मन्त्री भएर गरेका ठूलाठूला गफभन्दा...
नेपाली राजनीतिमा २००७ सालको क्रान्तिको विशिष्ट स्थान र महत्व छ। नेपाली समाजका प्रत्येक अवयवलाई यो क्रान्तिले प्रभावित पारेको थियो। एउटा राजनेता र सैद्धान्तिक भाष्यकारका रूपमा बीपी कोइराला २००७ सालको क्रान्तिका दार्शनिक द्रष्टा थिए तर उनको विराट् उचाइको स्वीकार्यता २०१५ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री भएपछि स्थापित भएको थियो। सत्तापक्षमा हुँदा होस् वा प्रतिपक्षमा- सदैव राजनीतिमा विचार, सिद्धान्त र नैतिक पक्षलाई सर्वोपरि स्थान दिएकाले बीपी बीसौं शताब्दीमा जन्मेका सबैभन्दा अग्ला नेपाली राजनीतिक प्रतिभा बन्न पुगेका हुन्।
बीपी कोइरालाको जीवनका तीव्रतम् घटनाक्रमहरूको चर्चा छ, उनको डायरी ८ मे १९५१ देखि १२ नोभेम्बर १९५६ बीच। यो दौरानमा उनले सत्ता राजनीति, प्रतिपक्ष राजनीति र त्योभन्दा बेसी ‘रियल पोलिटिक’ बुझ्ने मौका पाएका थिए। यी डायरी लेखिँदासम्म २००७ सालको क्रान्तिको उपलब्धि र उत्तराधिकारलाई विवादमा पार्नेदेखि सत्ताविमुख बनाउने खेल भएका थिए। क्रान्तिउपर धोखा मि िश्रत प्रतिशोध हावी भएको थियो। एउटा प्रजातान्त्रिक व्यवस्थाका लागि आवश्यक पर्ने कुनै पूर्वाधारबिना नै नेपाल तानाशाहीबाट प्रजातान्त्रिक व्यवस्थामा प्रवेश गरेको थियो। त्यसको मारमा लोकतान्त्रिक आकांक्षा र उपलब्धिहरू परेका थिए। नेपाली राजनीति र बीपीको व्यक्तित्व दोहोरो र समानान्तर रूपमा संक्रमणकालबाट गुज्रिरहेका थिए। बीपीको व्यक्तित्वमा यही संक्रमणकालले थप निखार र परिपक्वता दिलाएको थियो।
अन्तरिम सरकारको गृहमन्त्री पदबाट राजीनामा घोषणा गर्दा बीपीले मोहनशमशेरलाई नेपाली राजनीतिबाट विधिवत् बिदाइ मात्र गरेका थिएनन्, उनी आफू स्वयं प्रधानमन्त्री बन्ने कुरामा आशावादी पनि थिए। तर नियतिको खेल त्यति सरल रेखामा कहाँ हिँड्थ्यो र !
मातृका कोइराला दरबार र भारतको रोजाइका पात्र थिए। बीपीको क्रान्तिकारी स्वभावका तुलनामा भलाद्मी पाएका मातृकाले प्रधानमन्त्री पदमा विराजमान भए। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस एकीकृत भई नेपाली कांग्रेस बनेर अस्तित्वमा आएका दिनदेखि नै एउटा तत्वले बीपी कोइरालाको व्यक्तित्वलाई (साइजमा) राख्ने कोसिस प्रारम्भ गरेको थियो। बीपीलाई आफ्नो स्थान र पदभन्दा नेपाली क्रान्ति महत्वपूर्ण कुरा थियो। खै बीपीलाई आफ्नो सहोदर दाजुलाई पार्टी सभापति बनाउँदा जसरी विस्मात् लागेको थिएन, त्यसरी नै दाजु प्रधानमन्त्री चुनिँदा ग्लानि थिएन। तर जब मातृका नेतृत्वको सरकारले क्रान्तिका पदचाप पछ्याउन खुट्टा कमायो, जनइच्छाभन्दा राजइच्छा सरकारी कामकारबाहीमा हावी भयो, बीपीलाई त्यो मान्य भएन।
