ओझेलमा आगेजुङ गुम्बा
फिदिम : पाँचथरको फालेलुङ गाँउपालिका-१ लसुनेमा रहेको आगेजुङ साङ्छ्यो बौद्ध गुम्बा ओझेलमा परेको छ। लामा दोर्जे लाङठ्योलले २०१५ सालमा स्थापना गरेको यो गुम्बा प्रदेश १ कै सबैभन्दा पुरानो मानिन्छ। धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो गुम्बा प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेको हो।
व्यक्तिगत लगानीबाट स्थापना गरिएको गुम्बामा बौद्ध शिक्षा दिने गरिन्थ्यो। तर अहिले बौद्ध शिक्षा अध्यापन पनि बन्द छ। ‘गुम्बाबाट हजारौं लामा उत्पादन भएको इतिहास छ,’ घेदुङ संघ पाँचथरका अध्यक्ष जंग तामाङले भने, ‘माओवादी द्वन्द्व चर्किएको बेलादेखि गुम्बामा अध्यापन बन्द भएको हो।’ माओवादी द्वन्द्वको समयमा असुरक्षा बढेपछि बौद्ध शिक्षा अध्यापन रोकिएको लामाहरू बताउँछन्।
अध्यापन रोकिएपछि पूर्वमा लामा अभाव हुन थालेको तामाङले बताए। ‘अहिले लामा अभाव हुने गरेको छ,’ तामाङले भने, ‘आगेजुङ गुम्बामा बौद्ध शिक्षा बन्द भएपछि दार्जिलिङबाट लामा बोलाएर काम चलाउनुपर्ने भएको छ।’ राज्यले लामा शिक्षा अध्यापन फेरि थाल्न चासो नदिँदा समस्या भएको बौद्ध धर्मावलम्बीको गुनासो छ।
२०४२ सम्म लामा दोर्जे लाङठ्योलले व्यक्तिगत तवरबाट गुम्बा सञ्चालन गरेका थिए। त्यसपछि गुम्बा संरक्षण समिति गठन गरी समितिको मातहत सञ्चालन हुँदै आएको छ। भक्तजन र दाताको सहयोगबाटै सञ्चालन भएको यो गुम्बा संरक्षणका लागि राज्यका कुनै पनि निकायले चासो दिएनन्। पछिल्लो समय गुम्बालाई सरकारबाटै सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। तैपनि गुम्बाको संरक्षण र बौद्ध शिक्षा विकास तथा अध्यापनमा राज्यले बेवास्ता गर्दा गुम्बा ओझेलमा परेको आगेजुङ गुम्बाका लामा तेन्जिङ शेर्पाले बताए।
तेन्जिङले २०४९ सालदेखि गुम्बामा लामाको जिम्मेवारी सम्हालेका हुन्। कुनैबेला पूर्वमै नाम कमाएको गुम्बा संरक्षणमा कसैले पनि चासो नदिएकाले ओझेलमा पर्दै गएको हो। भौगोलिक रूपमा निकै सुन्दर ठाउँमा रहेको यो गुम्बा बौद्धको ऐतिहासिक स्थलसमेत हो। गुम्बा व्यवस्थापन समिति पुल्चोक ललितपुरबाट केही सहयोग गरेको छ।
गुम्बामा बौद्ध शिक्षा अध्यापन फेरि सञ्चालन गर्न राज्यले चासो दिनुपर्ने बौद्ध धर्मावलम्बीहरूको माग छ। यो गुम्बा नजिकै मेची अञ्चलकै सबैभन्दा पुरानो संस्कृत विद्यापीठ छ। जोरपोरी आसपासमै किराँत धर्मावलम्बीहरूको माङ्हिमसमेत रहेकाले यो स्थानलाई धार्मिक पर्यटनको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने स्थानीयहरू बताउँछन्।