खप्तड : एक मेडिटेसन

खप्तड : एक मेडिटेसन

युवा पुस्तामाझ ट्रेन्डिङ जस्तो लाग्छ— यात्रा। सामाजिक सञ्जालका टाइमलाइनहरू हेरे थाहा भइहाल्छ— को कहाँ पुग्यो ?       को कहाँ घुम्यो ?       लाग्छ संसारै घुमिरा’छ। यस्तै घुमघामको संयोग जुट्दै थियो, खप्तडतिर।

खप्तड जाने कुराले खप्तड बाबाको याद आई नै हाल्थ्यो। हाजिरी जवाफमा रुचि राख्नेले स्कुले बेला नै सुन्ने नाम हो, खप्तड बाबा। अझ धेरैले उहाँको चिकित्सा, दर्शन र धर्मसम्बन्धी किताबहरू पनि पढेको हुनुपर्छ। अर्को शारदा शर्माको ‘भुइँफूलको देश’ सम्झना भयो। यसमा खप्तड यात्रा वृत्तान्त मजैले पढ्न पाइन्छ। गोँगबुमा ‘सुन्दर सुदूरपश्चिम’ अंकित बसहरूमा देखिने खप्तडका दृश्यहरू पनि सम्झिएँ।

र एक दिन खप्तड हिँड्ने दिन पनि आइहाल्यो।

०००

बिहानै सवा सातमा एअरपोर्ट पुग्यौं।       श्री एअरलाइन्समा हिमालको काखबाट, बादलसँगै धनगढी एक घण्टामा पुग्यौं। भोलिपल्ट बाटोमा डडेलधुरा आलितालतिर प्राविधिक प्रेजेन्टेसन दिनु थियो। त्यसैले त्यो दिन धनगढीमै बित्यो।

भोलिपल्ट बिहान ९ बजे बाटो लाग्यौं। साथी विकास, म र धनगढीबाट भाइ महेशका नवदम्पती चार जना दुइटा बाइकमा। महाकाली राजमार्ग हुँदै धनगढी-अत्तरियाबाट बुडर आइपुग्यौं। बुडरबाट आलिताल पुग्न राजमार्ग छोड्यौं। प्रेजेन्टेसन सकाएर फेरि बुडर आइपुग्दा साँझ पर्नै लागेको थियो। २१ किमी टाढा घण्टेश्वर पुग्दा साँझको साढे सात बजेको हुनुपर्छ, त्यतै बसियो।

०००

आजको लक्ष्य— ‘झिग्राना’। डोटेली चिया पिउनासाथ झरीसँगै बाटो लाग्यौं। केही बेरमा पानी रोकियो, आकाश सफा भो। स्याउले बजार पुगेछम्। खाजा खाएर स्याउलेबाट सेती राजमार्गतिर बाइकका ह्यान्डलहरू मोडिए। लेकबाट तल फाँटमा पुग्यौं। सेती नदीको किनारकिनारै बाइक कुदिरह्यो। करिब २ बजेतिर दिपायल पुगिएछ। आधा घण्टा उकालोपछि सिलगढी आइपुग्यो। चिटिक्क परेका कलात्मक घरहरू। घरसँगै टाँसिएका काठका बार्दली र टायलका छाना। ससाना गल्ली, वरिपरि घुचुमुच्चु बस्ती। ठ्याक्कै सल्यान खलंगाको ठन्डी सडकको नेवार बस्ती याद आयो।

शैलेश्वरी मन्दिरअगाडिको पूजा होटेलमा गएर बाइक रोकियो। मन्दिर दर्शनपछि खाना खाएर टिम झिग्रानातर्फ लाग्यौं। १० किमी पक्की बाटो हिँडेपछि १७ किमी कच्ची, ठाडो र भिरालो बाटो हिँड्न निकै चुनौती थियो तर जेनतेन झिग्रानासम्म पुगियो। पुग्दा साँझको साढे ६ बजिसकेको थियो। त्यहाँ एकजना बूढा बाले खोलेको होटेलमा हामी बास बस्यौं। बाहिरबाट कुनै दृष्टिले होटेल थिएन त्यो। बाफिलो चियाको स्वागत, तातो मीठो खाना र न्यानो ओछ्यानले होटेलभन्दा धेरै थियो त्यो।

भन्छन्, घुम्नु भनेको कुनै ठाउँबारे मस्तिष्कमा रहेको दृश्य भत्काउनु हो। त्यस्तै हुँदै थियो यात्राभर। पहिले सोचेको जस्तो केही थिएनन्। सबै नयाँ अनुभव थियो। यात्राभर बाइकको यात्राले हामीलाई चे ग्वेभाराको जीवनीमा आधारित फिल्म ‘दी मोटरसाइकल डायरिज’को याद दिलाइरह्यो।

