थ्री थाम्सुहाङ
इलामका तीन थाम्सुहाङ दाजुभाइ वसन्त, हाङयुग र प्रकाश। तीनैजनाको एउटै छ— रुचि, रहर, पेसा भनौं न— कर्मक्षेत्र। लेखपढको संसारका यी तीन तारा। नेपाली गीत, संगीत तथा साहित्यको क्षेत्रमा यी तीन नाम चर्चित छन्। इलाममा रहे पनि यिनीहरूको पुख्र्यौली थलो हो, पाँचथरको याङनाम।
वसन्त मूलतः गीतकार हुुन्। गरिमा, नागरिक, अन्नपूर्ण पोस्ट्देखि विभिन्न पत्रपत्रिकामा फुटकर कविता प्रकाशित छन्। उनले २०६८ सालमा पहिलो गीतिएल्बम ‘अवशेष’ र २०७५ सालमा दोस्रो एल्बम ‘यायावर’ निकालेका थिए। उनी गीतकार संघ नेपालबाट ‘चन्द्रमुखी’ बोलको गीतमार्फत २०७५ सालको वर्षगीत पुरस्कारले पुरस्कृत भएका थिए। उनका चालीसवटा जति गीत रेकर्ड भइसकेका छन्। उनी रुमानी सिर्जना गर्न मन पराउँछन्। वसन्त स्वयंलाई पनि आफ्ना सिर्जनामध्ये चन्द्रमुखी गीत खुब मन पर्दो रहेछ।
२०४७ तिर पाँचथरबाट निस्कने नीलिमा साहित्यिक मासिकको सम्पादन गर्थे, वसन्त। कवि हुनुअघि वसन्त चित्रकार पनि थिए।
प्रकाश थाम्सुहाङ कविता लेख्न बढी रुचाउँछन्। निबन्ध र समीक्षा पनि लेख्छन्। उनले ‘पालामको मुर्छना’ नामक कवितासंग्रह ल्याएका छन्। पचासको दशकको अन्त्यतिर लेख्न सुरु गरेका उनले ‘सिर्जनशील साहित्य’, ‘आकृति’लगायत अन्य साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका छन्। नेपाली लेखक संघ, केस याक्थुङ लेखक संघका अध्यक्ष रहेका उनी चिन्तनलाई व्यवहारमा लागू गर्र्न हाल कृषि पेसामा संलग्न छन्। उनको विचारमा ‘साहित्य समाजप्रति उत्तरदायी भएर लेखिनुपर्छ। कविताले भुइँमान्छेको आवाजलाई सम्बोधन गर्नुपर्छ।’ प्रकाश भर्खरै दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन्।
इलाममा एकै परिवारका तीन दाजुभाइको उही साहित्यिक-सांगीतिक अवतार रमाइलो छ।
२०५७ सालमा पहिलो कवितासंग्रह ‘रंगीन आविष्कार’ प्रकाशन गरेका हाङयुग अज्ञातले त्यसपछि ‘ढुंगामुढाको मन’ (२०५८), ‘करङको हिरासत’ (२०५९), ‘आधारातको तङसिङ’ (२०७२) गरी चारवटा कवितासंग्रह निकाले। उनका दुई गीतीएल्बम ‘संवाद’ र ‘आभार’ बजारमा आएका छन्। उनले २०५४—०५६ मा ‘रूपरेखा साप्ताहिक’मा साहित्यिक स्तम्भ पनि लेखे।
नेपाली साहित्यमा सिर्जनशील अराजकताको आन्दोलन छेड्ने नेतादेखि कार्यकतासम्मका त्रयमध्ये यी एक हुन्। राजन मुकारुङ र उपेन्द्र सुब्बा अरु दुई ‘अराजक’ हुन्। हाङयुगले नरेन्द्रराज प्रसाईंहरूले नेपाल सरकारमार्फत वितरण गरेको भानु द्विशतवार्षिकी पदक अस्वीकार गरेका थिए। ‘किन अस्वीकार गर्नुभयो ? ’
