पिताको मुख हेर्ने दिन
चार बाई आठको फ्रेमभित्र
एउटा पोट्रेट
आफ्नो सुदूर भविष्यप्रति चिन्तन गर्ने आँखा
सदैव गम्भीर रहने अधर
जीवनमा कुनै पनि मोह नरहने भावयुक्त अनुहार
यो मेरो पिताको छविचित्र हो।
यति बेला
पातलो काठको चौघेरामा पृष्ठित भएर
मानौं हेरिरहेका छन् आफ्ना सन्ततिहरूको जीवनभोगाइ
त्यहीँनिर उभिने गर्छिन् मेरी माता
आफ्ना जीवनयात्रीको लामो प्रस्थानको अनगन्ती अज्ञात प्रश्न लिएर
किन यसरी एक्लै जीवन भोग्नुपर्ने अथाह भुमरीबीच
किन छोडेर जानुपर्ने आफ्नो अर्धअंगलाई
किन कुनै तारतम्य नमिलाई वंशजको क्रममिलान छोडेर गएको
यस्तै र यीजस्ता अनेक प्रश्नको शूल लिएर उभिएपछि
बोध हुन्छ छविचित्रले भन्ने वाक्यांश
मान्छे भएपछि भोग्नुपर्ने यस्तै अनागत स्थिति
बाँचुन्जेल भोग्नै त पर्छ नि !
अनि त्यहीँतिर आफ्ना आगामी वंशजहरू उभिएर गरिरहेका प्रार्थनालाई
सम्बोधन गर्दो हो
मलाई यसरी काठको चौघेरामा हैन
तिमीहरूका हृदयमा राख्नू
र सम्झनू आफ्ना पिताका ती अतीव अतीतका कठोर भोगनीहरू
किनभने आज म जहाँ छु झुन्डिएर रहेको
हिजो मेरा पुर्खा थिए
अनि भन्नै पर्दैन भोलि त्यहाँ तिमीहरू हुनेछौ
पिताको मुख हेर्ने दिन
सानो किलामा झुन्डिएर रहेको उनको छविचित्र
त्यसैको मुनि उभिएका अनुज वंशज
आज पनि पिता आफ्नो छविचित्रमा गम्भीर नै देखिन्छनथाहा छैन उनको यो गम्भीर मुहार र छविचित्र
एउटा सानो किलाको भरमा कति युग
यसरी नै झुन्डिरहने हो स्मृतिका असंख्य जंगल बोकेर !