सबै महिला पीडित, सबै पुरुष हिंस्रक ?
किन सफलताको कथा कुनै साहित्य वा रचनामा देखिँदैन ? किन जहिले पनि मधेसको अँध्यारो पक्ष मात्रै उजागर गर्ने प्रयास हुन्छ ?
भदौ ७ को अन्नपूर्ण पोस्ट् (फुर्सद)को पहिलो पृष्ठमा आन्विका गिरीद्वारा लिखित ‘जी उपाध्यक्षजी’ शीर्षकको कथा प्रकाशन भएको थियो। कथा रोचक शैलीमा लेखिएकाले धेरै पाठकले वाहवाही गरेको देखियो। मधेसबारे लेखिएको यस्तो रचनालाई मूलधारको मिडियाले बढी नै प्राथमिकता दिने गरेको कुनै नौलो कुरो होइन।
कथाको मुख्य पात्र रमैयादेवीलाई लाचार, कमजोर, पीडित, अपहेलित महिलाका रूपमा चित्रण गरिएको छ भने उनका पति रामचन्दरलाई हिंस्रक, घुसखोर, भ्रष्ट, राजनीतिमा जे पनि गर्न सक्ने खलपात्रका रूपमा उभ्याइएको छ।
रामचन्दर पात्रले मधेसमा हुने सबैखाले कुरीति र महिलामाथि गरिने सबैखाले हिंसा गरेको देखाइएको छ। एउटै व्यक्तिले यति धेरै हिंसा गर्न पनि सक्दा रहेछन् भने कथा पढेपछि पहिलोपटक भान भयो। एउटी महिलामाथि त्यति धेरै हिंसा हुँदा समाजमा कसैले चुइँक्क पनि नबोल्नु कथामा अर्को आश्चर्य थपिएको छ। र, कथाको अन्त्यमा रमैयादेवी एकाएक शक्तिशाली बनेर निस्कन्छिन्। कहिल्यै पनि आफ्ना पतिका अगाडि बोल्न नसक्ने महिलाले एकाएक प्रहरी बोलाएर आफ्ना पतिलाई थुन्न लगाउनु आश्चर्यलाग्दो छ। यो कथा पढ्दा कुनै हिन्दी फिल्मभन्दा कम रोमाञ्चक लाग्दैन। हिन्दी फिल्मको पटकथा पढेजस्तो लाग्छ।
कथा पढेपछि मलाई सोचमग्न बनायो। के मधेसी समाज, त्यस समाजकी महिला र पुरुषको सही चित्रण यही नै हो ? मधेसी समाजका महिला यति धेरै पीडित र लाचार हुन्छन् कि आफूमाथि हिंसा हुँदा बोल्नै सक्दैनन् ? मधेसी पुरुषहरू यति धेरै हिंसाको पराकाष्ठा नाघ्ने गर्छन् ? उनीहरू राजनीतिक अभीष्ट पूरा गर्न आफ्नी पत्नीको सहारा लिने गर्छन् ? मधेसी महिला राजनीतिक रूपमा सक्षम नै छैनन् ?
