चिनियाँ विदेशमन्त्री भाेलि नेपाल आउँदै
काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आइतबार आउँदै छन् । वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङबीच सोमबार द्विपक्षीय समझदारी र सहकार्यका विषयमा छलफल हुने अधिकारीहरूले बताए । वार्तामा नेपाल–चीनबीच दुईवटा समझदारी आदानप्रदान हुनेछ । भूकम्पपछि चीनले दिएको सहयोगको समीक्षा हुनेछ ।
यस्तै तातोपानी र केरुङ नाकाका अध्यागमनको सहजता, भौतिक संरचना, टिमुरेमा बनाउने ड्राइपोर्ट, रेलमार्ग निर्माण प्रक्रियामा भइरहेको प्रगतिका विषयमा छलफल हुनेछ । चिनियाँ टोली १९ सदस्यीय हुनेछ ।
चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङ पाकिस्तानको इस्लामाबादमा शनिबार आयोजना हुने त्रिपक्षीय अफगानिस्तान–पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी भएका छन् । उनी त्यहाँबाट आइतबार नेपालतर्फ आउन लागेका हुन् ।