धुकधुकीमा धुन

धुकधुकीमा धुन

एक साँझ भूपेन्द्र खड्काले ट्विट गरे, ‘तपाईंलाई कुन गीत सुन्न मन छ ? म बजाउँछु।’

मैले ट्विटमै रिप्लाई गरेँ, ‘पर लैजाउ फूलहरू।’

बाल्कोनीमा बसेर कान्तिपुर एफएममा सुन्न थालेँ, ‘छोपिदेउ तारा जून बन्द गर गीतहरू, तिम्रो याद आउने सबै चिजहरू।’

तिम्रो याद नआउने कुनै ठाउँ नै छैन

संगीतमा साँच्चिकै जादु छ। एफएम बन्द भइसकेपछि पनि मैले युट्युबमा त्यही गीत खोलेर बसेँ। रातको २ बजेसम्म फूललाई पर लैजान आग्रह गर्दै अनिदो बसेँ। कसैले नसारिदिएका ती फूलहरू ओइलाई पनि सके होलान।

डेनीको ‘रातो रानी फुलेझैं साँझमा’ले सधैं दिदीको याद दिलाउँछ। एउटा किस्सा छ। एक दिन मामाघरबाट घर फर्किंदै थियौं। रत्नपार्कदेखि लगनखेलसम्मको बसमा यही गीत बज्यो। हावाको चिसो बहावसँगै हामी दुवैले यो गीत गुनगुनायौं। घर आएपछि ‘टुंग टुंग’ भन्दै जोडले हाँसेका थियौं। त्यो टुङ टुङ स्मृतिमा गडेर बसेको छ। अहिले दिदी भारतमा छे। भारतका थुप्रै सहर घुमिसकी। तर अहिले पनि हामी भिडियो कल हुँदा ‘टुंग टुंग’ भन्दै हाँस्छौं। अहिले हाम्रो धेरै ठाउँ घुम्ने रहर पूरा भइसक्यो तर कान्छीलाई काठमाडौं घुमाउने रहर अझै बाकी छ।

‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रो प्रीतको पाप लाग्ने डर।’

मेरो गहिरो प्रेम जोडिएको छ यो गीतसँग। बात पनि लाग्यो, पाप पनि लाग्यो। गीतजस्तो कहाँ सरल छ र जीवन ?       

साइबरको याहु च्याट रुममा रुमल्लिँदा पृष्ठभूमिमा ‘पहिलो पिरती लाएको जीवनमा तिमीसँग’ गीत बजेको थियो। खै को को थिए ‘च्याट रुम’मा। यही गीत टाइप गरेर पठाएको थिएँ ‘यहाँ यो गीत बजिरहेछ’ भन्दै।

‘हाहा राम्रो गीत है ?  ’ उताबाट यस्तै रिप्लाई आएको थियो।

‘पहिलो पिरती’ कतै बज्दा अहिले पनि त्यही ‘साइबर लाइफ’ र तिनै अज्ञात व्यक्ति याद आउँछन्।

सामाजिक सञ्जालमा गीतका शब्द लेखेर ‘फलोवर्स’लाई वाक्क लगाउने बानी नै छ मेरो।

‘लोलाएका ती ठूला तिम्रा दुई नजर’जस्ता गीत त हजारौं पटक पोस्ट गरेँ हुँला। त्यस्तै गुलाम अलीकै ‘किन किन तिम्रो तस्बिर’ पनि धेरै पटक ‘सेयर’ गरेको गीत हो। मुटुभित्र कैद यी गीतहरू अरूले पनि मजस्तै गरी सुन्छन् होला ?       

सन् १९८० र ९० को दशकमा जन्मेकाहरू प्रविधि, कला, संगीत, फिल्म र राजनीतिमा आएका धेरै उतारचढावका साक्षी छन्। यो पुस्ताले पुरानो र नयाँ समय बराबर ढंगबाट नियालेको छ। टीभी नहुँदा घरमा झुन्डिएको रेडियो पनि सुनेको छ र यही पुस्ताले अनलाइनका पोडकास्ट पनि सुनेको छ। यही पुस्ता हो, जसले बाल्यकाल वा युवाकालमा ०४६ सालको आन्दोलन पनि देखेको छ र विदेशबाट रेमिट्यान्स पठाएर देश धानेको पनि छ। दसैं, नयाँ वर्षताका पोस्टकार्डमा भावना साटेको यो पुस्ताले अटो भर्ने र हाजमोलामा पाइने बलिउड हिरो÷हिरोइनका स्टारकार्ड किन्नेदेखि अनलाइन डेटिङसम्ममा रमाएको छ। यो पुस्ता भाग्यमानी छ— किनभने यसले अत्याधुनिक एनालगदेखि वायरलेस डिजिटल युगको स्वर्णिम काल चुमेको छ।

