सिनासको पुरानो

सिनासको पुरानो

तीस वर्षअघि त्रिभुवन विश्वविद्यालयको अध्ययन केन्द्र सिनासबाट यो स्तरको पुस्तक प्रकाशन हुनुले आजको सिनासको दुरवस्थालाई निकै कठोर व्यंग्य गरिरहेको छ।


सन् १९८९ (विसं २०४५) साल अर्थात् तीन दशकअघि त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसिया अध्ययन केन्द्र (सिनास)ले छिमेकी देश चीनको विदेशनीति चिनियाँ नेता माओ त्से तुङको वैचारिकीको सापेक्षमा अध्ययन गरिएको पुस्तक ‘माओ एन्ड चाइनाज फोरेन पोलिसी प्रस्पेक्टिभ’ (माओ र चीनको विदेश नीतिसम्बन्धी अवधारणा’ प्रकाशित गरेको थियो। पुस्तक लेख्नुभएको थियो, प्राध्यापक धु्रवकुमारले। पुस्तक प्रकाशन भएयता मात्र पनि चीन र संसारमा धेरै थरी परिवर्तन भइसकेका छन्। लामो आर्थिक र राजनीतिक उथलपुथलपछि चीन आज संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ।

तत्कालीन विश्वको प्रमुख महाशक्ति सोभियत संघ आज इतिहास बनिसकेको छ। सोभियत संघको विघटनपछि संयुक्त राज्य अमेरिकाले लामो समय एकध्रुवीय शासन चलायो। तर, संसार एकधु्रवीय शासनबाट बहुध्रुवीयतिर उन्मुख छ। संयुक्त राज्य अमेरिकाको लागि संसारका लागि आफ्नो एकछत्र शासनमाथि मडारिएको बादल असह्य बनेको छ। फलतः आज संयुक्त राज्य अमेरिका र उसको नेतृत्वको मोर्चा चीनको खुट्टा तान्न अनेकन तानाबाना बुनिरहेको छ।

तर, आजको चीनलाई बुझ्न प्राध्यापक ध्रुवकुमारको तीस वर्षअघि प्रकाशित पुस्तकको सान्दर्भिकता भने अझै बढेको छ। केही मानिसमा विशेषतः देङ स्याओपिङको नेतृत्व आएपछि चीनमा माओको नीतिको प्रभाव धिमा बन्दै गएको पुष्टि गर्न अनेक गरी प्रयास गरिरहेका छन्। उनीहरू आजको चीनको नीतिमा माओको कुनै पनि प्रभाव नभएको दाबी गर्छन्। पेइचिङको तेन आनमेन स्क्वायरको ‘फरबिडन प्यालेस’को मूल ढोकामा झुन्ड्याइएको माओ त्से तुङको तस्बिरलाई आलंकारिक मात्र भएको पुष्टि गर्न खोज्छन्। उनीहरू यस्ता तर्क पेस गर्दै अन्ततः संसारमा कम्युनिस्ट विचारधारालाई ‘पुरानो’ र ‘असान्दर्भिक’ भएको विश्लेषणमा पुग्ने गर्छन्। भन्छन्— चीनले नै छोडिसकेको माओको विचारलाई अन्य देशमा पछ्याउनुको कुनै तुक छैन।

तीस वर्षपछि आज सिनासस“ग पनि प्राध्यापक धु्रवकुमारको उक्त पुस्तक बा“की छैन। तर, ‘माओ एन्ड चाइनाज फोरेन पोलेसी प्रस्पेक्टिभ’ पुस्तक भने आजको चीन बुझ्न निकै उपयोगी पुस्तक हो। आजको चीनको विदेश नीतिको सापेक्षमा त्यो पुस्तक अध्ययन गर्दा चीनले माओको नीतिलाई त्यागेको तर्क गलत प्रमाणित मात्र गर्दैन, बरु आजको चीनको विदेश नीति माओका विचारकै आधारशीलामा अघि बढेको सिलसिला भएको देखाउ“छ।

