्याचले पनि छुटाउन सकेका थिएन।
‘बुवा, डाक्टरले पनि धूमपान गर्न हुन्छ र ? ’
मेरो आपत्तिमा बुवाले गुरु श्रद्धाको तर्क अघि सार्नुहुन्थ्यो, ‘मेडिकल कलेजमा हुँदा आफ्नै गुरुबाटै सिकेको हुँ।‘
आईसीयूभित्र हुँदा बुवाले हामीलाई फकाएर, हातको इसाराले, आँखाको इसाराले चुरोट मागी नै रहनुभयो। अति छटपटे स्वभावको बुवालाई कान्छी छोरीले ‘चकचके बाबा’ भन्छे। चकचके बाबाका लागि आईसीयू बन्दीगृहमा परिणत भएको थियो। बुवाको चुरोटतडप हाम्रो लागि पीडादायी थियो।
स्वास्थ्य बिग्रँदै गएपछि बुवालाई भेन्टिलेटरमा राखियो र त्यसपछि सुरु भयो बुवा र यमबीच अदृश्य संग्राम। डा. सुनील कोइरालाको निरीक्षण र डा. अर्जुन कार्कीको परामर्शले आशा जगाए पनि बिरामी भेट्न आउने आफन्तहरू आँसु पुछ्दै आईसीयूबाट बाहिरिन्थे। तर, जब म प्रतिक्रियाहीन बुवाको काननजिक गएर बोलाउँथे ‘बुवा... बुवा..’ उहाँको शरीरमा जीवनसञ्चारका झिल्का देख्थेँ। उहाँका बन्द आँखाका परेलीहरू तरंगित हुन थाल्थे र चिसा औंलाहरूमा स्पन्दन भएको म अनुभव गर्थें। आशाकिरणहरू बोकेर म आईसीयूबाट निस्कन्थेँ तर निराशाका कुहिरोमण्डमा ती सबै बिलाएर जान्थे। चकचके बाबाको निश्चेष्ट शरीर देखेर सञ्जीव र मैले निर्णय गरेका थियौं, ‘बुवा बिउँझेपछि लुकाएर भए पनि चुरोट उपलब्ध गराउने।’
बिउँझिएपछि बुवाका थकित नजरले मलाई खोज्न थालेका थिए। बोली हराएको थियो। तर मलाई र रेनुलाई उहाँले, खै किन, ‘आ...मा’ भन्न थाल्नुभएको थियो। स्मृति हराएका बुवाका आँखा हामीलाई चिनेर हाँस्न सुरु गरेका थिए। आईसीयूबाट क्याबिनमा सारेपछि नर्ससित लुकाएर चुरोट दिँदा बुवाका कमजोर ओठले चुरोट समात्न सकेन। बालेर दिँदा एक सर्को पनि तान्न सक्नुभएन। अरू बेला धूमपानसित आपत्ति हुन्थ्यो तर त्यस दिन बुवाले एक सर्को पनि तान्न नसक्दा मन दुखेको थियो। धूमपान त स्वेच्छाले त्याग्ने हो, अशक्तताले होइन। पचास वर्षसम्म गाउँमा उपचार सेवा पुर्याएका डा. शंकरप्रसाद उप्रेती बिरामी हुँदा अरू डाक्टरले दिएका औषधि खुवाउन साह्रै गाह्रो भएको थियो।
आईसीयूबाट क्याबिन र क्याबिनबाट घरसम्मको यात्रा हाम्रो लागि त्रासदीपूर्ण थियो। अरूका कुरा सुन्ने धैर्य नभएको बुवा आफू बोल्दा मात्र रमाउने। त्यसैले उहाँले बोलेका कुरा नबुझिए पनि हामी कुरा बुझिएको अभिनय गर्न पास भएका थियौं।
छटपटे स्वभाव र समयको पाबन्द बुवासित पहिलो भेट हुँदा मेरो धारणा अर्कै बनेको थियो। सञ्जीव र म त्रिभुवन विश्वविद्यालयमा पढ्दै गर्दा सञ्जीवले चिठी लेखेर बुवा र आमा (सासू)लाई मेरोबारेमा जानकारी दिएका रहेछन्। बुवा मलाई भेट्न झापाबाट काठमाडौं आइपुग्नु भएछ।
‘अहँ, भेट्दिनँ म। किन भेट्नु पर्यो ? ’ बुवालाई भेट्नुपर्छ भन्ने सुनेर मेरो मुटुमा ढ्यांग्रो बजेको थियो।
तर नभेटी सुख थियो र ? तोकिएको दिन र समयमा ठमेलको उत्से रेस्टुरेन्टमा पुगेँ। बुवा त पहिल्यै पुगिसक्नुभएको रहेछ। बुवाले सोध्नुभयो, ‘तिमी के लिन्छौ ? ’
मन नहुँदा पनि भेट्न परेकाले अलि दिक्क लागेको थियो। ‘सास लिन्छु’ भनूँजस्तो लाग्यो तर आँट आएन। हुनेवाला ‘आदर्श’ बुहारीको अभिनयमा थिएँ। चुप लागेँ।
