रेडियो पुगेर पनि नपुगेको ठाउँ
रेडियोले खानीमा उभिएर पनि हीरा हातमा उठाउन सकिरहेको छैन।
‘गरिब र दुर्गम क्षेत्र पत्रकारिताका लागि स्वर्ग हो।’
यी शब्दहरू पी. सैनाथको पुस्तक ‘एभ्रिबडी लभ्स गुड ड्रौउट’मा लेखिएका छन्। सैनाथ जसले भारतको विपन्न र दुर्गम बस्तीमा घुमेर पुस्तक तयार गरेका हुन्। पुस्तकमा गरिबी र त्यससँग जोडिएका विविध विषय र घटनाहरू समेटिएको छ। ती विषयलाई देख्ने र लेख्ने क्रममा उनले सँगालेको अनुभव हो कि दुर्गम र विपन्न क्षेत्रबाट पत्रकारिताले धेरै विषयको उठान गर्न सक्छ।
पत्रकारिताको विभिन्न माध्यम छन्। प्रविधिको विकाससँगै माध्यमको मात्रा पनि बढ्दो छ। सैनाथले भनेजस्तो नेपालको उपयुक्त माध्यम भने रेडियो हुन सक्थ्यो। अफशोच, संख्याको हिसाबले नेपालमा रेडियो धेरै नै खुल्यो तर ती रेडियोमा स्थानीयस्तरमा गरिबी र दुर्गमतासँग जोडिएका समस्या विरलै उठे।
नेपालमा रेडियोको इतिहास लोकतन्त्र र क्रान्तिसँग जोडिएको छ। साथै हरेक क्रान्ति र आन्दोलन सफल भएपछि रेडियोमा उपथिस्ति र वर्चश्व भएको छ। तर खोलिएपछि क्रान्तिको मूल मर्मसँग रेडियो भूमिका प्रभावकारी हुन सकेको छैन। क्रान्ति तथा कुनै पनि आन्दोलनको मर्म भनेको भोका, निमुखा, कमजोर र पिछडिएको क्षेत्रको आवाज मुखरित गर्नु हो।
नेपालको परिवेशमा रेडियो उपयुक्त माध्यम हो। तर उपयुक्त माध्यम हो भनेर सावित गर्न सकेन। सात सालको क्रान्तिसँगै रेडियोको सुरुआत भएको पाइन्छ। एमाले नेता भरतमोहन अधिकारीले आत्मवृत्तान्तमा लेखेअनुसार विराटनगरमा आन्दोलन चलिरहेको थियो। तिनताक आन्दोलनकारीको आ श्रयस्थल थियो, रघुपति जुट मिल। लामो र धेरै कोठाहरू भएको यो जुट मिल कारखानाको भवनमा नेपाली कांग्रेसका नेताहरू बस्थे। त्यहीँबाट कांग्रेसका नेता तारणीप्रसाद कोइरालाले रेडियोको प्रसारण सुरु गरेका थिए— यो प्रजातन्त्र नेपाल रेडियो भन्दै। क्रान्ति सफल भयो र नेपाली कांग्रेस सरकारमा गयो। साथै यही रेडियो, रेडियो नेपालमा परिणत भयो।
रघुपटि जुट मिलबाट प्रसारित रेडियो पक्कै पनि जनताका लागि थियो जो सय वर्षभन्दा बढी समयदेखि निरंकुश शासनमा दबिएका थिए। पछि यो सरकारको रेखदेखमा पुग्यो। त्यसपछि प्राविधिक रूपले रेडियो नेपाल सशक्त हँुदै गयो नै। तर यसले त्यसपछिको शासनव्यवस्थामा कति जनताको कुरा उठाए वा कति निष्पक्ष भएर सूचना सम्प्रेषण गर्यो भनेर अनुमान नै काफी छ। तर पहिलो जनआन्दोलनपछि फेरि लोकतान्त्रिक शासन व्यवस्थाको सुरुआत भयो। भलै यो समयमा पनि सरकार तथा नेता लोकतन्त्रप्रति निष्ठावान् भएर अगाडि बढ्न सकेनन्। तर सञ्चार क्षेत्र भने खुला हँुदै गयो। रेडियो माध्यममा रेडियो नेपालका विकल्पहरू जन्मिँदै गए, एफएम रेडियोको प्रसारणसँगै। भलै सुरुमा एफएमको फ्रिक्वेन्सी पनि रेडियो नेपालबाटै सुरु गरिएको थियो।
