यस बखतको नेपालमा ‘त्यस बखतको नेपाल’

यस बखतको नेपालमा ‘त्यस बखतको नेपाल’

सरदार भीमबहादुर पाँडेले लेखेको ‘त्यस बखतको नेपाल’ (पाँच भाग)लाई राजनीतिज्ञदेखि कूटनीतिज्ञ, लेखकदेखि चिन्तक, शोधार्थीदेखि विद्यार्थीसम्मका हर पाठकले सिफारिस गरेका छन्।

भीमबहादुरले आफ्ना पिता रणवीरको नाममा ५७ वर्षअघि आफ्नो पुख्र्याैली थातथलो स्याङ्जाको खहरे बस्तीमा स्कुल खोलेका थिए। अहिलेको स्मार्ट सिटीमा त्यहाँ पुस्तकालय पनि छ तर ‘त्यस बखतको नेपाल’ छैन। छैन मात्र होइन, हालखबर चिन्ताजनक छ। प्रस्तुत छ, उही पुस्तकालयको आत्मकथा :

म नेपालका प्रख्यात सरदार भीमबहादुर पाँडेले आफ्ना बुवा कप्तान रणवीरको नाममा खोलेको स्कुलभित्रको पुस्तकालय हुँ। उनी तिनै सरदार हुन्, जसले ‘त्यस बखतको नेपाल’ लेखेका थिए।

अघिल्लो सालको चैतको घमाइलो दिन स्कुलको पहिलो घन्टी बज्नुअघि मेरो बन्द ढोका खोलियो। म निकै दिनदेखि घामको प्रतीक्षामा थिएँ। ढोकापछि झ्यालहरू खुले। लस्करै मिलेका टेबल, कुर्सी र पुस्तकहरूले लामो समयपछि उज्यालो स्पर्श पाए।

त्यसपछि कहिल्यै नदेखेको एउटा जवान केटो फराकिलो कोठाभित्र छिर्‍यो। ऊ छिर्नेबित्तिकै भित्ताका तीनतर्फका कुनामा राखिएका र्‍याकहरूमा आँखा दौडायो।

०००

ऊ टेबल र कुर्सीमा टाँसिएको धुलोलाई औंलाले पुस्छ। कोठाको यताउति निकै बेर चहार्छ, तर र्‍याकबाट पुस्तक झिक्ने कुनै हतार गर्दैन।

मलाई भेट्न आउने जोकोहीलाई जहिले हाँसेर स्वागत गर्छु। केटोलाई पनि मैले मुस्कुराएर स्वागत गरेँ। यसरी भित्रभित्रै प्रसन्न भएर स्वागत गर्ने क्षण मेरा लागि विरलै आउँछ।

— सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ छ ?

केटोको पहिलो वाक्यले नै मलाई खिन्न पार्छ। निराश हुँदै ‘छैन’ भन्छु। यसो भनिसकेपछि एकै छिन अगाडिको मेरो मुस्कान हराउँछ।

०००

सरदारलाई मैले नामबाट मात्रै चिनेको हुँ। उनी हाम्रो रणवीर जनहित उच्च माविका संस्थापक अध्यक्ष हुन्। स्कुलको वार्षिक कार्यक्रममा सधैं उनको गुनगान गाइन्छ। उनै सरदारका छोरा पृथ्वीबहादुर पाँडेलाई भने मैले देखेकोे छु। मेरो जन्ममा उनको लगानी छ, त्यसैले उनी मेरा पिता हुन्। म १४ वर्षको भएँ। रणवीर जनहित उच्च मावि मभन्दा ४३ वर्ष जेठो हो।

अर्मादी खोलाको तरेली परेका फाँट सकिनेबित्तिकै खहरे बस्ती सुरु हुन्छ। बस्तीकै आडमा मेरो स्कुल छ। मेरो स्कुलमाथि र भिरालो पहाडभन्दा तल भीमबहादुर जन्मेका हुन्। उनको घर र जमिन अझै यहीँ छ।