०००

करिब २१०० मिटर उचाइमा बसेका रहेछौं। पुग्नु थियो ३१०० मिटरमा। बेजोडले पानी पर्ने सुरसार गर्दै थियो। चिया, रोटी र तरकारी खाएर हिँड्ने तयारी गर्‍यौं।

प्रतिव्यक्ति सय रुपियाँको टिकेट काटेर बेजोड झरीसँगै रेनकोट र त्यसमाथि छाता ओढी खप्तड राष्ट्रिय निकुञ्जतिर लट्ठीको सहारामा उक्लन थाल्यौं। अगाडि पुग्दा घुम्तीमा खोला एकदमै सुसाइरहेको सुनियो। नजिक पुग्दा पुलबाट अगाडि रूखमा झुन्डिएको साइनबोर्ड देखियो। त्यसमा लेखिएको थियो—

‘मानिस आफ्नै विचारले विष्टका कीरा र आफ्नै विचारले नरबाट नारायण बन्दछ। प्रेम केवल मानसिक शान्ति मात्र होइन शारीरिक रोगको पनि असल वैद्य हो।’ —खप्तड बाबा

वि श्राम घरहरूमा सुस्ताउँदै उकालो हिडिरह्यौं। ठाडो उकालोपछि अलिकति समथर भूभागमा एउटा गोलाकार घर देखा पर्‍र्या। यसमा सिजनको बेला होटेल सुविधा हुने गथ्र्यो। तर यति बेला खाली घर मात्र थियो। त्यही थियो बिचपानी। एकछिन सुस्तायौं। बचेको रोटी, चाउचाउ र पानी सबैभन्दा प्यारा थिए त्यस बेला। पहेँलो बोर्डमा खप्तड ९.५ किमी लेखिएको थियो। त्यति बेला घडीमा साढे दुई बजेको हुनुपर्छ। हिँडिहाल्यौं। बाटैबाटो फोनडाँडा हुँदै बुकीदह आइपुगिन्। अब बुकीदहबाट एक घण्टा टाढा थियो, ‘खप्तड पाटन’।

०००

साँझ हुनै लाग्दा रूखैको हाँगामुनिबाट परपर फैलिएका हरिया चौरहरू मजैले देखिए। अझ नजिक पुग्दा खप्तडका पाटनहरू छर्लंग भए। मोबाइलमा हेर्दा थाहा भो, ११ घण्टा लागेछ त्यहाँ पुग्न। आज, जीवनमा सबैभन्दा धेरै हिँडेको दिन। थाकेर लखतरान। तर सबै भुलियो। बीच बाटोमा साना भाइहरू रोशन र कुशल रावलले नमस्ते गर्दै फुल दिएर स्वागत गरे। योभन्दा मीठो स्वागत अरू के हुन सक्थ्यो र ! एक घण्टा लामो ढुंगा बिछ्याइएको बाटो हिँडेपछि हामी बास बस्ने होटेलमा आइपुगेका थियौं।

बिहानीपख झनै प्रस्ट देखिए ससाना हरिया थुम्काहरू। मनमोहक धुपीसल्लाहरू। परपर काठले बेरेर बनाइएका जीवन्त गाईगोठ। चरिरहेका घोडाहरू। भेडाबाख्राका बथान। भुइँभरि फुलेका फूलहरू। सायद हुनसक्छ, यहीँ ठाउँबाट प्रभावित भएर शारदा शर्माले किताबको नाम ‘भुइँफूलको देश’ राख्नुभएको।

एक कप दूध पिएर खप्तड ताल घुम्न हिड्यौं। शान्त र सौम्य थियो ताल। त्यहाँ पुगेर फोटोहरू लिएपश्चात् फेरि होटेल फक्र्याैं र खाना खायौं।

ठ्याक्कै डाँडामाथि रहेछ खप्तड बाबा आ श्रम। पहाडको थुम्कोमा समथर भूभाग। छेउमै हेलिप्याड पनि। सेतो माटोले लिपेको भुइँतलामै बार्दली रहेको एउटा घर। र ससाना बस्न मिल्ने टहराहरू। खप्तड बाबाको मूर्ति भने रहस्यमयी देखिन्थ्यो। एकदम मनमोहक। सोचिरहन मन लाग्यो, ‘यस निर्जन वनमा कसरी जीवनको कयौं वर्ष बिताउनुभयो होला उहाँले ?  के कुराले प्रेरित गरेको थियो होला ? ...’

सहस्त्रलिंगेश्वर महादेव, त्रिवेणी धाम खप्तड पुगेपछि अन्य नछुटाउने गन्तव्यहरू हुन्। घुमिसकेपछि जिन्दगीको एउटा बकेट लिस्ट पूरा भएकोमा हामी प्रफुल्ल थियौं। खप्तड आफंैमा एक संसार थियो जसको दर्शन नै एक मेडिटेसन भइदिन्थ्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.