रेडियो सगरमाथासँगै सुरु भएको एफएम स्टेसनको स्थापनाको लहर माओवादी युद्धकालमा पनि चलिरह्यो। भलै माओवादी स्वयंले पनि युद्धकालमा सूचना प्रवाह गर्न यो प्रविधिको प्रयोग। तर दोस्रो जनआन्दोलन सुरु हुनु अघिसम्म एफएम स्टेसनहरू बढी काठमाडौंमा केन्द्रित थिए। आर्थिक रूपले चलायमान काठमाडौंबाहिरका ठाउँहरूमा पनि एफएम रेडियो खुलेका थिए। तर दोस्रो जनआन्दोलनपछि एमएम स्टेसन स्थापनाले नयाँ गति लियो। त्यसपछि यति मात्रामा एफएम रेडियो खुले कि रेडियो नभएको जिल्ला कुनै छैन। सदरमुकाममा मात्र केन्द्रित छैनन् यसरी खुलेका रेडियो स्टेसनहरू।
पहिले मान्छेहरू रेडियोमा बोल्नेहरू कस्ता होलान् भनेर खुल्दुली पाल्थे। प्रचुर मात्रामा खोलिएका रेडियो स्टेसनहरूले मानिसहरूको यो खुल्दुली मात्र मेटाइदिए। रेडियोमा बोल्ने रहर पनि सजिलै पूरा गरिदियो। कोही रेडियोको कर्मचारी भएर बोले, कोही रेडियोको अतिथि वा रेडियोको सामग्रीमा योगदान दिन हिसाबले बोले। तर यत्तिका धेरै खोलिएका एफएम स्टेसनहरूको उद्देश्य जे हुनुपथ्र्याे र त्योचाहिँ विरलै भयो।
यसरी खोलिएका रेडियो स्टेसनहरू सामुदायिक र व्यापारिक भनेर दुई वर्गमा छन्। यी दुईको भिन्नता भने सिद्धान्तमा मात्र सीमित छ। व्यवहारमा दुवै रेडियोका गतिविधि उस्तै छन्। यतिका धेरै रेडियो स्टेसन खोलिनुमा निश्चय नै लोकतन्त्रको उदार नीतिले काम गरेको छ। तर योभन्दा धेरै काम राजनीतिक दल वा सामाजिक संस्थाको स्वार्थले गरेको छ। खोलिएका अधिकांश रेडियो स्टेसनमा कुनै न कुनै राजनीतिक दल जोडिन पुगेका छन्। राजनीतिक दलको आबद्धता भएपछि, राजनीतिक दलको स्वार्थ र उद्देश्य रेडियो स्टेसनमा प्रतिविम्बित हुन्छ नै। साथै रेडियोको खास उद्देश्यलाई ओझेल पनि पार्छ। सबै सञ्चारगृहको उद्देश्य सूचना प्रवाह गर्नु र समाजलाई समुन्नत बनाउन भूमिका खेल्नु हो। यो उद्देश्यका लागि आफूवरिपरिका सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थालाई उठाउनुपर्छ। मानिसका दुःख, पीडा र समस्यालाई धेरैभन्दा धेरै समेट्नुपर्छ। तर यी समस्याहरूको उठान कुनै पनि राजनीतिक दलको आबद्धता भएको रेडियो स्टेसनको प्राथमिकतामा पर्ने कुरै भएन। भन्नलाई पत्रकारिताको दर्शन र सिद्धान्तमा कटिबद्ध छौं भनियो। तर लुकेको स्वार्थ परेको बेला रेडियोलाई अस्त्रका रूपमा प्रयोग गर्नु थियो। यसरी अस्त्रका रूपमा प्रयोग गर्ने माध्यम रेडियो मात्र भन्नेचाहिँ हैन। तर यो बढी प्रयोग भएको भने साँचो हो।