सीडी युगको सुरुआत अर्थात् नब्बेको सुरुमा जन्मिएकी म झन् यी बदलाव र संक्रमणहरूको प्रत्यक्षदर्शी हुँ। फिल्महरू बदलिए, साहित्य बदलिए, सँगसँगै देशको राजनीतिक अवस्थाले पनि रंग फेर्‍यो। इन्टरनेटको आगमनले त झन् संसारकै कायापलट गरिदियो। हरेक परिवर्तन देख्दादेख्दै, ती परिवर्तनसँग हुर्किंदा-हुर्किंदै संगीतसँगको स्मृतिले मलाई आज पनि उत्तिकै ऊर्जा दिन्छ।

रातको २ बजेसम्म फूललाई पर लैजान आग्रह गर्दै अनिदो बसेँ। कसैले नसारिदिएका ती फूलहरू ओइलाई पनि सके होलान्।

स्कुले जीवनमा अन्ताक्षरी खेल्दा ‘छ’ आउनासाथ नेपथ्यको ‘छेक्यो छेक्यो देउराली डाँडा’ गाउने परम्परा मास्टर्समा पिकनिक जाँदासम्म पनि चल्यो र अहिले पनि जीवितै छ। यसबीच देउराली डाँडामा धेरैपटक हुस्सुले छोपिसक्यो, धेरैपटक घाम लागिसक्यो र मायाको धुइरो कुन मोडबाट छुट्टिसक्यो। घरको गल्लीमा आएर ‘घरसे निकलते ही, कुछ दूर चलते ही, रस्ते मे हे उसका घर’ भन्ने गीत अझै गल्लीहरूमा जीवित छन्। मनका कुनाकन्दरा बाँचिरहेका छन्। र, आज पनि ‘बीफोरयू म्युजिक’मा जब यी गीत बज्छन्, स्मृतिले टपक्क टिपेर त्यही युगमा पुर्‍याउँछ।

गीतहरू ‘टाइम मेसिन’ हुन्। नत्र ‘उकालीमा अघि-अघि, ओरालीमा पछि-पछि’ बज्दा किन पुगिन्छ त्यही समयमा ?        र, हिँड्न मन लाग्छ उकालीमा अघि-अघि हिँड्ने त्यही मानिससँग ?        किन ममता दीपविनले ‘तिम्रो यादमा कल्पी-कल्पी छेउ भिज्यो सिरानीको’ गाउँदा उनी बसेको कोठामा गएर भिजेको सिरानी फेरिदिन मन लाग्छ ?        शम्भु राईले ‘मनको कुरा मनमै रह्यो’ भनेर गुनासो गर्दा किन चिठी ‘उनी’कहाँ पुर्‍याइदिन मन लाग्छ ?       

५० को दशकताका मेरो मामाघरमा दिदी, दाइहरू सँगै बसेर सञ्जय        श्रेष्ठको ‘माया मेरी माया, हाम्रो मिलन कहिले हुन्छ’ सुन्थ्यौं। हाम्रो सबैभन्दा मन पर्ने ‘एउटा गाउँ थियो खुसियाली थियो’ सायद गाउँतिरै हरायो। ‘देउरालीको चौतारी’ अचेल ब्याङवेट बनिसके होलान्। ‘जोमसोमै बजार’मा अहिले पनि बाह्र बजे सरर हावा चल्छ होला कि नाइँ ?       

कहाँ गए ‘मेरी ओकिली’वाला दिन ?        सधैं रमाएर डुली हिँड्ने ‘ओकिली’ कता पुगिन् होला ?        ‘ओकिली’लाई जिन्दगीमा बोलाउने ती गायक कता हराए ?        ‘सोल्टिनी भनी बोलाको सासू पो रै’छिन् नि लैऽऽलैऽऽ’ भन्दै हँसाउने गायक अचेल हँसाउन किन आउँदैनन् ?       