खहरे बस्ती वालिङ नगरपालिकाभित्र पर्छ। वालिङलाई हालसालै स्मार्ट सिटी घोषणा गरेपछि खहरे पनि स्मार्ट भएको हो। सिटीलाई स्मार्ट बनाउन धूमधामले अनेक कार्यक्रम लागू भइरहेका छन्। त्यसमध्ये सबभन्दा देखिने गरी स्मार्ट भएका छन् यहाँका घरहरू। नगरप्रमुखले घरहरूमा पिंक रङ पोतिनुपर्ने प्रावधान अघि सारेकाले खहरेको रङ पिंकमा बदलिँदै छ।

म पनि बदलिएर स्मार्ट पुस्तकालय भएको छु। स्मार्ट छु तैपनि यस बखतको खहरेमा ‘त्यस बखतको नेपाल’ छैन। यसो भन्दा मलाई सकस भइरहेछ। र, त बेस्कन झोक चलिरहेको छ। यही झोक र सपनाको कथा आज मलाई पोख्न मन छ।

०००

कथाको सुरुआत गरौं सरदार भीमबहादुर पाँडेबाट। मेरो जन्म हुनुअघिदेखि नै उनीसँग जोडिएको छु। म उनकै जमिनमा छु। सरदार यही गाउँमा खेली हुर्केका हुन्। पछि काठमाडौं हुँदै कलकत्तासम्म पुगेर निकै पढे। उनले १९८९ सालदेखि निजामती कर्मचारी भएर काम गरेका थिए। विभिन्न सरकारी विभागका हाकिम भए। पश्चिम जर्मनी र भारतको आवासीय राजदूत भएका थिए, उनी।

२०२० साल आसपास यही गाउँका कोही पढेगुनेका योग्य मान्छे भेटे सरदारले तानेर बैंक र सरकारी अड्डामा नोकरी लगाइदिन्थे रे। अझै पनि सरदार भीमबहादुर भन्नेबित्तिकै यहाँका बूढापाकालाई अग्लो कद, गोरो हँसिलो अनुहार र हरियो जिपको झल्को आउँछ। उनी बेलाबेलामा आक्कलझुक्कल गाउँमा आउँथे रे।

२०३२ सालतिर चाहिँ सरदार गाउँमा धेरै दिन बस्ने गरी आएका थिए। त्यस बखत खहरेका किसानसँग उनले मज्जाले बात मारेका थिए रे। मलाई लाग्छ, उनी त्यस बेला ‘त्यस बखतको नेपाल’ लेख्दै थिए।

भनिन्छ, २०३२ सालकै हाराहारीमा खहरे गाउँको उत्तर फर्केका भिरालो पहाडमा भीमबहादुरकै सुझावअनुसार फाट्टफुट्ट सुन्तला लगाइएको हो। त्यसताका सिद्धार्थ राजमार्ग बनिसकेको थियो। खहरे बस्ती सिद्धार्थ राजमार्गबाट एक किलोमिटर भित्र पर्छ। राजमार्गले मानिसलाई मात्र होइन सुन्तलालाई पनि पोखरा र बुटवलसम्म पुर्‍याइदिन्थ्यो। अहिले यहाँको सुन्तला काठमाडौंसम्मै पुग्छ।

उनकै किताबअनुसार सरदारले ‘त्यस बखतको नेपाल’ आफूले जाने, बुझे, देखे र सुनेका कुरालाई अक्षरमा सुरक्षित राख्न लेखेका थिए। उनले लेखेका छन्, ‘हिजो भएका हाम्रा खास काम कुराहरू आजका बूढापाकाले भोलिका पिँढीलाई लेखेर छाडिदिए भने इतिहासको त्यान्द्रो चुँडिँदैन र नेपालका भावी सन्ततिहरू पुरानो कुराबारे कुइराको कागजस्तै बन्न पर्दैन भनेर यो स्मरण लेखेको हुँ।’