क्रान्तिको जगमा उभिएको शक्तिशाली संस्था नेपाली कांग्रेस पार्टी सरकारमा सहभागी भएर भुत्ते भएको बीपीलाई मञ्जुर थिएन। बीपीलाई नेपालका यावत् समस्या आफ्नै नेतृत्वमा मात्र हल गर्न सकिन्छ कि भन्ने (अति विश्वास) पनि थियो। यस डायरीमा यदाकदा त्यसको स्पष्ट झलकसमेत प्रतिध्वनित भएको छ। बीपीले त्यसका लागि राजा रिझाउनेदेखि भारत खुसाउनेसम्मका अनेक प्रयत्न पनि गरे। तर ती सबै प्रयत्न सिद्धान्तको सीमारेखा र नैतिक बन्धनबाट निर्देशित थिए। २००७ सालको क्रान्तिको भावधारा राजालाई र भारतलाई खास महत्वको विषय थिएन।
यस डायरीमा उनले कम्तीमा पनि दुई दर्जन पुस्तकबारे मसिनो टिप्पणी गरेका छन्।
भारतीय प्रधानमन्त्री नेहरूले स्पष्ट शब्दमा आफ्ना राजदूत सीपीएन सिन्हालाई बीपीको ठाउँमा मातृका, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायलाई विश्वासपात्रका रूपमा अगाडि बढाउन पत्राचार गरेका थिए। नेहरूले नै राजा त्रिभुवनलाई व्यक्ति तोकेर मातृकालाई प्रधानमन्त्रीमा सिफारिस गरेको अकाट्य तथ्य छ। बीपीलाई लागेको थियो- यो सबै योजनाकार भारतीय राजदूत सिन्हा थिए। राजदूतमा सिन्हा फेरिएर बीएन गोखले आए। राजा त्रिभुवनका ठाउँमा राजा महेन्द्र आए। तर न बीपीको पालो आयो न त उनले नेतृत्व गरेको कांग्रेस पार्टीको। २००७ सालको क्रान्ति घोषणामा वादा गरेअनुरूप संविधानसभाको चुनाव नभएर आमनिर्वाचन हुने तय भयो।
निर्वाचन पनि सीमित मताधिकारको गर्ने कि भन्ने बहस चल्यो। राजा महेन्द्रले नेहरूलाई प्रत्राचार गरेर नै यसबारेमा राय मागे। संविधान सभाको निर्वाचन अघोषित रूपमा छायामा पर्यो। बीपीले आपूmलाई र पार्टीलाई अप्रत्यक्ष निर्वाचन र सीमित मताधिकार अस्वीकार्य भएको कुरा यस डायरीमा लेखेका छन्। प्राविधिक बहानामा क्रान्तिकारी शक्तिलाई नेतृत्वमा आउनबाट रोक्ने प्रपञ्चसिवाय त्यो अरू केही थिएन। र, त्यो प्रपञ्चको मतियार भारत र दरबार थिए। एउटा लोकतान्त्रिक नेताले केकेमा सम्झौता गर्ने र केकेमा नगर्ने यो डायरी पढेर अनुमान लगाउन सकिन्छ।
परामर्शदातृ सरकारको चौतर्फी आलोचना भएपछि राजा त्रिभुवन फेरि कसलाई प्रधानमन्त्री बनाउने भनी अन्योलमा परे। राजा त्रिभुवनले कतै नेहरूको आशय बीपीलाई प्रधानमन्त्री बनाउने त छैन भनी नेहरूलाई पत्राचार गरे। नेहरूले दोस्रो पटक बीपी आफ्नो रोजाइको पात्र नभएको पत्रमार्फत राजा त्रिभुवनलाई जानकारी गराए र पुनश्चः मातृका कोइराला दोस्रो पटक प्रधानमन्त्री बने। यसबीचमा भारतीय राजदूत बीएन गोखलेले बीपीले बेलायती र अमेरिकी खुफिया संस्थाको सहयोगमा विद्रोहमार्फत सत्ताविप्लव गर्न खोजेको आरोप लगाउँदै चिठीसमेत पठाएका थिए। बीपीका खिलाफमा कुन हदसम्म घेराबन्दी र साजिस गरिएको थियो, त्यो घटना एउटा सानो उदाहरण मात्र हो।
तिनताका नेहरूले बीपीलाई प्रबल, ऊर्जावान्, आशालाग्दो तर अपरिपक्व नेताको उपमा दिएका थिए। मातृकालाई लेखेको पत्रमा नेहरू भन्छन्, अझै केही ठक्कर पाएपछि मात्र बीपी परिपक्व हुनेछन्। मातृकाको कमजोर नेतृत्वबाट पार नलाग्ने थाहा पाउँदापाउँदै पनि नेहरूले बीपीको नेतृत्वको सिफारिस गर्न आनाकानी गरिरहे। त्यो चाल पाएर धूर्त राजा महेन्द्रले टंकप्रसाद आचार्य, डा. केआई सिंहलाई प्रधानमन्त्री बनाउँदै अधिकार दरबारमा केन्द्रीकृत गर्दै गए।