यसबारे प्रतिक्रिया बुझ्न मैले फेसबुकमा एउटा स्टेटस लेखेँ। त्यो पढेर एकजना पत्रकार बहिनीले पूरै कथा नपढेर सतही कमेन्ट गरेको, फेरि पढ्न भन्दै मेरो बुझाइको क्षमतामाथि नै प्रश्न उठाइन्। अर्का एकजना वीरगन्जकी पत्रकार बहिनीले कथालाई सही ठहर्याउँदै यस्तो लेखिन्, ‘आन्विका म्यामले कथामार्फत जे लेख्नुभएछ, हरेक शब्द सही छ। यदि कोही मधेसीलाई गलत लाग्छ भने आफूलाई सुधारोस्।’ एकजनाले साहित्यमा पनि राजनीति गर्ने भन्दै कमेन्ट लेख्यो। एकजना चर्चित लेखकले समाजको राम्रो चित्रण नै साहित्य हो। ख्याल गरेर लेख्नुपर्छ भन्ने कमेन्ट गरिन्। केही साथीले यसलाई कथाकै रूपमा बुझेको भन्दै प्रतिक्रिया दिए। केहीले मधेसी समाजको हुबहु चित्रण भन्दै सहमति जनाए। विभिन्न खाले कमेन्ट स्वाभाविक थियो। सामाजिक सञ्जालमा पक्ष–विपक्षमा कमेन्ट गर्नु र विचार नमिल्नेहरूले तल्लोस्तरको कमेन्ट गर्नु मेरा लागि कुनै नौलो थिएन।
वास्तवमा सामाजिक सञ्जालमा कमेन्ट गरेको जस्तो सतही बहसको विषय होइन यो। कुनै पनि समाजको चित्रण गर्न कथा, लेख, साहित्य र पुस्तकको ठूलो भूमिका हुन्छ। यसले आम रूपमा समाजमा विचार निर्माण गर्छन्। साहित्यमा कथा र पात्रले समाजको चित्रण गर्छन्। त्यसको असर दीर्घकालीन हुने गर्छ। तर नेपालका मूलधारका लेखक र साहित्यकारले मूलतः मधेसी समाजको यस्तै चित्रण गरेकाले होला, देशको उच्च तहमा रहेका व्यक्तित्वहरूले पनि सार्वजनिक ठाउँमा पनि मधेसीप्रति यस्तै दृष्टिकोण राख्ने गर्छन्। उदाहरणका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिन सकिन्छ। २०७४ साल मंसिर महिनामा सप्तरीको राजविराजमा उनले यस्तो अभिव्यक्ति दिएकी थिइन्, ‘बुहारीलाई घुम्टोभित्र राख्ने अनि समानुपातिक समावेशीको माग गर्ने ? ’
मधेसी समाज र मधेसी महिला वा पुरुषबारे गरिने यस्ता टिप्पणी, चित्रण पहिलो पटक होइन। यसअघि पनि हुँदै आएको हो। यस्ता टिप्पणीहरू सुनेर मन खिन्न पार्ने तर प्रतिक्रिया दिन जोकोही अग्रसर नहुने मधेसीहरूको आमप्रवृत्ति नै भइसकेको छ।
म आफैंसँगको एक प्रसंग सम्झिन्छु। २०५४ सालमा म नर्सिङको एक तालिम लिन इटहरी पुगेकी थिएँ। सँगै तालिम लिने एकजना सापकोटा थरको साथीले जहिले मसँग कुरा गर्दा ए धनियाँ के छ रे तिम्रो खबरखाबर ? भातसात खायो कि खाएन रे भन्दै कुरा गर्थे। सुरुसुरुमा त मलाई लाग्यो, साथीसाथीमा रमाइलो गरेको होला। पछि बुझ्दै जाँदा उनले रेडियो नेपालको चर्चित कार्यक्रम धनियाँ र रामविलासको नक्कल पो गरेका रहेछन्।
त्यस बेलासम्म सप्तरीको हाम्रो घरपरिवारमा रेडियो नेपाल सुन्ने भनेको समाचार मात्रका लागि हुन्थ्यो। हाम्रो घरपरिवारमा नेपाली भाषाका अन्य हास्यव्यंग्य वा सांगीतिक कार्यक्रम सुन्ने खासै चलन थिएन। त्यसैले रामविलास र धनियाँ पात्रबारे थाहा थिएन। बरु सिलौन सर्भिसबाट सिबाका गीतमाला, विविध भारतीबाट आउने हिन्दी गीतहरूको कार्यक्रम बढी सुन्ने गरिन्थ्यो। मैथिली कार्यक्रमका लागि पटना, दरभंगाको रेडियो स्टेसन सुनिन्थ्यो। यी सब कारणले मलाई नेपाली कार्यक्रमबारे त्यति जानकारी थिएन्। तर इटहरीतिर रेडियो नेपालबाट प्रसारित हुने रामविलास र धनियाँको बोली निकै चर्चामा थियो। यसको प्रभाव अहिले पनि कायम छ। धनियाँ र रामविलास पात्रले मैथिली भाषालाई तोडमरोड गरी बोल्ने गर्थे जुन संवाद नेपालीभाषीका लागि रमाइलो हुन्थ्यो भने मधेसीका लागि असहज। धनियाँ र रामविलासले बोल्ने भाषा मधेसमा कतै पनि बोलिँदैन।