पाँच भागमा विभाजित उनको यो संस्मरणात्मक संग्रह २०३८ सालमा छापियो। पुस्तकको पहिलो भागको खण्ड १ मा आफ्नो गाउँ खहरेको पिँडी शिक्षा, गोठाले जीवन, खान्की र बान्की, रीतिरिवाज र सुखदुःख वर्णन गरेका छन् उनले। यहीँको हावापानी र जनजीवनको बखान गर्ने किताब यहीँका सरदारले लेखे। उनको खलकका यहाँ बाँकी रहेका सात घरसँग पनि यो किताब छैन भन्ने कुरा बताउँदा सरम लागिरहेछ आज।

खहरेबाहेक किताबमा १९७९ देखि २०३८ सालसम्मको समग्र नेपालकै व्यवस्थाका अन्तरकुन्तर केलाइएको छ। थरीथरीका चाकरी गर्ने शैलीदेखि त्यस बेलाको चाखलाग्दा कामकुरा र अड्डाका किस्साहरू पनि यसमा अटाएका छन्।

अहिलेको नेपालले पुरानो नेपालबारे तथ्यसहितको सत्य कुरा थाहा पाउन जानिफकारहरू यो सबैले एक पटक पढ्नैपर्ने पुस्तक हो भन्छन्। यस्तो भन्नेमा नेपालका गन्यमान्य प्राध्यापक, लेखक, पत्रकार, अनुसन्धातादेखि प्रशासकहरू पर्छन्। मुलुकभरिकालाई त म भन्न सक्दिनँ तर खहरेका पाठकले कमसेकम पहिलो भागको खण्ड १ मात्रै भए पनि हेरिदिऊन् भन्ने मेरो घिड्घिडो छ। हुन त म जाबोलाई लागेर के नै पो हुन्छ र !

खहरेमा मेरो आफ्नै स्थिति नाजुक छ। अभैm यहाँ पर्याप्त खानेपानीको अभाव छ। दुई किलोमिटरको बाटो पार गरेर वालिङ बजार पुग्न गोटाको ५० रुपैयाँको दरले तीनपांग्रे ट्याम्पुलाई भाडा बुझाउनुपर्छ। यहाँका अरू पनि थुप्रै आधारभूत आवश्यकता पूरा भएका छैनन्। कसरी घरमा पिंक रङ पोतेर खहरे स्मार्ट हुन्छ त ?        यसरी स्मार्ट सिटी बनाउने सतही कुराले मलाई नमज्जा लागिरहन्छ अचेल।

मेरो सुरुआतका धेरै दिनसम्म पुस्तक राख्ने दराज खाली थिए। पुस्तकालयजस्तो देखिनलाई पनि त पुस्तक चाहियो। अनि गाउँभरि पुस्तकको खोजी हुन थाल्यो। गाउँका सरकारी जागिरेले आपूmले पढेर थोत्रो बनाएका नायब सुब्बा ज्ञान भण्डारदेखि खरिदार दिग्दर्शनसम्मका लोक सेवावाले पुस्तक ल्याएर मलाई दिए। त्यसै स्याङ्जालीहरू सरकारी जागिरे भएका होइनन्।

पुरेतले वेद र पुराणका किताब ल्याए। धनी कसरी बन्ने ?  र, धनी हुने सूत्र बताउने पुस्तक पनि मसँग छ। कोर्सबुक बेच्ने पसलेले उसको गोदाममा भएको स्टक किताब र गेसपेपर मलाई सित्तैमा दिए। यसरी पाएको कोर्सबुक र गेसपेपरले मेरो पछाडिपट्टिको भित्ताको दराज ड्याम्म भरिएको छ। अनि बल्ल मेरो अनुहार पुस्तकालयजस्तो देखियो। मेरो हेरचाह गर्ने एक जनामात्र शिक्षक छन्। तिनलाई स्कुलका कक्षा लिएरै फुर्सद हुँदैन। बिहानदेखि बेलुकासम्म कक्षा कोठाभित्र मार्कर चलाइरहेका हुन्छन्। सरदार भीमबहादुरबारे स्कुलका अरू शिक्षकले सोधिखोजी गरेको पनि मलाई उतिसाह्रो थाहा छैन। शिक्षकले नै त हो, सरदारलाई यस ठाउँमा चिनाउनुपर्ने। उनको बारेमा बताउनुपर्ने। अनि न सरदारले के लेखे, कसो लेखे होलान् भन्ने जिज्ञासा विद्यार्थी, शिक्षक र अभिभावकमा पैदा हुँदो हो।

