जर्नेलको हातमा त्यो किताब थियो
अक्सफोर्ड विश्वविद्यालयमा स्पाल्डिङ प्राध्यापकका रूपमा कार्यरत दिवाकर आचार्य नेपाललगायत जापाज, जर्मनी, अस्ट्रिया र नेदरल्यान्डका विश्वविद्यालयमा अध्यापन र शोध गरेका बौद्धिक हुन्। संस्कृत दर्शन, नेपाली संस्कृति एवं इतिहासका विज्ञ आचार्यको पछिल्लो पुस्तक ‘नीपजन र नेपाल : एउटा छोटो आद्य इतिहास’ (२०७४) हो। मलाई विद्यार्थीले ‘पढाउँछन्’ भन्दै गफिएका प्राध्यापक आचार्यसँग विमल आचार्यले गरेको फुर्सद-वार्ता:
कत्तिको फुर्सद हुन्छ ?
कमै हुन्छ। तर मैले फुर्सद-बेफुर्सद दुवैमा पढ्ने नै हो। फुर्सदमा हल्का चीज पढ्छु। ‘फुर्सद’ पढ्न अलिअलि भ्याउँछु। केही पत्रपत्रिका र न्युज हेर्छु-सुन्छु। आजकाल कतिपय साथीका फेसबुक जर्नल पनि पठनीय हुन्छन्।
पछिल्लो पटक पढेको किताब ?
भरतको नाट्यशास्त्र र भर्तृहरिको वाक्यपदीय दुवैका केही निश्चित भाग। मलाई विद्यार्थीले ‘पढाउँछन्’।
के छन् यिनमा ?
श्रव्य वा दृश्य÷नाट्य काव्यमा कथाको क्रमिक विकासका पाँच अवस्था र पाँच जोर्नी हुन्छन् भन्ने आचार्य भरतको सिद्धान्तको आचार्य अभिनवगुप्तले गरेको विश्लेषण र भर्तृहरिको कालसम्बन्धी चिन्तन। दुवै चखिला छन्।
सिरानीमा किताब ?
‘प्रावरण-पुस्तिका’। बुझ्नुभएन कि ! म्याकबुक भनेको क्या ! जसभित्र थुप्रै किताब छन्, पीडीएफ फम्र्याटमा। म्याकिन्टोसको मूल अर्थ पूरै जीउ ढाक्ने, पानी छेक्ने कोट हो ‘प्रावरण’। तपाईंलाई भनिदिइहालौं, योभन्दा रोमान्टिक हुन्छ ल्यापटपको नेपाली÷संस्कृत नाम— ‘अंकशायिनी’— काखमा सुत्ने प्रेयसी !
पढिरहनुभएको किताब ?
‘द न्यु जेनेरेसन इन मेइजि जापान, प्रोब्लम्स् अफ कल्चरल आइडेन्टिटी’ पढ्दै छु। त्यस बेलाको जापानको अनुभवबाट नेपालले सिक्न सक्ने कुरा धेरै छन् जस्तो लागेर।
थाती राखेको किताब नि ?
थुप्रै होलान्। साथीभाइले पनि सुझाउँछन्, आफैं पनि किताबहरू हेर्यो ‘ए ! पढ्नुपर्ने रहेछ, पछि पढौंला’ भनेर राख्यो। अनि त्यत्तिकै। कुनै विषयवस्तुमा अनुसन्धान-लेख लेख्न बसेपछि हो, थाती नराखी त्यस विषयका लेख÷किताब पढ्ने।
धेरैपल्ट पढेको किताब कुन हो ?
धेरै पटक दिमागका आँखाले संस्कृतका कविता पढ्छु। कालीदासको मेघदूत, गोवद्र्धनको आर्यासप्तशती, राजा हालको प्राकृत भाषाको सत्तसइ पनि। मनमनै गुनगुनाउन, गाउन मजा हुन्छ। एक हिसाबले कम्प्युटरको स्क्रिनमा ‘स्क्रिन सेभर’ दगुराएजस्तो भने’नि हुन्छ।
पहिलो (बच्चाको) किताब ?
देवीकवच। पुरानो परम्परामा देवीकवच चण्डीबाट अक्षर चिनाउने चलन थियो, अझै होला। अलि पछि वाल्मीकि-रामायण पढेँ, संस्कृत र हिन्दी दुवै भएको संस्करणबाट।
धेरैपल्ट उपहार दिएको किताब ?