‘लेककी हे माया, मोहनी सबैलाई लगाउने’ राम्री माया कता घाँस काट्दै होलिन् अहिले ?        जब कर्ण दास ‘जिन्दगीको के भरोसा’ भन्दै गाउन थाल्छन्, तब किन लाग्छ जिन्दगीको क्षणभंगुरतादेखि डर ?        स्वरले साथ नदिए पनि ‘हाई-स्केल’मा तानेर ‘दुई आँखामा एकमा हाँसो, अर्कोमा रुवाइ’ भन्न किन मन लाग्छ र सम्झना आउँछ त्यो ‘टिनएज’ समय, जब जिन्दगीका गीत गाइन्थ्यो तर जिन्दगीको ‘ज’ पनि थाहा थिएन। अहिले लाग्छ— वास्तवमा कर्ण दास हामीलाई आउँदै गरेको जिन्दगीको लागि तयार गर्दै थिए।

उनकै ‘बिस्तारै छायो आँखामा अँध्यारो’ सुन्दा युद्धकालको त्यही समयमा पुगिन्छ, जहाँ कोही लडाकु मृत्युसँग लडिरहेको छ, संघर्ष गरिरहेको छ। ऊ परिवार छाडी अर्कै लोकमा जाँदै छ र अन्तिम पटक परिवारसँग बिदा माग्न खोज्दै छ। त्यति बेला यो गीत सुन्दा मुटु चिरिन्थ्यो, अहिले पनि चिरिन्छ। ‘कर्णप्रिय’ स्वर र गहिरो शब्दको जादुमय ‘फ्युजन’ले गर्दा कर्ण दासका गीत अमर छन्— मानिसको स्मृतिमा, ‘नोस्टाल्जिया’मा।

धीरज राईको ‘मिस्टेरियस गर्ल’को गीत नक्कल गर्दै ‘मिस टेरिस्का, मिस टेरिस्का’ भनेको अस्तिजस्तो लाग्छ। त्यति बेला कस्तो ‘कन्फिडेन्स’ थियो ‘मिस टेरिस्का’मा। ‘मिस टेरिस्का’ले कहिल्यै साथ छोडिनन्। ‘ब्रोसिस’ ब्यान्डले ‘नबोले नि माया लाग्ने रै’छ सान्नानी’ भन्दै गाउँदा आफूलाई सान्नानी साचेर दंग पर्ने ममात्रै थिइनँ होला। मोहन भुसाल दुःखी हुँदै ‘नलेख चिठ्ठी तिमीले मलाई’ गाउँदा धेरैलाई लेखेको चिठ्ठी नपठाऊँ नपठाऊँ लागेको थियो होला। नवीन के भट्टराईले ‘तिमीलाई म दोबाटोमा’ भनेर घाँटी फुलाउँदा आफूलाई पनि दोबाटोमा कुर्न मन नलागेको याद ताजै होला धेरैलाई। उनले ‘दोबाटो’मा नकुर्ने अठोट लिएपछि प्रायः दोबाटाहरू सुनसान भएका थिए होलान्। दोबाटाका रमझम घटेका थिए होलान्। उनले ‘साँझपख एकान्तमा’ गाएपछि सूर्यास्तको आनन्द लिँदै भावनामा डुब्ने एकान्तप्रेमीहरू पनि हुरुक्क भए होलान्। धन्यवाद नवीन ! पप गीतको मीठो स्वाद चखाइदियौ। ‘ब्लुज’लाई हाम्रो जीवनसँग गाँसिदियौ। यु आर अ लेजेन्ड !

