बाँचिरहेको रेडियो रहर
निद्रा लाग्छ कि भन्दै चिया खाएर रेडियो कार्यक्रम सुन्ने त्यो समय साँच्चैको लोभलाग्दो थियो।
सल्यान खलंगाको चिसो डाँडोमा एकाएक तातो खबर फैलियो, ‘तुफानको नाम त रेडियोले बोल्यो।’ सुन्दा खासै उत्साहजनक समाचार थिएन तर मेरो लागि भने स्कुप मार्ने नै बन्यो यो समाचार। बाटोमा हिँड्दा ‘औला तेस्र्याउँदै रेडियोमा नाम आउने केटो यही हो’ भन्दा मनमा एकाएक खुसीको रङ चोरेर गुराँसका डाली लहराउँथे। त्यो त्यस्तै समय थियो। हुने खानेका घरमा पनि रेडियो। हुँदा खानेका घरमा पनि रेडियो। बजारभरि हटकेक बन्नका लागि रेडियोमा आउने एक नाम काफी थियो।
पहिलो पटक नाम गुञ्जनु मेरा लागि रेडियोको यात्रा कालोपत्रे हुनुजस्तै थियो। गायक, संगीतकार र रचनाकारको नाम थाहा पायो, गीतको बोल लेखेर विभिन्न साथीलाई सम्झना गर्दै अनुरोध संगीतमा पत्र पठायो नाम सुन्यो। अनि आफैं बार्दलीमा गएर उफ्रियो। अजिब समय थियो त्यो। त्यही समय हो। मेरो मनमा शिलालेखले जस्तै रेडियोको रहर लेखिदिने।
आज रेडियोमा बोल्न थालेको १७ वर्ष भएको छ। यो समयसम्म कहिल्यै पनि थकानको महसुस नगराउने त्यो रेडियोप्रेम साँच्चै मेरो लागि अविस्मरणीय छ। पचासको ढिकढाक एसएलसी दिएर सल्यानको खलंगाबाट काठमाडौं हिँड्दा आँखामा धरहरा, रानीपोखरी, पशुपतिभन्दा बढी सिंहदरबारको काखमा लुटपुटिएको रेडियो नेपाल चैतमा नाच्ने ‘फिरफिरे’जस्तै फनफनी नाचेको थियो। मरीचमानसिंह श्रेष्ठले बनाएको धुलाम्मे बाटोमा बसले उडाएको धुलोसँगै टाँसिएर सपनाहरू आकाश ताकेर अगाडि बढ्थे।
मनको बारीभरि खलंगापारि मार्केको डाँडोमा फुलेका सुन्तलाजस्तै लटरम्म रहरहरू फुलेका थिए, ‘रेडियोमा नदेखिने तर बोलिरहने मान्छेजस्तै बन्छु।” मेरा लागि यो सपना आठ हजार आठ सय ४८ मिटरको उचाइ चुमेभन्दा पनि अग्लो थियो। रहर न हो, मान्छेलाई रंगीविरंगी दुःखसँग बेलाबेलामा भेट गराइरहन्छ। यही सपनाको रङ बोकेर थानकोटको डाँडो काटेपछि मलाई काठमाडौंका हरेक घर सिँहदरबारजस्ता लागे अनि हरेक मान्छे रेडियोमा बोल्नेजस्ता। जीवनमा सपना एउटै बाटोबाट हिँड्थ्यो र एउटै ठाउँ पुग्थ्यो, रेडियो नेपाल।
रेडियो नेपालबाट हरेक शनिबार कार्यक्रम आउथ्यो, ‘सन्देश गाउँसम्म’। टेलिफोनको सुविधा नभएको समयमा घरगाउँसम्म सन्देश पठाउन यो कार्यक्रम निकै लोकप्रिय थियो। काठमाडौं आएर यो कार्यक्रमबाट घर सन्देश पठाउने मेरो रहर कतै कुनामा लुकिरहेको थियो। धेरै प्रयास गरेँ तर फोन लागे पो। साँच्चै कति कठिन थियो त्यो समयमा रेडियोमा फोन लगाउन। अनि फोन लागे ठूलै युद्ध जितेजस्तो महसुस हुने। मानौं, रेडियोमा फोन लाग्नु नेपोलियनले युद्ध जितेजस्तै थियो।
