'भ्रष्टाचारले छेक्यो समृद्धि'
जनकपुरधाम : अन्नपूर्ण मिडिया नेटवर्कले शनिबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ‘प्रदेश २ को समृद्धि र विकास’ विषयक राउण्ड टेवल सम्पन्न गरेको छ ।
छलफल कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले सम्बृद्धिको मुख्य बाधक भ्रष्टाचार रहेको बताए । प्रदेशमा भ्रष्टाचार निवारणका लागि सरकारले सुशासन विधेयक ल्याएको उनले जिकिर गरे ।
उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि कडा भन्दा कडा कदम चाल्न प्रतिबद्ध छु ।’ प्रदेश सरकारले समृद्धि र सुशासन कायम गर्न गरिरहेको कामहरुलाई खोजी गरी प्रकाशमा ल्याइदिन उनले अन्नपूर्ण मिडिया नेटवर्कसँग आग्रह समेत गरे ।
राउतले सञ्चारमाध्यमलाई जिम्मेवारीका साथ सरकारसँग समन्वय र सहकार्य गरी अघि बढ्न सुझाव दिए । कार्यक्रममा सहभागी प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले ५ वर्षको सरकारको पहिलो वर्षमै धेरै अपेक्षा राखिँदा पूरा गर्न नसकिएको बताए ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेकपाकी सांसद मञ्जु यादवले प्रदेश सरकारले महिला सशक्तिकरणका लागि दिएका नारा सकारात्मक भए पनि कार्यान्वयन पक्ष फितलो रहेको टिप्पणी गरिन् ।
‘प्रदेशसभाको कुनै पनि विषयगत समितिमा महिला सभापति छैनन्, मन्त्रीमण्डलमा महिला मन्त्री अटाएनन्, मात्र भाषणले सशक्तिकरण सम्भव छैन्,’ उनले भनिन् । राउण्ड टेवल छलफलमा अन्नपूर्ण पोस्ट दैनिक, एपीवान टेलिभिजन, अन्नपूर्ण पोस्ट डटकम र रेडियो अन्नपूर्णका सम्पादक लगायतको सहभागिता थियो ।