भलै राजनीतिक दलले छताछुल्ल भएर आफ्नो हितमा रेडियो स्टेसनको प्रयोग गर्न सकेनन्। किनकि यसमा सामान्य सिद्धान्तले यसो हुन दिएन। तर केही हदसम्म यी स्टेसनहरू प्रयोग भएकै हुन्। प्रयोग हुने क्रममा वास्तविक उद्देश्यबाट चुके। आफ्नो उद्देश्यमा कटिबद्ध भएर काम गरेको भए यी रेडियो स्वर्गमा उभिएका जस्ता हुन्थे। तर अहिलेका अधिकांश रेडियोको अवस्था हेर्दा अभावमा उभिएजस्ता लाग्छन्। अधिकांश रेडियोले राम्रो कार्यक्रम उत्पादन गर्न सकेका छैनन्। कार्यक्रम उत्पादनका लागि बग्रेल्ती विषयवस्तु गाउँघरमै छन्। तर गाउँघरमै खोलिएको रेडियोले काठमाडौंबाट प्रसारित कार्यक्रमहरू प्रसारण गरिरहेका छन्। प्रायः अधिकांश रेडियो १८ घण्टा वा सोभन्दा बढी प्रसारण हुन्छ। तर त्यति लामो समय गतिलो खुराक प्रसारण हुन्न। अधिकांश समय रोयल्टी दाबी नगर्ने गायक–गायिकाको गीतले भरिएको हुन्छ। त्यसपछि फोन–इन कार्यक्रम जस्ता चल्छन्, जहाँ श्रोतासँग खासै गम्भीर विषयमा कुराकानी हुँदैन। यो अर्थमा एउटा महान् अवसरबाट चुकिरहेका छन् मोफसलमा खोलिएका रेडियोहरू।
‘गरिब र दुर्गम क्षेत्र पत्रकारिताका लागि स्वर्ग हो।’ पी सैनाथको यो भनाइ अवसरसँग मात्र जोडिएको छैन, जिम्मेवारीसँग पनि जोडिएको छ। तेस्रो विश्वको राष्ट्र भएकाले हाम्रो भूगोलमा गरिबी र दुर्गम भेगसँग जोडिएका अनगिन्ती समस्या छन्। यी समस्या उठाउने जिम्मेवारी स्थानीय मिडियाको हो। जुन मिडिया नजिक छ, उसको बढी जिम्मेवारी हुन्छ। किनकि नजिकमा भएकाले समस्यालाई गहिरिएर विभिन्न पाटोबाट नियाल्न सक्छ। तर देशका विभिन्न ठाउँमा खोलिएका एफएम रेडियो स्टेसनहरूले यो भूमिका निर्वाह गर्न सकेका छैनन्। बिहानदेखि रातिसम्म प्रसारण हुने स्थानीय रेडियोमा स्थानीयवासीको वास्तविक समस्या विरलै समेटिन्छ। अभावसँग जुध्दै खोलिएका र चलिरहेका रेडियोले आफ्ना श्रोताका अभाव र दुःखका कथाहरू विरलै समेटेका छन्।
विभिन्न ठाउँमा खोलिएका रेडियो स्टेसनबाट आशा गरेजति काम भएका छैनन्। तथापि गाउँगाउँमा सञ्चारकर्मी उत्पादन गर्ने र रेडियोमा ग्रामीण भेगका मानिसलाई समेट्ने काम भने गरेका छन्। तर उनीहरूको समस्या जसरी र जति मात्रामा समेट्नुपर्ने हो, त्यो भएन। त्यसकारण रेडियोले खानीमा उभिएर पनि हीरा हातमा उठाउन सकिरहेको छैन।