‘तिमीले ब्याचलर कहाँबाट गर्यौ ? ’ रवाफिलो स्वरमा अर्को प्रश्न आयो।
‘आगरा विश्वविद्यालयबाट’, तौली तौली जवाफ दिएँ।
‘थाहा छ, आगराको के कुरा प्रख्यात छ ? ’
‘ताजमहल।’ जागिरका लागि अन्तर्वार्ता दिएजस्तो लागेकाले दिक्क लागेको थियो।
‘होइन, आगराको पागलखाना प्रख्यात छ।’ फ्याट्ट उत्तर आयो।
एकछिन त लाग्यो ‘ओजे’ (ओभर जान्ने) मान्छे ! चिरफार गर्ने डाक्टरलाई के थाहा प्रेमका कुरा ! कहाँ ताजमहल, कहाँ पागलखाना ! हुन त, त्यो पहिलो भेटबारे बुवा फरक ढंगले सुनाउनुहुन्छ।
तर बिस्तारै बुवा र मेरोबीच अनौठो आत्मीयता बढ्दै गएको थियो। हामी दुईबीच थुप्रै कुरामा सहमति र असहमति हुन थालेका थिए। गाउँमा पचास वर्ष उपचार सेवा पुर्याउने अठोट पूरा गरेपछि झापाका स्मृतिहरू सँगालेर बुवा काठमाडौंमा हामीसँग बस्न थाल्नुभयो। अनि बुवासित मेरो सानिध्य झन् बढेर गयो। सानैमा घरबाट भागेर भारत पुगेका कुरा, जमिनदारको छोरा भए पनि प्रवासमा घरेलु सहायक बनेर शिक्षा आर्जन गर्दाका संघर्षका कुरा, जयपुर मेडिकल कलेजमा भर्ना, प्रेम र विवाहका कुरा। बुवाको संघर्षशील ‘जीवन एक सपना’ नै लाग्न थालेको थियो। आमा (सासू)सित बिताएका सुमधुर दाम्पत्य जीवनको उदाहरण दिइराख्ने बुवालाई म प्रश्न गर्थें, ‘हजुर बोल्ने, र आमा सुन्ने ! दाम्पत्य जीवन सुमधुर नै भन्नु पर्यो !’ बुवाको आत्मीयताले मेरा प्रश्न, असहमति र आपत्तिलाई स्वतन्त्र अभिव्यक्ति दिन हौस्याएको थियो।
उमेरको उकालो उक्लिँदै गएपछि बुवाको स्वभावमा केही परिवर्तन हुन थाले। हामी लामो यात्रामा गएको वा घर छाडेर हिँडेको कुरा बुवालाई पटक्कै मन नपर्ने। पिर थाल्नुभयो, ‘बाटो खराब छ। सधै्र दुर्घटनाको समाचार छापिन्छ। तिमी नगए हुन्न ? ’
बुवासित मेरो धेरै कुरा मिले पनि असहमतिका क्षण पनि हुन्थे। सम्झिन्छु, जनआन्दोलनले उग्र रूप लिएको समयमा मेरो झापाको बसाइ। अमेरिकाबाट दुई महिनाका लागि नेपाल फर्किंदा म आमाबुवासित समय बिताउन झापामा थिएँ। माओवादी चन्दा आतंक, जनकारबाही र प्रहरी कारबाहीबीच साधारण जनता पिसिएका थिए।
एक दिन एक हूल युवा माओवादी क्लिनिकमा पसेर बुवासित धम्कीपूर्ण आवाजमा ठूलो रकम माग गरेछन्। ‘म चन्दा दिन्नँ। तिमीहरू के गर्छौ गर।’ बुवाको ठाडो जवाफले क्लिनिकमा निकै चर्काचर्की बढ्यो र अप्रिय घटना हुन सक्ने सम्भावना पनि बढ्यो। स्थानीवासीबाट बुवाको आत्मसुरक्षाका लागि सतर्कता अपनाउनुपर्ने सुझाव आउन थाले।
घटनाको दुई दिनपछि मध्यराततिर हतियार बोकेका एक हूल युवाले ढोका ढकढक्याउँदा घरको माथिल्लो तलामा बसेकी म आफ्नी छोरीको सुरक्षाका लागि आतंकित भएकी थिएँ। घरमा बस्ने सहायकहरूको सल्लाहविपरीत बुवाले ढोका खोल्नुभयो। प्रहरी मुठभेडमा गोली लागेर घाइते भएका दुई लडाकू अचेत अवस्थामा रहेछन्। घाइतेको जीउबाट गोली निकाल्दा, मल्हमपट्टी गर्दासम्म मिर्मिर उज्यालो हुन थालेको थियो। निःशुल्क उपचारसेवापछि उनीहरूले घाइतेलाई काँधमा हाले र पर्खाल पर्खालको आडमा लुक्दै बाहिरिए।