त्यस्तो कुनै अन्ताक्षरी थिएन होला, जहाँ ‘कन्दरा’को गीत नबजेको होस्। ‘हिउँ त हैन फाप्रेको डंगुर’ भन्दै गाउँदा कर्ममा विदेश बोकेर हिँड्नेहरू मात्रै होइन, स्कुल पढ्ने हाम्रा आँखा पनि भिज्थे। ‘भीरको सुइँ भीरबाट सर्दैन, जाँ गए नि यो माया मर्दैन’ भनेर विवेक        श्रेष्ठले हङकङ-पोखरा पुर्‍याउँदा मन अमिलिएर गाँठो परेको हिजैजस्तो लाग्छ।

संगीतमात्र यस्तो विधा हो, जुन सीधै हृदयमा बस्छ। प्रकृतिको भाषा हो संगीत। खोलानालादेखि बतास, सुस्केरा, झरना सबै संगीतको भाषा बोल्छन्। कहिलेकाहीँ त लाग्छ— संगीतमात्र यस्तो एउटा चिज हो, जुन भ्रम होइन, सत्य हो। पवित्र सत्य। त्यसैले पनि मलाई संगीतसँग छुट्टै लगाव, आकर्षण र प्रेम छ। संगीत कहिले मलम बनेको छ, कहिले शीतल बतास। नीमा रुम्बाले ‘हुरी बतासझैं आउँछिन् उनी’ भनेर गाउँदा होस् या ‘नेपथ्य’ले ‘तालको पानी, माछीले खानी’ भनेर फ्युजन गाउँदा होस्— कोठामा एक्लै उफ्रेर नाच्दा सन्तोषको उत्कर्ष पाउँछु। बत्ती निभाई ‘झस्केर दुख्छ यो मुटु मेरो’ बजाउँदा त्यही धूनको काँधमा अडेस लागेर आँसु बगाएकी छु। निद्रा नलाग्दा नेपथ्यमा ‘उडेर जून छुन्छु भन्थेँ’ गुञ्जिन्छ। सकस हुँदा ‘हजार सपनाहरूको माया लागेर आउँछ’ले राहत दिइरहन्छ।

सायद घरमा बाबाको सांगीतिक माहोलले होला— ३ कक्षामा ‘दर्द भरे नगमे’ मन पथ्र्यो मलाई। सिँगान पनि आफैं पुछ्न नसक्ने उमेरका अरू बच्चाहरूले ‘ट्विंकल ट्विंकल लिटिल स्टार’ गाउँदा मेरो मुखमा ‘आखोमे निँदे ना दिलमे करार, मोहब्बत भी क्या चिज होती हे यार’ झुन्डिन्थ्यो।

बाल्यकालदेखि युवा अवस्थासम्म आइपुग्दा थुप्रै घटना भए जीवनमा। खुसीका पल आए। दुःखका पल आए। औषधिको थुप्रोबीच पुरिँदा धेरैपटक निस्सासिएँ। तर, जब रातिमा निद्रा लाग्दैन र छट्पटाहट हुन्छ, तब हतारहतार टुप्लुक्क आइपुग्छन् नारायणगोपाल। सायद नारायणगोपाल उनका       श्रोता एक्ला, दुःखी र अनिँदो भएको हेर्न चाहँदैनन्। त्यसैले झट्ट आइहाल्छन्। ननिदाउँदासम्म कहीँ जाँदैनन्। निदाए पनि त्यहीँ बसी गुन्गुनाइरहन्छन् बिहानैसम्म।

कार्टुनिस्ट दाइ राजेश केसी (फलानो)ले एकपटक गीतकार रत्नशमशेर थापालाई भनेछन्, ‘धेरैअघि एक पटक मध्यरातमा बजेको तपाईंको ‘नआऊ जून कोठामा राति मसँग लाडिन’ गीतले मलाई रातभरि रुवायो। छिमेकको रेडियोमा गीत बज्यो, झ्यालबाट छिरेको जूनको उज्यालो मतिर सर्दै सर्दै आयो।’

यो सुनेर रत्नशमशेरको आँखामा आँसु टल्किएछ। केही बेर भावविह्वल भएछन्।

फत्तेमानसँग पनि उस्तै भएछ। राजेश दाइले सुनाइदिएछन्, ‘काठमाडौंमा एकजनाले ‘मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिनँ’ गीत फर्माइस गरेकै रात आत्महत्या गरेछन्।’ यो सुनेर फत्तेमान धेरै भावुक भएका थिए रे !

