सलाम एयरले अब दैनिक ओमन-काठमाडौं उडान गर्ने
काठमाडौ : ओमनको वायुसेवा सलाम एयरले अब दैनिक उडान गर्ने भएको छ। एक वर्ष अगाडिबाट काठमाडौं उडान सुरु गरेको यो वायुसेवाले आगामी भदौ २९ गतेबाट मस्कट–काठमाडौं–मस्कट दुईतर्फी उडान दैनिक गर्ने घोषणा गरेको छ। हाल सातामा तीन उडान गरिरहेको यो वायुसेवा कम्पनीले अब दैनिक एक उडान गर्ने घोषणा गरेको छ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रमार्फत यो वायुसेवाले नेपालबाट ओमान जाने र फर्कने यात्रुको चाप बृद्धिसँगै उडान बढाउन लागेको जानकारी दिएको छ। यो वायुसेवाले नेपाल भित्रिएको एक वर्षमा करिब ५० हजार यात्रुलाई सेवा दिएको छ। यसले आगामी वर्ष एक लाख यात्रुलाई सेवा दिने पनि उल्लेख गरेको छ। सलाम एयरले हाल नौ वटा जहाजमार्फत विभिन्न २० गन्तव्यमा सेवा दिइरहेको छ।
सलाम एयरको नेपालका लागि आधिकारिक टिकेट बिक्रेता जनरल सेल्स एजेन्ट्स (जीएसए) आईएमई ग्रुप अन्तर्गतको आईएमई इन्टरनेसनल ट्राभल हो। कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने गरी यो वायुसेवाले उडान विस्तार गरेको जानकारी दिए।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नयाँ बजारको रूपमा ओमान आइरहेको बताए। उनका अनुसार मध्यपूर्वी मुलुकमा उडान गर्न यो वायुसेवाले महत्वपूर्ण भूमिका खेल्न सक्छ।
सलामको टिकेट बेच्ने १० एजेन्सी सम्मानित
कार्यक्रममा सलाम एअरले उत्कृष्ट १० टिकेटिङ एजेन्सीलाई सम्मान गरेको छ। विगत एक वर्षमा नेपालबाट सबैभन्दा बढी यो वायुसेवाका लागि टिकेट बेच्ने एजेन्सीलाई सम्मान गरेको छ। सम्मानित हुने एजेन्सीमा एक्सन ट्राभल एन्ड टूर्स, हार्भेस्ट मून ट्राभल एन्ड टूर्स, हेल्लो ट्राभल एन्ड टूर्स, लाइट ट्राभल एन्ड टूर्स, मेचीकाली ट्राभल एन्ड टूर्स, मुस्कान ट्राभल एन्ड टूर्स, ओपेन अवे ट्राभल एन्ड टूर्स, प्रयास ट्राभल एन्ड टूर्स, रस्मिता इन्टरनेसनल ट्राभल एन्ड टूर्स र सी लिङ्क ट्राभल एन्ड टूर्स रहेका छन्।