दिनमा धम्क्याउने र रातमा उपचार खोज्ने हूल देखेर म आतंकित र अचम्भित दुवै थिएँ। ‘हजुरले हाम्रो सुरक्षाबारे सोच्न पर्दैन !’ त्यो रातको त्रासदीले मलाई काठमाडौं फर्किने निर्णयमा पुर्याएको थियो। तर बुवा कसैका कुरा सुन्न तयार हुनुहुन्थेन। उहाँको एउटै जवाफ थियो, ‘जे जस्तो घाइते होस्, उसले उपचार पाउनुपर्छ।’
‘झापा सुरक्षित छैन। काठमाडौं गएर बसौं।’
‘झापाका धेरैजसो माओवादी यही क्लिनिकमा, मेरै हातले जन्मेका हुन्। मलाई केही हुँदैन।’ बुवा हाँसेर कुरा उडाउन माहिर हुनुहुन्थ्यो।
ज्यानको धम्की भए पनि चन्दा नदिने। ज्यान असुरक्षाको स्थितिमा पनि उपचार सेवाको लागि तत्पर। शुल्क तिर्न सक्ने बिरामीसित दस पन्ध्र रुपैयाँ र नसक्नेको निःशुल्क उपचार गर्ने बुवाको ‘मेडिकल एथिक्स’ र सेवासंकल्प निर्विवाद थियो। बिरामीलाई गाली पनि गर्ने तर उपचारबाट वञ्चित नगर्ने। बुवाको स्वास्थ्य सेवाप्रतिको समर्पण, निम्नवर्गका बिरामीप्रतिको संवेदनशीलता, ‘गाउँमै उपचार गर्छु’ भन्ने संकल्प अटल थियो। काठमाडौंको अस्पतालमा तोडफोड हुने र डाक्टरलाई हातपात गरेका घटनाबारे पढ्दा बुवाले हराउँदै गएको ‘मेडिकल एथिक्स’बारे चिन्ता गर्न थाल्नुभएको थियो।
उमेरको उकालो उक्लिँदै गएपछि बुवाको स्वभावमा केही परिवर्तन हुन थाले। हामी लामो यात्रामा गएको वा घर छाडेर हिँडेको कुरा बुवालाई पटक्कै मन नपर्ने। पिर थाल्नुभयो, ‘बाटो खराब छ। सधै्र दुर्घटनाको समाचार छापिन्छ। तिमी नगए हुन्न ? ’
काँकरभिट्टा कला साहित्य उत्सव–२०७५ मा भाग लिएर फर्किंदा काठमाडौं विमानस्थलको आन्तरिक आगमन कक्षको ढोकैमा बुवालाई उभिएको देखेर म छक्क परेकी थिएँ। ‘घरमा कति कुर्नु ? म तिम्लाई लिन आएँ।’ हत्या, हिंसा र भ्रष्टाचारका घटना पढेर दिक्क मान्ने बुवालाई हवाईजहाज ढिलो आएकोमा मौसमसित पनि गुनासो हुन थालेको थियो।
सामाजिक सक्रियता कम भएकाले होला, बुवासित कुरा गर्ने विषयहरू साँघुरिँदै गएका छन्। बुवाको स्वास्थ्यमा सुधार हुँदै गए पनि, जिद्दीपना फर्किए पनि, बोली र स्मृति पूर्ण रूपले फर्किएको छैन। उहाँले कुराहरू दोहोर्याउन थाल्नुभएको छ। युवती र महिलासित परिचयको दौरान उहाँले सोध्ने प्रश्न ‘तपाईंका श्रीमान् के गर्नुहुन्छ ? ’सित मेरो असहमति हुँदाहुँदै पनि बुवाले प्रश्न सोध्नुहुन्थ्यो।
हिजोअस्ति मात्रै आफ्नो हेरचार गर्ने नर्ससित कुराकानी गर्दागर्दै अचानक सोध्नुभयो, ‘त..पा..ईंका सिरिमान...के.. ग..छन् ? ’
बुवाको प्रश्न सुन्नेबित्तिक्कै रेनु, कान्छी र म खित्का छाडेर हाँसेका थियौं। किनकि बुवाको त्यो प्रश्नमा स्वास्थ्य सुधार हुँदै गएको संकेत थियो। कान्छी छोरीका ‘चकचके बाबा’ आफ्नो पूर्ववत् स्वास्थ्यमा फर्किंदै गएको सुखद अनुभव थियो। पहिला त्यो प्रश्नमा मेरो आपत्ति रहे पनि, त्यस बेला बुवाको प्रश्नमा हामीबीच सुरु हुने संवादहरूको शुभारम्भ देखेँ।
बुवाले मलाई बोलाउने सम्बोधन ‘अर्चना’बाट हराएको ‘र’ कहिले फर्किन्छ थाहा छैन। तर अस्ति तीजको दिन ८६ वर्ष पुगेका शंकरप्रसाद उप्रेती उर्फ कान्छी नातिनीका प्रिय ‘चकचके बाबा’का ‘फेवरेट गर्ल्स’ कान्छी, रेनु र म हुँ भन्नेमा कुनै शंका छैन।
‘टेलिङ अ टेल’, ‘स्वअस्तित्वको खोज’ पुस्तककी सम्पादक @archana_thapaको पछिल्लो पुस्तक कठपुतला कथासंगंह हो।