नारायणगोपालले ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ गाउँदा मन अमिलो हुन्छ। झन् ‘म जे छु ठीकै छु’ भनेको सुन्दा पेमला भाउजूले भनेझैं नारायणगोपाल चोकमा गई उनको सालिकमा लुगा ओढाइदिन मन लाग्छ। लाग्छ— उनी गीतको माध्यमबाट भन्दै छन्, ‘म जे छु, ठीक छैन। मलाई सोध न, कहाँ दुख्छ घाउ।’

नारायणगोपालले जब आलापमा ‘मेरो घाउ, तिमी नहाँसे पो दुख्छ’ भन्छन्, हरेक पटक म निस्सासिन्छु।

नारायणगोपालका हरेक गीत सुन्छु म। तर ‘यो सम्झिने मन’ छ अझै पनि पूरा सुन्न सक्दिनँ। त्यसमा नमीठो पीडादायी स्मृति गाँसिएको छ। बाबा गुन्गुनाइरहनुहुन्थ्यो ‘हाई-स्केल’मा तानेर— ‘हेऽऽऽ जाने निठुरी।’ बाबाले गुन्गुनाउन छोडेको दुई दशकभन्दा बढी भयो। सायद त्यो लोकमा, त्यहीँको समय, युग र अस्तित्वमा गुन्गुनाइरहनुहुन्छ होला। यो गीत बज्दा बाबा सँगै भएको भान हुन्छ, सँगसँगै गुन्गुनाइरहेजस्तो। लाग्छ— यो विपना होस्। सम्झनाले किन पीडा नै दिन्छ— को भन्न सक्छ ?       

संगीतको कुनै जात, धर्म, भाषा हुँदैन। मेरो बाल्यकाल वा हाम्रो बाल्यकाल सबैखाले गीतसंगीतमा सुनेर बित्यो। म रफी, मुकेश, किशोर कुमार, लता, आशा, जगजित, चित्रा, अनुराधा, मेहदी हसन, अविदा परविन सबैका गीत गुन्गुनाउँछु। किशोर कुमारको ‘दर्द भरे नग्मे’ले मुटु छुन्छ। आरडी बर्मनले भनेजस्तै ‘हरेक पाँच सय वर्षमा जन्मिने’ आवाज हो किशोर कुमार। उनका गीतको कसरी वर्णन गर्नू ?        जीवन दर्शनदेखि वियोगसम्मका गीत, जुन जीवनका हरेक मोडमा कसै न कसै गरी जोडिन्छन्।

‘सावन जो अगन लगाए, उसे कौन बुझाए ऽऽऽ’

कति गहिरो भाव !

‘खिजाके फूल मे आती कभी बहार नही ऽऽऽ’

कति पीडादायी आत्मसमर्पण !

‘के मेरे दिल ने तडपके जब नाम तेरा पुकारा ऽऽऽ’

कस्तो गहिरो प्यास र प्रतीक्षा !

राजेश खन्ना, आरडी बर्मन र किशोर कुमारको त्रिनेत्रले ‘स्याड सङ’लाई साँच्चिकै सर्वसाधारणमाझ पुर्‍याए। किशोर कुमारले हरेक शब्द, हरेक धुनलाई जीवन्त बनाए। लता भन्छिन्, ‘किशोर दाले जस्तोसुकै गीत पनि सहजै गाउँथे, मीठो गाउँथे।’

उनी यो संसारमा छैनन् तर पनि कसले ठान्छ उनी छैनन् ?        उनको आवाज बन्द अँध्यारा कोठादेखि धुवाँ नै धुवाँले भरिएका भट्टीसम्म गुञ्जिन्छन् हरपल।

घरगृहस्थी छाडी ‘फकिर’ बन्न हिँडेको कोही मानिस ‘मुसाफिर हुँ यारो, ना घर हे ना ठिकाना’ भन्दै अञ्जान यात्रा गर्छ। र, वर्षौंपछि भेटिएका पूर्वप्रेमीहरू ‘तेर बिना जिन्दगीसे कोही सिकवा तो नही’को भावमा आँखा जुधाउँछन्। नारायणगोपालले झैं किशोर कुमारले पनि सुखभन्दा दुःखमा साथ दिन्छन्।