त्यस्तै एउटा अर्को घटना सम्झन्छु। २०७४ को चुनावका बेला निर्वाचन आयोगले प्रकाशित गरेको मैथिली भाषाको जानकारी पुस्तिकामा महिलालाई होच्याउने ‘जनानी’ शब्द प्रयोग गरिएको थियो। त्यति बेलै निर्वाचनसम्बन्धी जनचेतनामूलक अर्को भिडियो पनि बनाइएको थियो। मैथिली भाषामा बनाइएको एक कार्यक्रममा धुर्मुस–सुन्तलीले मधेसी पात्रको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा मधेसीको भूमिका निर्वाह गरेको धुर्मुस–सुन्तलीको मुखमा कालो रङ पोतिएको थियो भने मैथिली भाषालाई तोडमरोड गरी बोलिएको थियो।
भिडियो सार्वजनिक भएपछि मधेसीहरूले सामाजिक सञ्जालमार्फत त्यसको व्यापक विरोध गरेका थिए। त्यसपछि निर्वाचन आयोगले भूलसुधार गर्ने भन्यो र पछि त्यो भिडियो सार्वजनिक नै गरेन। त्यो भिडियोले दुईवटा सन्देश दिएको थियो। पहिलो, सबै मधेसी काला हुन्छन्। दोस्रो, मधेसीहरूले नेपाली बोल्न जान्दैनन् र सबै मधेसीले जहिले पनि धोती र गम्छा नै लगाउँछन्। यस्तै दृश्य हेर्नेहरूले मधेसी अनुहार हेरेपछि काले, मस्र्या र धोती भन्ने गर्छन्। जो मधेसको बारेमा जानकार छैन, जो मधेस गएका हुँदैनन्, उनीहरूले यस्तै टेलिसिरियल, कथा कविता, पत्रपत्रिकामा छापिएका सन्देश वा सूचनाका आधारमा आफ्नो धारणा बनाउने गर्छन्।
जसरी मधेसी समाजबारे काठमाडौंको मिडिया र साहित्यमा चित्रण हुने गर्छ, त्यस्तै प्रकारको चित्रण नेपालीका बारेमा भारतमा पनि हुने गरेको पाइन्छ।
केहीअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक प्रसंगमा आफू देशको चौकीदार बन्न चाहेको अभिव्यक्ति दिएका थिए। त्यसको प्रतिउत्तरमा कुनै व्यक्तिले ट्विटमा भनेका थिए, ‘चौकीदार त हामी नेपालबाट पनि ल्याउन सक्छौं, हामीलाई प्रधानमन्त्री नै चाहिएको छ।’ ट्विट हिन्दी भाषामा थियो। उक्त ट्विटलाई लिएर नेपालमा व्यापक विरोध भयो। केही नेपालीले भारतमा मजदुरी गर्ने क्रममा चौकीदारको काम गर्दैमा सबै नेपालीलाई यसरी कटाक्ष गर्न मिल्दैन— विरोध गर्नेहरूको तर्क थियो। त्यसको विरोध हुनुपर्छ भन्ने पक्षमा म पनि थिएँ र छु। पछि ट्विट गर्नेले सार्वजनिक रूपमै माफी पनि मागेको सुनियो।
आफ्नो देशको बारे सार्वजनिक रूपमा नकारात्मक वा कटाक्षपूर्ण टीकाटिप्पणी हुँदा सचेत हुनुपर्छ, यसमा दुईमत छैन। तर देशभित्रै कुनै समुदायमाथि वर्षौंदेखि कहिले साहित्य, कहिले सिनेमा त कहिले सञ्चारमाध्यमबाट होच्याउने प्रकारको टीकाटिप्पणी हुँदा हामी कति आलोचना वा विरोध गर्छौं ? वर्षौंदेखि रामविलास र धनियाँ पात्रले मधेसीहरूको बोल्ने शैलीलाई उपहासको विषय बनाइरहँदा हामीले कति असहज मान्यौं ? घुम्टो लगाउने सामाजिक परम्पराकै कारण मधेसी महिला पछाडि परेको सार्वजनिक अभिव्यक्ति आउँदा हामी को को र कतिले आलोचनात्मक चेत देखायौं ? यसबारे बहस र छलफल हुने कि नहुने ?