आफ्नै पुस्तकहरूः वाचस्पति मि श्रको तत्वसमीक्षा, मृच्छकटिकको मेरो अंग्रेजी अनुवाद र अर्ली तान्त्रिक् वैष्णविज्म्।
धेरैपल्ट उपहार पाएको किताब ?
एउटै पुस्तक धेरैवटा पाउनुको औचित्य छैन। त्यसैले यस प्रश्नको पनि औचित्य छैन।
पढ्न मन लागेर नपाएको किताब ?
त्यस्तो छैन। मन लागेको पुस्तक पढ्न कुर्नुपर्ने हुनसक्छ विभिन्न कारणले। तर नपाउने भन्ने अब छैन। नेपालतिर नयाँ पुस्तक आउँदा ‘ए ! पढ्नुपर्ने’ भन्ने लाग्छ। तर पाइहालिन्न, अनि पढ्न त्यत्तिकै पनि हुन्छ।
किताब कहाँ किन्नुहुन्छ ?
धेरैजसो अनलाइन, आक्कलझुक्कल नेपालतिर आउँदा।
कुन समय धेरै किताब पढ्नुभयो ?
त्यसरी यही समय बढी पढियो भन्न गाह्रो छ। सधैं पढी नै त रहियो। यसो भन्न सकिन्छ, कुनै कालखण्डमा छिटो र धेरै पढियो भने कुनै कालखण्डमा ढिलो र थोरै तर गहन रूपमा र ध्यानपूर्वक।
मन परेको पुस्तकालय ?
नेपालकै राष्ट्रिय अभिलेखालय, केसर पुस्तकालय, महेशराज पन्त गुरुज्यूको निजी पुस्तकालय।
पुस्तक समीक्षाहरू पढ्नुहुन्छ ? कस्तो लाग्छ ?
पढ्छु। रमाइलो लाग्छ, त्यो समीक्षकले कहिलेकाहीँ आफूले ध्यान दिन नसकेका कुरातिर ध्यान तानिदिन्छन्।
पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् भन्ने लाग्छ कि सकेसम्म नभेटून् ?
मेरो त कामै त्यही हो, पढ्ने-पढाउने, समीक्षा गर्ने-गराउने, पीडीएफ भए त्यो पनि दिन्छु।
पुस्तकबारे प्रतिक्रिया लेख्न मन लाग्छ ?
अनुसन्धानात्मक प्रतिक्रिया लेख्न समय लाग्छ, लेख्नुपर्ने हो। प्रकाशकहरूले जर्नलमा समीक्षा गरिदिन भनेर मुफ्तका किताब पनि पठाउँछन्। समय दिन सकेको छैन। यसका लागि तपाईंसँग ‘फुर्सद’ सापट लिनुपर्ने छ।
पढ्दै गर्दा मन परे-नपरेको कुरा अन्डरलाइन गर्ने-केरमेट गर्ने, पाना खुम्च्याउने बानी छ ?
छ तर कम गर्छु। आफ्नै पुस्तक भएपछि गरिन्छ नै। पुस्तकालयको र अरूसँग सापटी लिएको किताबमा केरमेट गर्ने, पाना मोढ्ने गर्नै भएन। सानो छँदा बुवाका किताबमा पनि यो सबै गर्न प्रतिबन्धै थियो। बरु विभिन्न रङका स्टिकर टाँस्नु राम्रो हो।
प्रायः कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
त्यस्तो कुनै सीमा प्रतिबन्ध छैन। उठेदेखि नसुतेसम्म, तर बीचबीचमा महेशराज पन्त गुरुको भाषामा ‘अंग्रेजीबाज’ भइन्छ। सधैं पढ्ने हो। फरक यत्ति हो, के पढ्ने ? एक्लै पढ्ने कि अरूसँग ? सतही पढ्ने कि गहिरो ? अखबार कि शास्त्र ? छिटो पढ्ने हो कि ढिलो ?
यहाँसँग भएको दुर्लभ पुस्तक ?
संस्कृतका पुराना पाण्डुलिपि छन्।
राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
उहाँहरूसँग पढ्ने फुर्सद छ जस्तो मलाई लाग्दैन। पढ्नतिर लाग्नुभएको भए उहाँहरू आज जे हुनुहुन्छ, त्यो हुनुहुन्थेन। उहाँहरूले त पढ्ने संस्कृतिलाई बढावा दिने हो। के भन्दा-गर्दा समाजमा प्राज्ञिकता र बौद्धिकता मौलाउँछ, त्यो भन्ने-गर्ने हो।
किनेको सबैभन्दा महँगो पुस्तक ?