भारतमा कालजयी गायक, गायिकाहरूको कमी कहिल्यै भएन। आज पनि जब सार्वजनिक गाडीमा यात्रा गर्दा लता मंगेशकर गुञ्जिन्छिन्, मुकेश र मोहमद रफी गुञ्जिन्छन्, उदितनारायण र कुमार सानुका गीत बज्छन्— म उत्तिखेरै उडेर स्मृतिको गर्तमा पुग्छु। मन त्यस्तो अवशादमा फस्छ, जहाँबाट निस्किन मलाई घण्टौं लाग्छ।

सार्वजनिक गाडी, एफएम र युट्युबले जीवित बनाएका छन्, दशकअघिका गीतहरूलाई। उदित, कुमार, अल्का यागनिक र अनुराधा पौडेलका गीतहरू। ९० को दशक सकिन लाग्दा चम्किएका अभिजित र सोनु निगमका गीत। फाल्गुनी पाठकको ‘मेरी चुनर उड उड जाए’ बज्दा हातमा जुत्ता राखेर भिडियोमा जस्तै नक्कल नगरेका सायदै कोही छौं होला।

राजा हिन्दुस्तानीको ‘परदेशी परदेशी’देखि लिएर ‘मेरे जिन्दगीके मालिक’, ‘जादू भरि आँखो’, ‘आ कहीँ दूर चले जाए हम’, ‘तुझे याद ना मेरी आयी, किसिसे अब क्या कहेना’ गीतले किन मलाई टपक्क टिपेर अर्कै लोकमा पुर्‍याउँछन् ?        ‘कुछ कुछ होता है’ फिल्मको ‘तुझे याद न मेरी आयी’मा काजोलको चरित्र सम्झिँदै आँसु बगाउँदा म ५ कक्षामा पढ्थेँ। ‘प्यारके लिए चार पल कम नही थे’ सुन्दा कति ‘इमोस्नल’ हुन्थेँ !

संसारका हरेक कुरा परिवर्तनशील छन्। अस्तित्वमा हुने सजीव, निर्जीव सबै प्राणी, वस्तु परिवर्तनबाट गुज्रिन्छन्। संगीतमा पनि परिवर्तन आएको छ। अझ भन्दा कायापलट नै भइसक्यो। दुःखको कुरो— संगीतको मिठास समयसँगै घट्दै गएको छ। मेरी बहिनीलाई रफीको गीत सुनाउन खोज्दा नाक खुम्च्याउँछे। ‘दिदी, प्लिज बन्द गर्नू न’ भन्छे। ‘नो नो नो’ भन्छे। जरुरी छैन— मलाई जुन मन पर्‍यो, नयाँ पुस्तालाई पनि त्यही मन परोस्। सबै नयाँ पुस्ता पनि त्यस्ता छैनन्। ऊसँगैकी अर्की आफन्त बहिनीले लताको ‘लगजा गले’ र अरुणा लामाको ‘पोहोर साल खुसी फाट्दा’ एकदम डुबेर गाउँछे। तर, अहिलेका गीतहरू सुन्दा लाग्छ— के यी पनि ‘पोहोर साल’जस्तै कालजयी होलान् ?        मेरा आफ्नै भाइबहिनीले सुन्ने गीत यस्तो छ, ‘ए बुडी, म मान्छे निकै रिसाहा अनि मुडी ऽऽऽ’

एक पटक अनिल सिंह र सुगम पोखरेल यसैगरी हामी नयाँ पुस्तामाझ गुञ्जिएका थिए। सुगम अझै पनि उत्तिकै जोशका साथ गुञ्जिँदै छन्। अनिल सिंहको ‘प्रेमपत्र’ र ‘इन्जिन गाडीमा’ नसुनेका हामीमध्ये सायदै कोही होलान्। सुगमको ‘फेरि त्यो दिन सम्झन चाहन्नँ’ नसुन्ने युवा लगभग कोही छैनौं। अहिले म त्यही दिनहरू सम्झिरहेछु, जब बिहान म निदाइरहेकी हुन्थेँ। क्यासेट प्लेयरमा कि अनिल सिंहको कि नवीन के भट्टराईको गीत बजाउँदै मेरो दिदी कलेज जान तयार हुन्थी। अनि निदाइरहेकी मलाई सुनाउँथी, ‘अस्ति नि, त्यो अर्को क्लासकोले मलाई ‘शायद तिमी नै हो मेरो दिलको धड्कन’ भनेर जिस्क्याउँदै थियो।’

