बूढीगण्डकीमा मुआब्जा वितरण

बूढीगण्डकीमा मुआब्जा वितरण

धादिङ : जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना अन्तरगत डुवानमा पर्ने जग्गामा रहेका घर, गोठ र फलफूलका बिरुवाको मुआब्जा वितरण गरिने भएको छ । अहिले प्रस्तावित १२ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना अन्तर्गत डुवान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण कार्य भइरहेको छ । यद्यपि, डुवान क्षेत्रमापर्ने धादिङ र गोरखाको आरुघाट र धादिङको खहरे बजार क्षेत्रको भने मुआब्जा दररेटसमेत तोकिएको छैन ।

लामो समयसम्म जग्गा रोक्का राखेर पनि मुआब्जा दररेट नतोकिँदा स्थानीयले घर र रुखबिरुवाको लगत संकलनमा समेत अवरोध गरेका थिए । फिल्डमा पुगेर गर्नुपर्ने लगत संकलनलगायत काम तथा अन्य प्राविधिक काम सकेर सबै विवरण ऊर्जा मन्त्रालयमा पठाइएको छ ।

दसैंअघिदेखि नै घर, गोठ र फलफूलका बिरुवाको मुआब्जा वितरण सुरु गरिने बूढीगण्डकी जलविद्युत् आयोजना अन्तरगत वातावरण, मुआब्जा वितरण तथा पुनःस्थापना इकाइका संयोजक कृष्ण कार्कीले बताए । उनले भने, ‘हामीले प्राविधिकसहितको टोली पठाएर डुवान क्षेत्रमा पर्ने स्थानीयको घर, गोठ, शौचालय, कुखुराको खोर, बाख्राको खोर, पर्खाल, धन्सार, गोवरग्यास, फलफूलका बोटबिरुवा र अन्य रुखबिरुवा सवैको लगत संकलन गरिसकेका छौं, संकलित विवरणको विश्लेषण गर्ने कार्य पनि अन्तिम चरणमा छ ।’

बूढीगण्डकी जलविद्युत् आयोजनाको डुवानमा पर्ने क्षेत्र अन्तरगत धादिङ जिल्लातर्फ एक हजार ५० जना जग्गाधनीको, एक हजार सात सय ७१ वटा घरको नौ लाख ७४ हजार चार सय ६२ वर्गफिटको मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ । यस्तै कुखराबाख्राको खोर, धन्सार, पार्टी पौवा, शौचालयको संख्या भने दुई हजार दुई सय ४६ वटा छन् । यी सवै तथ्यांकलाई सफ्टवेयरमा राखेर विश्लेषण गर्ने कार्य अन्तिम चरणमा रहेको बूढीगण्डकी आयोजनाले जानकारी दिएको छ ।

यस्तै धादिङतर्फको डुवान क्षेत्रभर सात सय ८८ जना जग्गाधनीको चार हजार सात सय १७ वटा फलफूलको बोटबिरुवा गणना भएको छ । फलफूलका बोटबिरुवा २३ प्रजातीका रहेको आयोजना कार्यालयले जनाएको छ । यस्तै एक हजार सात सय ७६ जना जग्गाधनीको व्यक्तिगत जग्गामा रहेको साल, सिसौ, हर्रो, सिमल, चिलाउने, खयर, उत्तिसलगायत रुखबिरुवा १५ हजार पाँच सय १० वटा गणना गरिएको छ । बोटबिरुवाको प्रजाती भने ४९ प्रकारका छन् ।

रुखबिरुवा र बगैंचाको मुआब्जा वितरण गर्न कुनै समस्या नभए पनि घर र गोठको मुआब्जा वितरण गर्दा नेपालको प्रचलित कानुनअनुसार ह्रासकट्टी गर्नुपर्ने भए पनि ह्रासकट्टी गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेकाले घरगोठको मुआब्जा वितरणको काम केही समयपछि धकेलिएको संयोजक कार्कीले बताए । डुवान क्षेत्रका स्थानीयले भने कुनै पनि हालतमा ह्रासकट्टी गर्न नपाइने भन्दै विरोध जनाउँदै आइरहेका छन् । चैनपुरका स्थानीय सूर्य इटनीले भने, ‘सरकारले भनेको÷तोकेको दररेटमा हामीले हाम्रो पुख्र्यौली जग्गा जमिन दिइसकेका छौं, कतिपय घर यहाँ लाखौ खर्च गरेर भर्खरै मात्रै बनाइएका छन्, सबै डुवाएर जानुपर्ने हुँदा भइरहेको घरको पनि ह्रासकट्टी गर्नु कत्तिपनि न्यायोचित होइन । राज्यलाइ दिनुपर्ने भन्दैमा जनताले अन्याय नै सहनुपर्छ भन्ने त होइन होला ।’

ह्रासकट्टी गर्ने कि नगर्ने भनेर मन्त्री परिषद्बाटै निर्णय हुनुपर्ने भएकाले मन्त्रिपरिषद्को निर्णय आउना साथै मुआब्जा वितरणको काम सुरु गरिहाल्ने संयोजक कार्कीले बताए । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना बनिसक्दा धादिङ जिल्लातर्फ साविकको २७ गाविसमा पर्ने २८ हजार ७५ रोपनी जग्गा डुवानमा पर्दछ । हालसम्म धादिङ जिल्लातर्फ पाँच हजार पाँच सय ६० जनाको २१ हजार आठ सय ४० रोपनी क्षेत्रफल जग्गाको १२ अर्ब ८३ करोड तीन लाख २२ हजार एक सय ६९ रुपैयाँ मुआब्जा वितरण भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.