बीपीलाई के दृढ विश्वास थियो भने प्रजातान्त्रिक राजनीति जनताबाट अनुमोदित हुनुपर्छ, जनताबाट अनुमोदित हुन जनतासँग प्रत्यक्ष रूपमा जोडिनुपर्छ। राजधानी वा विदेशका बन्द कोठामा गरिने सौदाबाजीले क्षणिक लाभ त हुन्छ तर दिगो राजनीति हुँदैन। कांग्रेसले आफैंलाई निरन्तर रूपमा जनतासँग जोडिरह्यो- भूमिसँग जोडिएको प्रत्येक आन्दोलनमा भाग लिएर र नेतृत्व गरेर समाजवादको पाठ पढाएर र प्रजातान्त्रिक राष्ट्रवाद जगमा टेकेर। यो सबै कार्यमा बीपी कोइराला अग्रभागमा रहेर अहोरात्र लागिपरे। ती संघर्षका पदचाप यो डायरीमा असरल्ल छरिएका छन्।
देशदौडाहा एउटा चलायमान राजनीतिज्ञका लागि मजबुत औजार हो। देश दौडाहाबिना पार्टीको प्रचार र विस्तार शुष्क हुन जान्थ्यो। जनमतका आधारमा शासन गर्न चाहनेले सार्थक दौडाहा गर्नु थियो। कार्यकर्ताको मनोबल उच्च राख्नु र आमसर्वसाधारणको आकर्षण जोगाइराख्न यही र यस्तै शैलीले मात्र सम्भव भएको थियो। यही समयमा कांग्रेसलाई औपचारिक रूपमा समाजवादी पार्टी घोषण गरिएको थियो। र, पार्टीले पहिलो एसियाली समाजवादी सम्मेलनमा भाग लिएको थियो। त्यसलगत्तै युरोपका राजनीतिक पार्टीहरूमा पनि सम्पर्क विस्तार गर्ने कार्यमा बीपी कोइराला लागिपरेको यो डायरी पढ्दा थाहा हुन्छ।
व्यक्तिगत राजनीतिक असफलता, परिवारको आर्थिक विषमताका बीच संघर्षको, आशाको दियो निभ्न नदिनु अर्को चुनौती थियो। निरन्तरको आत्ममन्थन, आत्मविश्लेषण र आत्मस्वीकारोक्तिले गर्दा जीवनरथ सन्तुलित दिशामा अगाडि बढाउन बीपी सफल भएको देखिन्छ। डायरी लेखन त्यसका लागि सहायक सिद्ध हुन्थ्यो। चरम निराशाका बीच होस् वा राजनीतिक धपेडीका बीच, साहित्य र स्वअध्ययनमार्फत् उनले आफूलाई वैश्विक परिस्थितिसँग तादात्म्य गराइराख्थे। यस डायरीमा मात्रै उनले कम्तीमा पनि दुई दर्जन पुस्तकप्रति मसिनो टिप्पणीसमेत गरेका छन्। नोबेल पुरस्कार विजेता साहित्यदेखि क्लासिक साहित्य र विश्वबजारमा चलेका नवप्रकाशनलाई यथासमयमै पढ्न र अनुशीलन गर्न सक्नु उनका विशेषता हुन्। सिनेमा, नाटक, कला, बृहत् सांस्कृतिका पाटासँग नियमित संसर्गमा रहनु उनको जीवनको अभिन्न पाटो थियो।
यो डायरीमा छल्किएको अर्को उल्लेख्य पक्ष ‘रचनात्मक क्रियाकलाप’को चर्चा पनि हो। महात्मा गान्धीको प्रभावले होला, फगत राजनीतिले मात्र समाज बदल्न सकिन्न भन्ने चेत बीपीमा भएकोे देखिन्छ। उनी लेख्छन्, ‘मन्त्री भएर गरेका ठूला ठूला गफभन्दा ससाना रचनात्मक कार्य धेरै उत्कृष्ट हुनेछ।’ विभिन्न विषयका विज्ञ एकीकृत गरेर नमुना गाउँ बनाउने र गैरराजनीतिक क्रियाकलाप गर्ने केन्द्र÷आ श्रम बनाउने उनका योजना थिए। सप्तरीको कोइलाठीमा त्यस्तो आ श्रम स्थापना बीपीले गरेको देखिन्छ। १९३० को नमक सत्याग्रहपश्चात् गान्धीले आपूmलाई प्रत्यक्ष राजनीतिबाट टाढा राख्दै रचनात्मक कार्यमा लगाएका थिए। गौसेवा, कुटिर उद्योगको प्रवद्र्धन, जातीय छुवाछूत र भेदभाव अन्त्य, हिन्दू मुस्लिम एकतालगायतका कुरालाई गान्धीले रचनात्मक कार्यको संज्ञा दिएका थिए।