जापानी उपनिवेशवाद र च्याङ काई सेकको सरकारविरुद्ध लामो संघर्षपश्चात् सन् १९४९ को अक्टोबर १ मा जनवादी गणतन्त्र चीन स्थापनाको घोषणा भयो। तर, जनवादी गणतन्त्र चीनको अगाडिको यात्रा निःसन्देह सहज थिएन। दोस्रो विश्वयुद्ध भर्खर सकेको त्यो समयमा संयुक्त राज्य अमेरिका र सोभियत संघ महाशक्ति बन्ने होडमा थिए। संरा अमेरिकाको नेतृत्वमा पूर्वउपनिवेशवादी देशहरू संगठित बन्दै थिए भने सोभियत संघले पूर्वउपनिवेश देशहरूलाई आफ्नो पक्षमा पार्न मेहनत गरिरहेको थियो। चीनमा स्थापना भएको नयाँ जनवाद माक्र्सवाद र लेनिनवादको सैद्धान्तिक जगमा उभिएको थियो। तर, १९३०–४० देखि नै चीनमा माक्र्सवाद र लेनिनवादको सूत्रात्मक प्रयोगको विरोधमा कम्युनिस्ट पार्टीभित्र चर्को सैद्धान्तिक संघर्ष भइसकेको थियो।

माक्र्सवाद–लेनिनवादलाई सूत्रको रूपमा प्रयोग गर्दा चीनका क्रान्तिकारीहरूले ठूलो क्षतिसमेत भोगिसकेका थिए। यो अनुभवबाट अघि बढेको चिनियाँ कम्युनिस्टहरूले माक्र्सवाद–लेनिनवाद मान्नुको अर्थ तत्कालीन सोभियत संघको अन्ध समर्थन भने पक्कै थिएन। सोभियत खेमामा आबद्ध भए पनि चीन सोभियत संघको तखतमा बस्न तयार थिएन। सोभियत संघस“गको सम्बन्धमा पनि चीनका आफ्नै राष्ट्रिय स्वार्थ थिए।

सोभियत संघमा संशोधनवादी नेतृत्व आएस“गै चीन र सोभियत संघबीच सम्बन्ध चिसियो। सोभियत संघले समाजवादी खेमामा सामेल देशहरूलाई आफ्नो नवउपनिवेशसरह व्यवहार गरेपछि अल्बानिया र चीनलगायत केही देशहरू सोभियत संशोधनवादी नेतृत्वको विरोधमा उभिए। दुई महाशक्तिबीच शक्ति आर्जनको तीव्र संघर्ष चलिरहेको त्यो परिस्थितिमा सोभियत संशोधनवादविरुद्ध लड्ने निर्णयमा पुग्न अल्बानियाली र चिनिया“ नेताहरूको निर्णय कम आँटिलो थिएन। आफ्नो तखतमा नबस्ने अल्बानिया र चीनलाई भित्तासम्म पुर्‍याएर गलाउने सोभियत रणनीति थियो। तर, चीनको क्रान्ति कसैको बुई चढेर सम्पन्न भएको क्रान्ति थिएन। चिनिया“ नेताहरू गुलाबको खातमा हुर्केका थिएनन्। संघर्षको आ“धीबेहरीबीच नै चीनको नेतृत्व हुर्केको थियो। फलतः सोभियत संशोधनवादको नवउपनिवेश स्वीकार्न चीन तयार भएन।

माओ त्से तुङले जापानविरोधी संघर्षका क्रममा लेख्नुभएको दुईवटा दार्शनिक लेखहरू ‘अन्तर्विरोधबारे’ र ‘व्यवहारबारे’ उहा“का अन्य रचनाभन्दा अझ बढी अब्बल रचना मानिन्छन्। अमेरिकी पत्रकार एडगर स्नोले ती दुई रचनाबारे उच्च मूल्यांकन गर्नुभएको छ। दुई महाशक्तिबीच चीनको अलग अस्तित्व र क्रान्ति जोगाउन परेको परिस्थितिमा माओले ती लेखमा अघि सारेका प्रस्तावनाको प्रयोग गर्नुभएको प्राध्यापक धु्रवकुमारले पुस्तकमा चर्चा गर्नुभएको छ। दुई साम्राज्यवादी देशबीचको अन्तर्विरोध चर्काएर नै चिनिया“ क्रान्तिको रक्षा हुन सक्ने माओको निष्कर्षले सोभियत संशोधनवादविरुद्ध लडिरहेको चीन अर्को महाशक्ति देश संयुक्त राज्य अमेरिकाबीच नजिक बन्ने परिस्थिति निर्माण भयो। संयुक्त राज्य अमेरिकालाई भियतनाममा फसाएर मध्यपूर्व र युरोपमा आफ्नो प्रभाव विस्तार गर्ने सोभियत रणनीतिको भेउ पाएको संयुक्त राज्य अमेरिकी नेतृत्वले सोभियत नेतृत्वस“ग मिहिन संघर्ष गरिरहेको पेइचिङको नेतृत्वस“ग हात मिलाउन अग्रसर भयो। निक्सन पेइचिङ पुगेर माओस“ग हात मिलाउने इतिहासकै एउटा उल्लेखनीय घटना बन्न पुग्यो।

