भुसालले प्रचण्डलाई सोधे- 'नेकपाको बाटो समाजवाद कि पुँजीवाद'

भुसालले प्रचण्डलाई सोधे- 'नेकपाको बाटो समाजवाद कि पुँजीवाद'

काठमाडौं : नेकपाको अबको राजनीतिक बाटो समाजवाद कि पुँजीवाद ? नेताहरूबीच यसबारे सार्वजनिक मञ्चमै तर्क-वितर्क चलेको छ। नेताहरूले शीर्ष नेतृत्वलाई प्रश्न गर्न थालेका छन्- ‘नेपाल समाजवादमा जान्छ कि जाँदैन? ’

संविधानमै समाजवाद उन्मुख देश लेखिएको छ। पार्टीको चुनावी घोषणापत्रदेखि कार्यक्रम समाजवाद भएको बताइएको छ। मुलुकको वस्तुगत धरातल र उपरी संरचना भने ‘दलाल पुँजीवादी’ देखिएको नेताहरूको भनाइ छ। अध्यक्ष पुष्पकमल दाहाल र स्थायी समिति सदस्य घनश्याम भुसालबीच शनिबार देशलाई समाजवादको दिशामा लैजाने कि पुँजीवादी संरचनासँगै आत्मसमर्पण गराउने भन्नेमा बहस भयो। नेकपा भक्तपुर जिल्ला सचिव डीपी ढकालको पुस्तक ‘पुँजीवादी र समाजवादी अर्थ-राजनीतिक विकासक्रम’ सार्वजनिकीकरण कार्यक्रममा नेता भुसालले अध्यक्ष दाहाललाई र्‍याखर्‍याखती पारेका थिए।

उनले पैसा हुनेले मात्र चुनाव लड्न सक्ने, त्यसले मात्रै जितेर पद लिने अनि फेरि थप पैसा कमाउने गरेको बताए। यस्तो अवस्थामा नेपाल समाजवादमा जान्छ कि जाँदैन भन्ने जवाफ अध्यक्ष दाहालले दिनुपर्ने उनले बताएका थिए। ‘राजनीति कस्तो छ भन्दा बेसजस्तो छ संरचना त्यस्तै हुन्छ। बेस कस्तो छ ? दलाल पुँजीवादी छ। राजनीति दलाल पुँजीवादी छ। यसकोे वैधानिकता, निरन्तरता के कुराले पाउँछ भन्दा चुनावले पाउँछ। प्रजातन्त्र, लोकतन्त्रका नाममा दलाल पुँजीवादले निरन्तर आफैंलाई पुनः उत्पादित गरिरहन्छ’, उनले भने, ‘निर्वाचन प्रणाली यस्तो छ जहाँ पैसा नहुनेले केही गर्न सक्दैन। चुनाव लड्न पैसा चाहिन्छ।

पैसा हुनेले निर्वाचन लड्छन्। किन पैसा हुनेले चुनाव लड्छन् भने पद लिन। पद किन लिन्छ भने अझ बढी पैसा कमाउन। पद हिजोभन्दा अझ बढी किन चाहियो भन्दा हिजोभन्दा बढी पैसा कमाउन। यो कुरा मेटिएन भने नेपाल समाजवादमा जान्छ कि जाँदैन ? ’ मुलुकले समाजवाद खोजी गरेको उनले बताए। त्यस्तो समाजवाद लेखिने÷नलेखिने कुराको जवाफ दाहालले दिनुपर्ने उनको भनाइ थियो।

‘हामीलाई हिजोभन्दा आज ठूलो पद चाहिएको छ। त्यो किन चाहिएको छ ? ठूलो पद लिएर झन् धेरै पैसा कमाउनु छ। यस्तो दलाल पुँजीवादले निरन्तरता पाइरहेका बेला समाजवाद लेखिन्छ कि लेखिन्न कमरेड ? ’
- घनश्याम भुसाल, स्थायी समिति सदस्य, नेकपा

‘घनश्यामजीले मलाई ठाडठाडै प्रश्न गर्नुभयो। के हुन्छ कमरेड भनेर ? रातारात चमत्कारको खोजी मानिसहरूले गरिरहेका छन्। त्यसरी रातारात चमत्कारचाहिँ हुँदैन। पार्टीभित्र हामी ग्रेट डिबेटमा छौं। हामी हिँड्ने बाटो कुनचाहिँ राम्रो हुन सक्छ ? म समाजवादी कित्तामै रहेर मर्नेछु। म आफ्नो बारेमा पूरा विश्वासका साथ भन्न सक्छु।’ -पुष्पकमल दाहाल, अध्यक्ष नेकपा