अघिल्लो वर्ष बल्लबल्ल उनै शिक्षकले फुर्सद निकालेर केही पुस्तक किने। पुस्तक किन्ने थोरै रकम टीका स्मृति कोष र एसिया फाउन्डेसनबाट आएको थियो। त्यही पैसाले बालबालिकाका लागि चित्रसहितका नेपालका परम्परा, जात्राका कथा र चार्डपर्व चिनाउने किताबहरू किनियो। चाल्र्स डार्विनको जातिहरूको उत्पत्तिको कहानी पनि आयो। र, आयो केही थान नेपाली आख्यान र गैरआख्यानहरू।

पल्पसा क्याफे, हामी आमाबुवा, बत्तीमुनिको उज्यालो, भुइँया, चीरहरण, लिम्बुनी गाउँ, शुक्रराज शास्त्रीको चस्मा र अरू पनि पुस्तक पुस्तकालयमा त आए। तर, यी पुस्तकहरू अझै नयाँ छन्। मैले त्यस बखतको नेपाल पनि किन्न खोजेको हुँ। कतै पाइएन। पुस्तक भएपछि म खुसी हुन्छु भन्ठान्थेँ। अहिले अलिकति पुस्तक कनिकुथी जम्मा पनि गरेँ, तर मनमा रत्तिभर सन्तुष्टि छैन।

आक्कलझुक्कल आउने विद्यार्थी पुस्तकका गाता ओल्टाइपल्टाइ गर्छन्। यहाँका विद्यार्थीदेखि अभिभावक सबैमा १२ कक्षा पास गरेपछि कि त लाहुर जानुपर्छ, कि त सामान्य ज्ञान घोक्नुपर्छ भन्ने मनोविज्ञान छ। अरू फाल्टु पुस्तक पढ्दा कोर्सबुक घोक्ने समय बर्बाद हुन्छ रे। कोर्सबुक घोक्न पनि गाह्रो लाग्ने विद्यार्थीका लागि सुविधास्वरूप मसँग गेसपेपर पनि छँदै छ।

०००

मेरो अहिलेको खहरे सहरको अनुभव र सरदार भीमबहादुरले त्यस बखतको खहरेगाउँका बासिन्दालाई सोधपुछ गरी लेखेका कुरा ठ्याक्कै मिल्छ। उनी लेख्छन्, ‘त्यस बखत गाउँघरमा पुस्तक उस्तो थिएनन् र पुस्तकी ज्ञानको महत्व पनि उति थिएन। गाउँमा दुईचार पढेका मानिस छन् भने कर्मकाण्ड चलाउन र अड्डाबाट आएको खेस्रो टाँसपुर्जी पढ्नलाई पर्याप्त सम्झिइन्थ्यो। पठितले गर्ने काम पनि अति सीमित हुँदा पढेर आफ्ना गुजारा चल्न सक्तछ भन्ने विचार गाउँलेहरूमा पटक्कै थिएन।’ (पहिलो भाग)

उनले यस्तो लेखेको निकै समय भयो। खहरे नै गाउँबाट सहरमा परिणत भइसक्यो। तैपनि खहरेको पुस्तकको कथा अझै उस्तै छ। त्यही भएर त मलाई झोक चल्छ।

असल समाज बनाउन के चाहिन्छ ? मै उत्तर दिन्छु। यसको उत्तर सजिलो हो ‘ज्ञान’। र, पुस्तकालय नै ज्ञानको संग्रहालय हो। मेरो सपना छ, यहाँ समाजका विभिन्न क्षेत्रका पुस्तक, जर्नल र पत्रिकाहरू भेटिऊन्। विद्यार्थीमात्र होइन खहरेका फाँटमा गोलभेडादेखि काँक्रो उमार्ने किसानहरू माटोको सुगन्धसँगै आऊन्। शान्तसँग पढून्। पढेको कुरालाई एकआपसमा छलफल पनि गरून्।