अहिले मेरी बहिनी कलेज जान तयार हुँदा मोबाइल देखाउँदै यस्तै कुरा सुनाउँछे, ‘मलाई हिजो पनि कलेजको कन्फेसन पेजमा कसले जिस्क्याउँदै थियो। हेर्नू न।’

भाषा जुनसुकै होऊन्— मेरो समयका गीतले सीधै मुटुको यात्रा गर्थे, निस्किने बाटो भुल्थे। कैद हुन्थे स्मृतिभित्र, भावनाभित्र र संवेदनाभित्र। लाग्छ— अचेलका गीत-संगीत ‘रुड’ भएका छन्। मनभित्र छिर्दै नछिरी निस्किन्छन् र निमेषमा अलप भएर हराउँछन् कतै। उनीहरूलाई किन बस्नु छैन मानिसको हृदयमा ?        स्मृतिभित्र अटाउन सकेनन् भने कसरी हुनेछन् ती अमर ?        कसरी गुञ्जिनेछन् दशकौंसम्म ?       

राजेश दाइले एकपटक यस्तै प्रश्न अम्बर गुरुङलाई गरेछन्। उनले भने रे, ‘संगीत साधना हो, सिर्जनशीलता हो, लगाव हो। अहिले सिर्जनशीलता हराउँदै गएको देखिन्छ तर यो क्षणिक हो। कुनै दिन कतै अवश्य जन्मिन्छ।’

सायद यसमा हाम्रो पुस्ता दोषी छ। हाम्रा अग्रजहरूले सुम्पेको जिम्मेवारी हामीले लिन सकेनौं। हामीले भुलिसक्यौं— युट्युबका कभरहरूमा संगीतको मिठास। सस्ता रिमिक्स र अवैधानिक रिमेकहरूले मारिसके वास्तविक गीत र सर्जकलाई। न अहिले पुरानो समयजस्तो अन्ताक्षरी खेलिन्छ। तिनै चलेका गीतलाई खियाउनुसम्म खियाइएको छ। नयाँ सिर्जना गर्नेहरूको ठाउँ नै छैन। दोहोरीको ठाउँ ‘दोहोरी ब्याटल’ले लिएको छ। यी सबै परिवर्तनमाझ पीडित भएको छ त केवल संगीत। पहिले संगीत साधना थियो, अहिले व्यापार भएको छ।

हुन त अहिले पनि आक्कल-झुक्कल राम्रा गीत आउँछन्। तर, ती कालजयी हुँदैनन्। यत्तिकै हराउँछन्। नयाँ पुस्तामा आशालाग्दा प्रतिभाहरू पनि छन्। जस्तैः कालीप्रसाद बाँसकोटा, बर्तिका राई, विपुल क्षेत्री, सज्जनराज वैद्य आदि। उनीहरूका सिर्जनाले नयाँ पुस्तालाई आकर्षित गरिरहेको छ। संगीतको बेग्लै स्वाद पस्कन उनीहरू सफल छन्। तर, उनीहरूको सांगीतिक योगदान अझै हेर्न बाँकी छ।

संगीत बजारका लागि मात्र होइन। बजारको माग त जे पनि हुन्छ। बजार बहुमत हो। बहुमत सधैं सही हुँदैन। बहुमतलाई सधैं सही-गलतको भेउ पनि हुँदैन। वास्तवमा संगीत भविष्यका लागि पनि हो। आउँदै गरेको पुस्ताका लागि हो। उनीहरूका लागि हामीले के दियौं त ?        के उनीहरू रिमिक्स सुनेर ‘नोस्टाल्जिक’ हुन्छन् ?        सायद होलान् पनि। तर, कस्तो गीत ? कस्तो बोल ?  कस्तो भाव ?       

दुर्गेश थापाको ‘तिम्रो एक्स मेरो वाई मिक्स् गर्न छ, साना साना भन्ट्याङ भुन्टुङ फिक्स गर्न छ’ सुनेर ?       

सरी योङ जेनेरेसन ! वी फेल्ड यु !   @RisalShiksha


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.