कारको कल्पना

कारको कल्पना

साथीहरू, तिमीहरूमध्ये कति जनाको घरमा कार छ ? सडकमा गुड्ने कार नभए पनि खेलाउना कार त पक्कै छ होला। खेलाउना कार घरमा नभए पनि तिमीहरू सबैले सडकमा गुडिरहेका कार देखेका होलाउ।

कतिपय साथीहरूले त घरकै पानीको जार, बाल्टी, ग्यास सिलिन्डर, पानीको बोतललाई पनि कार भन्दै खेलेका होलाउ। यसरी कार खेल्ने कुरा गरेर म तिमीहरूलाई ‘कारको कल्पना’ एकांकी पुस्तकबारे बताउँदै छु है।

यो पुस्तक भर्खरै बजारमा आएको छ। यसमा बालबालिकाको मनोविज्ञान प्रस्तुत गरिएको छ। छिमेकका काकाकाकी र हजुरबाले कार चलाएको देख्दा सबै बालबालिकालाई आफ्नो घरमा पनि कार भए हुन्थ्यो भन्ने लाग्छ। त्यही मनोविज्ञानलाई यो एकांकीमा उतारिएको छ।

एकांकीमा बाबु–आमा, अञ्चित, आश्मा (दाजुबहिनी), निर्मल र गोपाल सर गरी ६ जना पात्र छन्। मुख्य भूमिका अञ्चितको छ। सात वर्षीया अञ्चितले जतिबेला पनि कार किन्न बुवालाई दबाब दिइरहेका हुन्छन्। उनले कार किन्नका निम्ति घर बेच्नेसम्मको प्रस्ताव गर्छन्। अन्तिममा गोपाल सर र कक्षा १० पढ्ने निर्मलको कुरा सुनेपछि अञ्चित तत्काल कार नकिन्न सहमत हुन्छन्।

निर्मलले आफू डाक्टर बनेर कार किन्ने कुरा सुनाएपछि अञ्चित पनि त्यसै गर्ने निर्णयमा पुग्छन्। यो निर्णय सुनेपछि सबैले अञ्चितलाई ‘स्याब्बास’ भन्दै ताली पिट्छन्। अनि एकांकी सकिन्छ।

यो एकांकीले सहरी परिवेशलाई बोकेको छ। यसमा बालबालिकाको मनोविज्ञानलाई प्राथमिकता दिइएको छ। बाबुआमाको आर्थिक अवस्थालाई पनि बालबालिकाले बुझ्नुपर्छ भन्ने सन्देश एकांकीको निष्कर्ष हो। अभ्यास गरे एकांकी सबै बालबालिकाले सहजै मञ्चन गर्न सक्नेछन्। किनकि यसका लागि सहज परिवेशको निर्माण लेखकले गरेका छन्।

यो एकांकीको पुस्तक गोपीकृष्ण ढुंगानाले लेखेका हुन्। यसमा प्रज्ज्वल थापामगरले परिवेशअनुसारकै चित्र बनाएका छन्। छोटाछोटा शब्द र वाक्य भएकाले यसलाई मञ्चन गर्दा बालबालिकालाई कठिन नहुने देखिन्छ। पुस्तकमा भाषागत त्रुटि छैनन्। तर, केही केही ठाउँमा गलत चिह्न भने प्रयोग भएका छन्। कतैकतै पूर्णविराम हुनुपर्ने ठाउँमा प्रश्न चिह्न राखिएको छ भने कतैकतै प्रश्न चिह्न हुनुपर्ने ठाउँमा पूर्णविराम दिइएको छ।

दुर्घटना, दायाँबायाँ बुझिने नेपाली शब्द हुँदाहुँदै ‘एक्सिडेन्ट र साइड’ जस्ता अंग्रेजी शब्द लेखिएका छन्। अन्य त्यस्ता कुनै ठूला गल्ती छैनन्।

४४ पृष्ठको पुस्तकको मूल्य १९५ रुपैयाँ रहेको छ। सबै पृष्ठमा रंगीन तस्बिर छन्। आवरण चित्र आकर्षक छ। चित्रमा एक बालकको दिमागबाट कार उडेर माथि पुगेको देख्न सकिन्छ। पुस्तकको आवरणको पछाडि एकांकीको बारेमा जानकारी राखिएको छ। आवरणको पछाडितर्फ भित्रपट्टि लेखक र चित्रकारको तस्बिरसहित परिचय छ। यो एकांकी सांग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको हो।

प्रस्तुति– दिनेश लुइँटेल
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.