काठमाडौंमा रेडियो नेपालले दैनिक दुईघण्टे एफएम प्रसारण सुरु गरेको थियो। माओवादी युद्ध आरम्भकै साल खुलेको एफएममा दिनेश डीसी, मीरा आचार्य, डियर कल्याण, प्रभात रिमाललगायतका हस्तीहरू मनको तार हल्लाउने गरी गुञ्जने गर्थे। बरु कहिलेकाहीँ कलेज जाने बस छुट्यो तर यी प्रिय मान्छेका कार्यक्रम कहिल्यै छुटेनन्। २०५४ सालमा रेडियो सगरमाथा नेपालकै पहिलो एफएमका रूपमा प्रसारणमा आएपछि काठमाडौंमा उद्घोषण सिकाउने संस्थाहरू धमाधम खुल्न थाले। बीबीसीका लोकप्रिय पत्रकार सुमन खरेलले केही नयाँ कुरा सिकाउने मात्रै गरेनन्, रेडियो क्षेत्रमा केही गर्न सकिन्छ भन्ने प्रेरणासमेत थपिदिए। रेडियोमा बोल्ने धुनमा कालो कोटको सपनालाई ब्रेक लगाएर म तुलसीपुर आएँ, जहाँ रेडियो तुलसीपुर सञ्चालन हुन थालेको थियो। २०६० सालतिरको समय थियो यो।
तुलसीपुर एफएममा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएपछि फेरि एकाएक चर्चाले गाउँसहर छपक्कै ढाक्यो। मान्छेहरू तरकारी, मह लिएर भेट्न आउँथे। त्यो समयको मूल्यांकन गर्दा आजको दिनमा निकै चल्तीको गायकले पाउने खाले सेलिब्रेसन पाइन्थ्यो। रेडियोमा नाम पढिदिएकै भरमा रातारात फ्यानहरू बढेको बढ्यै। भर्खरै एफएमले बामे सर्दै गरेकोे त्यो समय साँच्चै निकै लोभलाग्दो थियो। मान्छेका घरमा राम्रोसँग टेलिभिजन पुग्न सकेको थिएन। कतिपयको घरमा पुगेको भए पनि नेपाली टेलिभिजनको राम्रोसँग विकास भएको थिएन। इन्टरनेट हुने कुरा नै भएन। बस् त्यो बेलामा एउटै कुरा मात्रै थियो मनोरञ्जनका लागि, सूचनाका लागि र शिक्षाका लागि— रेडियो।
चिल्लो कारमा मात्रै होइन हलोको अनौमा अड्याएरसमेत मानिसहरूले रेडियो सुन्ने गर्थे। हुने र हुँदा खाने सबै खालको वर्गका लागि सुहाउने थियो रेडियो। गाउँ या सहरमा सधैं रेडियोकै चर्चा हटकेकको विषय हुन्थ्यो। रेडियोमा बोल्नेहरू साँच्चै आकाशको ताराजस्तो हुन्थे। निद्रा लाग्छ कि भन्दै चिया खाएर रेडियो कार्यक्रम सुन्ने त्यो समय साँच्चैको लोभलाग्दो थियो।
त्यो रेडियो, यो रेडियो
त्यति बेला रेडियोमा बोल्नका लागि लोक सेवा पास गरेभन्दा पनि जटिल खालको परीक्षा हुन्थ्यो। रेडियोमा एक या दुई जना मान्छे चाहिँदा पाँच सयसम्मले आवेदन दिने गर्थे। हरेक मान्छेको सपनाको पूर्णविराम रेडियोमा बोल्नेमै गएर लाग्थ्यो। रेडियो कार्यक्रम बनाउन साताभरिको समय लाग्थ्यो। सानो सानो गल्ती हुँदा पनि धेरैले सच्याउँथे। रहरका भरमा भन्दा पनि समाजको आवश्यकतालाई बोध गरेर रेडियो कार्यक्रम सञ्चालन हुनुपर्ने हो।