पहिले नेपाल-भारततिर छापिएका पुस्तक सस्ता हुन्थे, बनारसतिर बस्दा-फर्कंदा किनिन्थ्यो। आजकाल त्यति धेरै किनिन्न, धेरै प्रयोग गर्छुजस्तो लागे मात्र किन्छु। अक्सफोर्डको पुस्तकालयमार्फत पुस्तक पढ्न पाइन्छ, विद्युतीय रूपमा वा भौतिकै पनि। तैपनि अलिअलि किनिन्छ, किताब किन्न पनि प्रयोग गर्न मिल्ने अलिकति बजेट पनि हुन्छ। किताब सजिलै पाइने परिवेशमा सबै किताब हरेकले किन्नुपर्दैन।
बढ्ता होहल्ला भएको औसत पुस्तक ? कम होहल्ला भएको गज्जबको पुस्तक ?
सबैको आआफ्नो मूल्य हुन्छ। हरेक क्षेत्रमा थोरै उम्दा र बढी त कमसल पुस्तक नै हुन्छन्। एउटै लेखकमा पनि यो कुरा लागू हुन्छ। हरेक प्रसंगमा, होहल्ला र वास्तविकता दुई छुट्टै कुरा हुन्। मूल्यांकन भनेको प्रयोजनका आधारमा गरिने भएकाले यो व्यक्तिगत हुन्छ। विधागत रोजाइको पनि कुरा हुन्छ।
रोजाइमा कुन विधा ?
इतिहास र दर्शन। विशेष गरी विचार र संस्कारको इतिहास। आधुनिक साहित्यमा आत्मकथा र उपन्यास। संस्कृत-प्राकृतका काव्य।
तपाईंले पढ्ने जर्नल÷अनुसन्धानात्मक लेखन ?
भारतीय संस्कृति र सभ्यताको अध्ययनसम्बन्धी लेखन र केही समसामयिक आर्थिक पनि। प्रसंगवश, मैले भारतको उल्लेख गर्दा सांस्कृतिक भारतवर्ष बुझिदिनुहोला, जो आधुनिक राजनीतिक दायराभन्दा बृहत्तर छ। आफैंले सम्पादन गर्ने जर्नल अफ इन्डियन फिलोसोफी त यसैउसै पढ्नुपर्यो।
नेपालमा अनुसन्धानात्मक लेखन-पठन कस्तो पाउनुभएको छ ?
धेरै समस्या थिए र छन्। सुध्रँदै जाला भन्ने आशा गरौं। तर आआफ्नो क्षेत्रका उत्कृष्ट अनुसन्धान गर्ने, प्रकाशन गर्ने संस्था र व्यक्तिहरूलाई हामीले बिर्सनुहुन्न; जसमा संशोधन मण्डल, मार्टिन चौतारी आदि पर्छन्। केही वर्ष अघिसम्म नेपाल रिसर्च सेन्टरले पनि अंग्रेजी भाषाको अन्तर्राष्ट्रिय स्तरको जर्नल चलाउँथ्यो, जो बन्द भइसक्यो।
के कहिल्यै कुनै किताब चोर्नुभएको छ ?
कसैले चोरेकै भए पनि मैले चोरेको छु भन्ला र ! चोरले सत्य बोल्दैन, सत्य बोल्नेले चोर्दैन। चाहे भौतिक होस् वा बौद्धिक, यहाँ त चोरी पक्डिइसक्दा पनि मानिस ढाँटिरहन्छन्, गरिमान्वित पनि भइरहन्छन्।
पढिसकेका किताब राख्न ठाउँ नपुगे, पछि काम नलाग्ने जस्तो लागे के गर्नुहुन्छ ?
एकभन्दा बढी प्रति कतैबाट मिले साथीभाइ वा विद्यार्थीलाई दिन्छु। किताब राख्न ठाउँ नपुग्ने भएको छैन।
किताबमा गाता हाल्नुहुन्छ कि ?
हाल्छु, बढी प्रयोग हुने पुस्तकमा। सानैमा बुवाले कहिल्यै नफुस्किने गरी पट्याइवरि भित्र घुसारी जिल्द हाल्न सिकाउनुभएको थियो र त्यसताक मैले रमाइलो मानेर भेटेजति किताबमा गाता हाल्थेँ।
मनमनै पढ्नुहुन्छ कि सस्वर वाचेर ?
पढाउँदा र पाठ गर्दा उच्च स्वरमा। बुझ्न-मनन गर्न भने धेरैजसो मनमनै।
मन परेका पुस्तकको नाम लिइदिनुस् न ?
धेरै छन्। भन्न गाह्रो !