चीनप्रति सधैं सन्देहको आ“खाले हेर्न बानी परेका लेखकहरू आज चीनले अघि सारेको बेल्ट एन्ड रोड परियोजनालाई संसारभर चिनियाँ गठबन्धन विस्तारको माध्यमको रूपमा विश्लेषण गर्ने गरेका छन्। एउटा प्रमुख आर्थिक शक्तिको रूपमा संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघले संसारका विभिन्न देशमाथि जसरी आतंक, युद्ध र हस्तक्षेप गरेका थिए; संयुक्त राज्य अमेरिकाले आज पनि निरन्तरता दिएको छ, त्यसरी नै चीन आज आर्थिक शक्तिका रूपमा विकास हु“दै गएको अवस्थामा उसबाट पनि त्यस्तै व्यवहारको पूर्वानुमान गर्ने गरिएको छ। तर, अरू देशमाथि अहस्तक्षेपको नीति माओकालीन चीनदेखिकै नीतिगत निरन्तरता हो, आजको चिनिया“ नेतृत्वले पनि त्यसलाई कायम राखेको छ।

पुस्तकमा लेखकले जनवादी गणतन्त्र चीन स्थापनाअघि र पछिको चिनिया“ विदेश नीतिमा माओको योगदानलाई केन्द्रमा राखी चीनको विदेश नीतिका सैद्धान्तिक प्रस्तावना, त्यसको पृष्ठभूमि र प्रयोगबारे चर्चा गर्नुभएको छ। दोस्रो विश्वयुद्धको समाप्तितिर जापानमाथि आणविक हतियार प्रयोग गरी टोजोको शासनलाई संयुक्त राज्य अमेरिकाले परास्त गर्‍यो। त्यो हमलाले संयुक्त राज्य अमेरिकाले जापानलाई मात्र पराजित गरेन, बरु संसारभर त्रासको सञ्चार पनि गर्‍यो। जापानमा भएको विनाश र नरसंहारबाट आतंकित विश्वले संयुक्त राज्य अमेरिकालाई भयातुर आ“खाले हेर्‍यो। तर, येनानको गुफाबाट विद्रोही नेता माओले भन्नुभयो, ‘आणविक हतियार कागजी बाघ हो।’ माओको यो भनाइको प्रभाव भने संसारभर पर्‍यो। उपनिवेशवादविरुद्ध संघर्षरत संसारका देशहरूलाई यो भनाइले लड्न साहस दियो। युद्धको अन्तिम निर्णय हतियारले होइन, जनताले नै गर्ने हो। माओको यो सुक्ति कालान्तरसम्म पनि चीनको विदेश नीति बन्यो। जनतालाई नै कुनै पनि सम्बन्धको आधार बनाउने विदेश नीतिलाई चीनले आज पनि निरन्तरता दिइरहेको छ।

पञ्चशीलको परराष्ट्र नीति नै आजको चिनियाँ विदेश नीतिको आधार हो। प्रतिरक्षात्मक सैनिक नीति र अहस्तक्षेप, सार्वभौमिकताको सम्मान नै पञ्चशील विदेश नीतिको निरन्तरताको आधार हो।

तीस वर्षअघि त्रिभुवन विश्वविद्यालयको अध्ययन केन्द्र सिनासबाट यो स्तरको पुस्तक प्रकाशन हुनुले आजको सिनासको दुरवस्थालाई निकै कठोर व्यंग्य गरिरहेको छ। आजको सिनासस“ग न यो स्तरको पुस्तक प्रकाशन गर्ने क्षमता छ न त जा“गर नै। आजको चीनलाई आजको प्रवाहमा मात्र टेकेर हेर्नुले हामी सही निष्कर्षमा पुग्न सक्दैनौं। आजको चीन हिजोको सिलसिला हो। चीनले आज अँगालेको विदेश, सुरक्षा, अर्थ नीति हिजोको निरन्तरता हो। प्राध्यापक ध्रुवकुमारले मेहनतका साथ तयार गर्नुभएको यो पुस्तकले माओकालीन चीनलाई मात्र होइन, आजको चीन बुझ्न पनि निकै मद्दत गर्नेछ। यो पुस्तकको पुनः प्रकाशन गर्नुले संसारलाई बुझ्ने नेपाली बौद्धिकको क्षमता पुनः उजागर गर्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.