दाहालले आफू समाजवादकै लागि लडेर मर्ने बताए। समाजवादको नेपाली मोडेलबारे पार्टीभित्र ‘महान् बहस’ चलेको उनले सुनाए। ‘घनश्यामजीले मलाई ठाडठाडै प्रश्न गर्नुभयो। के हुन्छ कमरेड भनेर। समाजवादी मोडेल नेपालमा कस्तो हुने ? विश्वभरका अनुभवहरूको संश्लेषण कसरी गर्ने भन्ने ग्रेट डिबेटमा हामी छौं’, उनले भने, ‘मैले हिजो जाने-मानेको चिनियाँ, रुसी, भियतनामी, क्युबाली, कुनै मोडेलबारे यान्त्रिक रूपले भन्न सक्छु। तर, हिजोका क्रान्ति-प्रतिक्रान्तिको संश्लेषणसहित अबको मोडेल यो छ भन्न एउटा ठूलो बहस र संघर्षको बीचबाट हामी गुज्रिन जरुरी छ।’

उनले नेपालबाट संसारभरका लागि समाजवादको अबको मोडेल यो हो है भनेर दिन सक्ने ठाउँमा प्रयास गरिरहेको बताए। ‘अहिले मान्छेहरूले भन्छन्- कम्युनिस्ट पार्टी भनेजस्तो भएन। सरकार भनेजस्तो भएन’, उनले भने, ‘विशाल कम्युनिस्ट पार्टी, त्यसको दुईतिहाइ बहुमतको सरकार, ९-१० लाख पार्टी सदस्य भएको पार्टीबाट रातारात चमत्कारको खोजी मानिसहरूले गरेका थिए, चमत्कारचाहिँ हुँदैन।’

उनले सबै नेता-कार्यकर्ता समाजवादको नयाँ मोडेल खोजेर अगाडि बढ्ने या पुँजीवादका अगाडि आत्मसमर्पण गर्ने भन्ने अग्निपरीक्षामा रहेको बताए। ‘लडाइँ जारी छ। तपार्इं कुन कित्तामा हो ? म समाजवादी कित्तामै रहेर मर्नेछु। म आफ्नो बारेमा पूरा विश्वासका साथ भन्न सक्छु’, उनले भने, ‘केही साथीहरु आत्तिनुभएको छ, के-के न हुन्छ भनेको, पार्टीलाई दुईतिहाइ जिताएको त एक-डेढ वर्ष भयो खासै राम्रो देखिएन भनेर। पेटी बुर्जुवाले जस्तो क्षणभरमा उत्तेजित हुने, क्षणभरमा निराश भएर भाग्ने कामले क्रान्तिलाई सफलतामा पुर्‍याउन सकिन्न। यसका लागि धेरै ठूलो त्याग, संघर्ष र धैर्य आवश्यक छ।’

उनले भुसालसँग यो विषयमा अन्य सार्वजनिक मञ्चमा पनि बहस गरेको सुनाए। त्यसका लागि आफू सदैव तयार रहेको उनको भनाइ थियो।

अर्का स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले आफू सरकारमा पनि रहेकाले भुसालले उठाएको विषयमा बहस गर्न अप्ठ्यारो भइरहेको बताएका थिए। ‘घनश्यामजीको भनाइमा सबैले ताली पिट्नुभयो। मलाई अप्ठ्यारो भयो। म त मन्त्री पनि। हिजो हामीले शासक भन्थ्यौं। शासक हाम्रो पार्टी हो। हो के हो भन्ने अप्ठ्यारो भयो’, उनले भने, ‘अध्यक्षले व्याख्या गर्नुहोला। हामीले खोजेको मौलिकता नै यही नेर हो।’

उनले खास अवस्थामा उपरी संरचना मुख्य भएर आधार बदल्ने कुरा पनि माक्र्सवादभित्रै पर्ने बताए। ‘माक्र्सवादले आधार मुख्य, उपरी संरचना सहायक भनेको छ। उपरी संरचना खास अवस्थामा मुख्य हुन्छ, आधार सहायक हुन्छ’, उनले भने, ‘राजनीतिक प्रयत्नले उपरी संरचना लिने र आधार बदल्ने भन्ने अर्थ वामपन्थीको कुरा हो। तीनओटै तहमा कम्युनिस्टको सरकार छ। यस्तो अवस्थामा दलाल पँुजीवादलाई बदल्न सचेत प्रयत्न गर्नुपर्छ।’ विश्लेषक हरि रोकाले सरकारबाट जनताले गाँस, बास र कपासको मात्र चिन्ता गरेको बताएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.