उनी भन्छन्, ‘हङकङमा मभन्दा पुरस्कार पाउनलायक अन्य व्यक्तिहरू थिए। उनीहरूले त्यहाँ नेपाली भाषा र साहित्यका लागि लामो समयदेखि काम गरिरहेका थिए। उनीहरूले पाउनुपर्ने पदक मलाई प्रदान गर्ने निर्णय गरेपछि अस्वीकार गरेको हुुँ।’ उनको विचारमा साहित्यले जीवन र जगत्को अनुकरण मात्र गर्दैन, डोहो¥याउने काम पनि गर्छ। उनी उत्कृष्ट गीतकारका रूपमा भर्खरै पुरस्कृत पनि भएका छन्। आफूले लेखेका कवितामा मन पर्ने कुन हो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘राम्रो कविता अहिलेसम्म लेख्न सकेकै छैन। अब लेख्ने प्रयास गर्दैछु।’ यद्यपि उनी आफैँलाई प्रिय लाग्ने कविता ‘ए मेरो हजुर’ हो।
अज्ञातको अबको यात्रा अज्ञात छैन, उपन्यास लेखनतिर छ। सिर्जनशील अराजकताबारे धेरै ठूलाबडालाई समेत भ्रम रहेको खबर उनलाई ज्ञात छ। त्यसैले अब उनी आफ्नो अराजक आन्दोलनबारे अवधारणात्मक पुस्तक तयार पार्दै छन्।
उस्तै कर्मभूमि भएकाले विभिन्न साहित्यिक कार्यक्रममा यी तीन भाइ सँगसँगै भेटिन्छन्। ‘एउटै कर्ममा लाग्न कसरी उत्प्रेरित हुनुभयो ? ’ भन्ने प्रश्नमा तीनैजना केही समय गम्भीर हुन्छन् र एकै स्वरमा जवाफ दिन्छन्— संगत गुनाको फल हुँदो रहेछ। परिवारमा एकजनाले लेख्न थालेपछि अरूले पनि त्यही सिक्ने।
दाजु वसन्त थाम्सुहाङले लेखेका राम्राराम्रा गीत सुनेर आफू लेख्न अग्रसर बनेको अनुभव सुनाए, हाङयुग र प्रकाशले।
जब उनीहरू तीन जना भेट हुन्छन्, तब सिर्जनशीलताकै बारेमा कुुरा गर्छन्। विशेष गरी गीत र कविता। यी तीन दाजुभाइको उपस्थितिमा बालनगाउँको घरमा साहित्यिक माहोल छाउँछ। किताबका चाङै चाङ। थाम्सुहाङकृत गीतको गुञ्जन। आहा !
नेपाली समाजमा दाजुभाइ प्रायः अंशमा काटोछिनो गर्छन् तर यी तीन जना लेखकको एकता देखेर भन्न मन लाग्छ, ‘दाजुभाइ होस् त यस्तो।’ एकको पाइलालाई अर्कोले पछ्याए। आफ्नो एकताको बारेमा उनीहरू यसरी एकै स्वरमा प्रस्ट पार्छन्- आफूले लेख्ने विषय वा शैलीबारे हामी भेट भएको बेला छलफल गर्छौं। जसले लेख्न ऊर्जा प्रदान गर्छ। एकअर्काको भावनालाई सम्मान गर्छौं।
यी तीन सिर्जनशील दाजुभाइले एकअर्काप्रति कस्तो दृष्टिकोण राख्दा रहेछन् भनेर जान्न मन लाग्यो। हाङयुग भन्छन्, ‘दुवैजना गम्भीर छन्। शब्द र भावसँग लुकामारी खेल्न सिपालु छन्।’ वसन्त मुस्कुराउँदै भन्छन्, ‘आफूले सिर्जना गरेपछि भाइहरूले मलाई देखाउँछन् र उनीहरूका कमीकमजोरी भएमा म पृष्ठपोषण प्रदान गर्छु।’ यही सिलसिलामा प्रकाश भावुक मुद्रामा प्रस्तुत भएर भन्छन्, ‘मेरा दुवै दाजु मेरो सिर्जना यात्राका लागि प्रेरणाका स्रोत हुुन्। कुुराकानी गर्दै जाँदा थाहा भयो, उनीहरू एकअर्काका कुशल पाठक र समालोचक रहेछन्।