यस डायरीमा बारम्बार बीपीले आपूm ‘मिडलाइफ क्राइसिस’बाट गुजे्रेको संकेत गरेका छन्। आफ्ना उपलब्धि र असफलतालाई बारम्बार पर्गेल्ने र तौलने कोसिस गरेका छन्। राजनीतिमा सहकर्मी र प्रतिपक्षसँग मतभेद भए पनि उनले कोहीसँग मनभेद गरेको देखिन्न।
मातृकाप्रसाद कोइरालाले आफ्नो पुस्तक ‘अ रोल इन रिभोलुसन’मा एउटा वक्तव्य ‘वीर विश्वेश्वर जिन्दावाद !’मार्फत नेपाली राजनीतिमा बीपीको सर्वोपरिता स्वीकार गरेका छन्। मातृकाको यस्तो स्वीकारोक्ति बीपीको निधन भएपछि आएको देखिन्छ। बीपीले सदैव सैद्धान्तिक र विषयगत अडान लिएको पाइन्छ। उनका अडानमा निरन्तरताको कडी छ- राष्ट्रियताका बारेमा, भारतका बारेमा र अरू पनि विषयहरूमा। यस डायरीमा प्रस्फुटित विचार त्यसपछिको अवधिका विचारसँग मेल खान्छन्। त्यस मानेमा यी डायरी लेख्दाका समयमा बीपीको राजनीतिक समझ र सुझबुझले एउटा ठोस आकार ग्रहण गरिसकेको देखिन्छ।
‘इन द वर्कसप अफ रिभोलुसन’ पढेपछि बीपीलाई लाग्छ– भाग्यले ममाथि थोपरेको भूमिकाका लागि म पर्याप्त मात्रामा क्रूर भइसकेको थिइनँ। त्यस मानेमा उनी पृथक रोमान्टिक रिभोलोसनरी थिए- निश्चित आदर्शमा अडिग एवं आफ्ना नैतिक घेरा कहिल्यै नतोड्ने। पछि २०३६ सालको जनमतसंग्रहमा पनि उनले विवेक गुमाएनन् र परिणामलाई सहजै स्वीकार गरे। एउटा ‘कस्मोपोलिटान’ चेतना बोकेर हिँडेको नेतालाई लक्ष्यमा पुग्नुभन्दा पनि साधनको पवित्रतामा अगाध विश्वास थियो। नियतिभन्दा ज्ञानमा बढी भरोसा थियो।
यस डायरीमा उल्लेख भएका अनेकन विषय आत्मवृत्तान्तमा समाविष्ट छन्। त्यस मानेमा कतिपय प्रसंग आत्मवृत्तान्त र यो डायरीसँगै राखेर अध्ययन गर्नुपर्ने हुन्छ। बीपीको कथ्य, भाषा र लेख्य भाषामा स्पष्ट छनक पाइन्छ। उनको लेख्य भाषामा प्रसारित हुने अभिव्यञ्जना, लय, गहिराइ, प्राञ्जलता र वैचारिक स्पष्टताले पाठकलाई धेरै ठाउँमा टक्क रोकिन र घोत्लिन बाध्य बनाउने सामथ्र्य राख्छन्। ‘जेल जर्नल र फेरि सुन्दरीजल’को स्वाद लिइसकेकालाई यस डायरीले लोभ्याउनु स्वाभाविक हुन जान्छ।
बीपी कोइरालाको व्यक्तित्व निर्माणमा १९५१–१९५६ का ६ वर्ष अपार महत्वका वर्ष थिए। किशोर अवस्थामा पुगेपछि उनी पहिलोपटक यति लामो समय कारागारबाहिर बसेका थिए र स्वदेशमा रहने मौका पाएका थिए। यस डायरीका प्रत्येक पेजमा उनले आफ्नो स्वअत्व खोजी गरेको आभास पाइन्छ। त्यो स्वअत्वको केन्द्रमा २००७ सालको क्रन्ति थियो। आपूmले नेतृत्व गरेको क्रान्तिलाई जनताको जीवनस्तरमा सकारात्मक आर्थिक बदलाव ल्याएर एउटा सार्थक निचोडमा पुर्याउन उनले खपेका हन्डर÷ठक्करको रोचक फेहरिस्तका लागि यो डायरीको चिरकालीन महत्व छ र रहनेछ। @shankarktm1
प्रकाशोन्मुख पुस्तक ‘बीपी कोइरालाको डायरी’बाट।