विद्यालय र पुस्तकालय अनुभव र सिकाइ साट्ने ठाउँ बनोस् भन्ने मेरो सपना धेरै ठूलो भएजस्तो लाग्दैन। तर, स्मार्ट सिटी बन्न कस्सिएको वालिङमा मेरो सानो सपनाको कुनै अर्थ छैन।

जनता पठित भए भने राजकाज चलाउन कठिन हुन्छ भन्ने राणा र पञ्चका पालाका थोत्रो धारणा अहिलेको संघीय सरकारले पनि पालिरहेकै छ। यस्तोमा स्थानीय तह त संघीय सरकारको फगत छाया न हो।

- @dhakal_rabindra समाजशास्त्रमा स्नातकोत्तर हुन्। उनी डुल्न, पढ्न र लेख्न मन पराउँछन्।


र, यो पनि...

बुवा आठ वर्षको उमेरमा खाली खुट्टा स्याङ्जाको खहरे गाउँबाट पैदलै काठमाडौं पढ्न आउनुभएको थियो रे। शिक्षाकै जगमा उहाँको जीवन अगाडि बढेको हो। शिक्षाको विस्तार आममानिसको दैलोसम्म पुग्नुपर्छ भन्ने कुरामा उहाँको विश्वास थियो। त्यसैले २०१९ सालमा हजुरबुवा रणवीरको नाममा आपूm जन्मेको खहरे गाउँमा विद्यालय स्थापना गर्नु भयो। उक्त विद्यालय बनाउन आफ्नो १९ रोपनी जमिन दिनुभयो।

शिक्षाले नै समाज परिवर्तन गर्छ भनेर हामीलाई सधैं बताउनुहुन्थ्यो। पुस्तकालय शिक्षा विस्तार गर्ने माध्यम हो। त्यसैले पछि हामीले उहाँले स्थापना गरेको विद्यालयमा पुस्तकालयको व्यवस्था गर्‍यौं। तर हाम्रो पुस्तकालयको स्थितिबारे तपाईंले बताउनुभन्दा अगाडि मलाई यस्तो हालतमा छ भन्ने थाहा थिएन। तपाईंलाई धन्यवाद।

उहाँका थुप्रै काममध्ये मलाई असाध्यै महत्वपूर्ण काम ‘त्यस बखतको नेपाल’ हो भन्ने लाग्छ। के के कारणले यसलाई सर्वसुलभ बनाउन सकिएको थिएन, अब हामीले फेरि छापेका छौं। पुनप्र्रकाशनबाट पाइने रकमको १० प्रतिशत हामी रणवीर जनहित उच्चमाविको शैक्षिक गतिविधि र पुस्तकालय व्यवस्थापनमा खर्च गर्नेछौं। उहाँको पुस्तकबाट आएको रकम शिक्षाको विस्तारमा नै खर्च होस् भन्ने मेरो इच्छा छ। अनि, बुवाले लेख्नुभएका यसका सबै भाग स्कुल र पुस्तकालयमा उपलब्ध गराउने नै छौं। -हिमालय पाँडे, छोरा

‘त्यस बखतको नेपाल’ धेरै नै खोजी भएको तर बजारमा नपाइने पुस्तक थियो। यो हाम्रो समाज हेर्ने ऐतिहासिक दस्तावेज हो। प्राज्ञिक महत्वको यो किताब हरेक पुस्तकालय र समाज बुझ्न चाहने पाठकको पहँचमा सहजै हुनुपर्छ भन्ने मलाई लाग्छ। यही चाहनाले नै पुस्तकलाई पुनप्र्रकाशन गर्नुपर्छ भन्ने ऊर्जा मिलेको हो। परिवारसितको सल्लाह, स्वीकृतिमा केही सम्पादनसहित हामीले पाँच भागमा लेखिएको चार ठेली छापेका छौं। पुस्तक भोलि आइतबारदेखि बजारमा पाइनेछ। 

कुमार ढकाल, फिनिक्स बुक्स


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.