कथामा देखाएजस्तै रमैयादेवी मधेसी समाजमा नहोलान् भन्ने मेरो दाबी होइन तर के यस्ता पात्रले मात्रै मधेसी समाज भरिएको छ ? के पहाडको समाजमा यस्ता पात्र छँदै छैनन् ? पहाडमा पनि छन् भने त्यस्ता केही पात्र समेटिएको भए कथामा समग्र नेपाली समाज र राजनीतिको कुरूप पक्षको चित्रण हुने थियो।
कथालाई मधेसी समाजमा मात्र केन्द्रित गर्नुको ध्येय थियो भने जो मधेसी महिलाहरू संघर्ष गरेर राजनीतिमा स्थापित भएका छन्, त्यस्ता पात्रहरूको पनि चित्रण हुनुपथ्र्यो। अनि बल्ल नराम्रा र राम्रा पात्रहरूको एकसाथ चित्रण हुने थियो। समाजको समग्र चित्रण कथामा झल्किने थियो, जुन हुँदै भएन।
कथा गैरसरकारी संस्थाहरूको प्रतिवेदनहरूमा राखिने ‘केस स्टडी’ शैलीको झल्को दिन्छ। कुनै एक पात्र वा घटना अपवाद पनि हुनसक्छ। त्यस्ता अपवादलाई लिएर पूरै समाजको चित्रण गर्नु एकांकी, सतही र मनोगत विश्लेषण हो।
मधेसी महिलाहरू राजनीतिक रूपले धेरै अघि बढिसकेका छन्। मधेस आन्दोलनमा आफ्नो ज्यानको बाजी थापेर साहसिक काम गरेका महिलाको कथा मूलधारको साहित्य लेखनमा किन अटाउँदैनन् ?
२०४६ सालको आन्दोलनमा धनुषाको यदुकहामा तीन मधेसी महिलाले एकसाथ शहादत दिएका थिए। कुन मिडियामा कतिपटक चर्चा गरिएको छ यसको ? मधेस आन्दोलनमा नेतृत्वदायी भूमिकामा रही राजनीतिमा स्थापित भएकी करिमा बेगम, कलावती पासवान, रमणी राम, चमेलीदेवी दासजस्ता मधेसी महिला त्यही समाजमा छन्, जसका बारेमा कुनै कथा लेखिँदैन।
अहिलेकै स्थानीय तहहरूमा उपाध्यक्ष वा उपमेयरको कुरा गर्ने हो भने पर्सा पोखरियाकी सलमा खातुन, गौरकी किरण ठाकुर, जनकपुरकी रीता झा, हंशपुरकी रेणु झा, सिरहाकी डा. नमिता यादव, राजविराजकी साधना झाजस्ता उपाध्यक्ष÷उपमेयरजीहरू पनि छन् जो कुनै पुरुषको कृपाले होइन बरु आफ्नै क्षमता र संघर्षले त्यस स्थानमा पुगेका छन्। यस्ता सफलताको कथा किन कुनै साहित्य वा रचनामा देखिँदैन ? किन जहिले पनि मधेसको अँध्यारो पक्षमात्रै उजागर गर्ने प्रयास हुन्छ ?
साहित्यलाई समाजको ऐना मानिन्छ। यसले तत्कालीन समाजको झल्को पनि दिने मानिन्छ। यसरी नै मधेसी समाजको कमजोर पक्षलाई मात्र साहित्य वा सञ्चारमाध्यममा चित्रण गर्ने हो भने त्यस समाजको सही तस्बिर देखिँदैन। यसबारे नेपालका सञ्चारमाध्यम, पत्रकार, साहित्यकार कहिले सचेत हुने ?