कुन लेखक भेट्न चाहनुहुन्छ ?
स्वैरकल्पनामा, ‘नेति नेति’को ज्ञानप्रक्रिया र त्यससम्बन्धी संवादलाई अघि बढाउने बृहदारण्यक उपनिषद्का दुई ऐतिहासिक प्राज्ञ पात्र अजातशत्रु र याज्ञवल्क्यलाई। वास्तवमा पुस्तकलाई गहिरिएर ठीकसँग पढ्नु नै लेखक भेट्नु हो। लेखक-चिन्तकसँग कुनै एक शीर्षकमा संवाद-अन्तक्र्रिया गर्न पाउँदा भेट्ने हो। नत्र भेट्नुको कुनै औचित्य छैन।
पुस्तकमा कुनै लेखकको अटोग्राफ लिनुभएको छ ?
यदाकदा लेखकले आफैं लेखेर उपहार दिएका पुस्तकहरूमा तिनका स्वहस्त छन्।
लेख्न चाहेको वा लेखिरहेको किताब ?
बृहदारण्यक र छान्दोग्य उपनिषद्को सघन समालोचनात्मक व्याख्या गरी अंग्रेजीमा पुस्तिका लेख्दै छु। लेखका रूपमा केही अंश छपाई पनि सकेको छु। दुई संस्कृतका हस्तलिखित ग्रन्थ पनि सम्पादनका क्रममा छन्। दक्षिण एसियाको प्राचीनदेखि आधुनिक समाजलाई बुझ्नका लागि जान्नुपर्ने कतिपय प्रतिनिधि अवधारणाहरूबारे छोटा लेख लेखी तिनको सँगालो बनाउने विचार छ। हाम्रा आधुनिक अवधारणाहरू, उदाहरणका लागि स्वतन्त्रता वा मुक्तिलाई लिऔं, कति हदसम्म प्राचीन धारणामा र कति हदसम्म आधुनिक पाश्चात्य धारणामा आधारित छन् भनी केलाउने इच्छा छ।
पुस्तकसित जोडिएको कुनै एउटा रोचक सन्दर्भ ?
एउटा बबालको सन्दर्भ छ। बुवासँग हजार-बाह्र सय किताब थिए, संस्कृत र नेपालीका। मैले तिनैमध्येको एउटा ‘पंक्तिचन्द्रिका’ नामको पुस्तक नौ कक्षामा रानीपोखरीको संमाविमा पढ्दा आफूभन्दा तल्लो कक्षाका साथीलाई पढ्न दिएको थिएँ, बुवालाई नसोधी। ती साथी थिए, हनुमानढोकामा पोस्टिङ भएका, पछि पढ्न थालेका सेनाका जवान एकनारायण। वार्षिक नतिजा प्रकाशित हुने दिन त्यो पुस्तक फिर्ता लिने योजना थियो। तर त्यही दिन विद्यालयअगाडि दुर्घटनामा परी म गोडा भाँचिएर अस्पताल पुगेँ, पुस्तक फिर्ता हुन सकेन।
बुवाले अर्को नौ महिनापछि थाहा पाउनुभयो, यो कुरा। उहाँ कडा मान्छे, ‘किताब फिर्ता नआएसम्म म अन्न खान्नँ’ भनेर बस्नुभो। दालभात-रोटीबाहेक सागसब्जी र फलफूल भने खाने रे ! आमालाई समस्या। म र दिदी हनुमानढोका गयौं बुझ्न। साथीको त पशुपति प्रसाद गण नै सरेर धनकुटा या धनगढी पुगिसकेको थाहा भयो। हामी फुच्चाफुच्चीको रोइकराई कसैले सुनेन।
त्यसताक म दिनदिनै पशुपतिमा श्यामचेतन बाबाकहाँ जान्थेँ। त्यहाँ दिनदिनै आउने भक्तहरूमध्ये राजमाता रत्नका एडीसी ब्रिगेडएर जर्नेल लोकबहादुर घले पनि हुनुहुन्थ्यो। ‘अनशन’को सत्रौं दिन आमाले नै गएर जर्नेललाई भएको कुरा भन्नुभो। मलाई हिम्मत भएन आफैं भन्न। भोलिपल्ट बाबाकहाँ आउँदा जर्नेलको हातमा त्यो किताब थियो, धनकुटा÷धनगढीबाट पुस्तक २४ घण्टाभित्र कसरी उनले हात पारे, उनै जानून्। यसरी बुवाको दालभात र रोटी नखाने ‘अनशन’ अठारौं दिनमा तोडिएको थियो।