रेडियो स्थापना हुँदाको याममा जुन रूपमा सञ्चालन भएको थियो, अहिले पनि रेडियोको आकारप्रकार उस्तै छ। समयको मागले सबै सञ्चारमाध्यमलाई परिवर्तन गर्दै लग्यो। तर रेडियो जहाँका तहीँ छ। इन्टरनेटको विस्तारले सबै कुरा दृश्यात्मक बन्दै गएको छ। सुन्नका लागि बन्ने गीतहरू हेर्नका लागि बन्न थालेका छन्। आजका गीतहरूको मूल्यांकन स्वर, शब्द र संगीतमा कम दृश्यमा ज्यादा गरिन थालेको छ। ‘कस्तो राम्रो भिजुअल रहेछ’, आजका गीत हेर्ने मान्छेले दृश्यलाई नै प्राथमिकता दिएका छन्।
अवश्य पनि रेडियो चुनौतीका बीचमा रहेको छ। रेडियो कार्यक्रम कसैले पनि सुन्दैनन् भन्ने अफवाह सबैतिर फैलिएको छ। यो बीचमा मेरा कैयौं सहपाठी मात्रै होइन, चेलाहरू पनि रेडियोमा आए अनि गए। तर मैले भने रेडियो रहर मार्न सकेको छैन। हो, हिजोजस्तो मेरो नाम मन र मुखमा टाँसेर भेट्न आउने छैनन्, प्रत्येक कार्यक्रममा मैले बोलेको शब्द दोहोर्याउने मान्छे छैनन्। तर पनि मलाई लाग्छ, रेडियो सुन्ने मान्छे अवश्य छन्। एउटा बटुवालाई कसैले केही नभने पनि आफ्नो यात्रामा ऊ हिँडिरहेको हुन्छ। म त्यस्तै हिँडिरहेको बटुवा हुँ।
रेडियो कार्यक्रममा पनि ब्रान्डिङ गर्न सकियो भने त्यसले पक्कै पनि बजार नतताउने होइन। हामी प्रस्तोताले पनि आपूmलाई समयानुकूल चलाउन नसक्ने अनि रेडियो कसैले सुन्दैनन् भनेर टाढिने गरिरहेका छौं। कार्यक्रमको ब्रान्डिङ गरेर इन्टरनेटमार्पmत आम श्रोताले सुन्न मिल्ने गरी राखियो भने अवश्य पनि त्यसले केही न केही रेडियो सुन्ने बानीमा अभ्यस्त बनाउँदै लैजान्छ।
जसरी दृश्यलाई युट्युबमा हेर्न सकिन्छ भने त्यस्तै अडियो सुन्नका लागि मात्रै बनेको पोडकास्ट खासै प्रचलनमा आएन। प्रविधिगत हिसाबले त्यसलाई सरलीकरण गर्न सकिएन। एकै नेटको कनेक्सनबाट दृश्य हेर्न सकिन्छ भने किन अडियो सुन्ने भन्ने पनि हुन सक्छ ? इन्टरनेट प्रदायक कम्पनीहरूले पनि सस्तो दरमा पोडकास्ट प्याकेजहरू उपलब्ध गराउन सके भने यसले केही न केही नयाँ आयाम ल्याउने निश्चित छ।
रेडियोहरूले कुनै विषयगत विधालाई लिएर अलग पहिचानका साथमा सञ्चालन हुने प्रयास गरे भने पक्कै पनि यसले समाजका लागि योगदान दिन सक्छ। रेडियोले सामाजिक उत्तरदायित्वलाई बलियो ढंगले उठाउनुपर्छ। रेडियोमा रहर पोख्ने जमात मात्रै बढेको देख्दा दुःख लाग्छ। दुईचारवटा अंग्रेजीका वाक्य जान्दैमा राम्रो सञ्चालक बन्न सकिन्छ भन्ने भ्रम अहिलेको युवापुस्तामा छ।
रेडियोको युग सकियो भन्ने बेलामा पनि मैले अनवरत रूपमा पछिल्लो पटक सञ्चालन सुरुआत गरेको कार्यक्रम ‘शान्त तलाउ’ले गत शनिबार दुई सय अंक पार गरेको छ। यो कार्यक्रमका सबै रेडियोमा सञ्चालनको अंक जोड्ने हो भने सात सयभन्दा बढी हुन्छ। श्रोताको प्रतिक्रिया आउनु नआउनुभन्दा पनि मैले मेरो कर्म गरिरहेको छु। गीताले भनेकै छ, ‘कर्म गर फलको आशा नगर।’
श्रेष्ठ १७ वर्षदेखि दाङमा रहेर रेडियो कार्यक्रम निर्माण गरिरहेका छन्।