संसद्मा प्रश्न : पशुपतिमा राष्ट्रियगान बज्दा किरियापुत्री पनि उठ्नुपर्ने ?
काठमाडौं : पशुपति आर्यघाटमा आरती कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रियगान बजाउनुपर्ने संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्तावमाथि संसद्मा आलोचना भएको छ। नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले पशुपतिमा नेपालको राष्ट्रियगान बजाइनु राष्ट्रिय गीतको बेइजति हुने बताए।
‘यो हाम्रो धर्म, संस्कृति र परम्पार विरोधी कुरा हो। पशुपतिमा आरती मात्र हुँदैन त्यहाँ दाहासंस्कार गर्ने मलामी र आफ्ना परिवारजनलाई सान्त्वना दिने आफन्त गएका हुन्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा राष्ट्रियगान बजाउँदा के हुन्छ? राष्ट्रिय गान त राष्ट्रिय कार्यक्रममा बजाउनुपर्छ।’
‘नेपालको राष्ट्रियगान गाइरहँदा यसको आफ्नै परम्पार छ। गरिमा छ। यसको आफ्नै मौलिकता छ। त्यो बज्दा उभिनुपर्छ।जसरी हामी यहाँ राष्ट्रियगान बज्दा सभामुखदेखि लिएर सबै उठ्छौं’, उनले भने, ‘पशुपतिमा आफन्तको दाहासंस्करमा रहेका पुत्रपुत्रीले राष्ट्रिय गीत बज्दा उठ्ने कि नउठ्ने ?
उनले यो प्रस्ताव पञ्चचायतीशैलीको भएको दाबी गरे। ‘उतिबेला सिनेमा हलमा पनि राष्ट्रियगान बजाइन्थ्यो। राष्ट्रियगान त राष्ट्रपति, प्रधानमन्त्री तथा राष्ट्रिय कार्यक्रममा बजाउनुपर्छ’, उनले भने।
‘त्यस्तो पनि प्रचलन हुन्छ। एउटा मौलिक परम्परा भएको पशुपतिनाथ जो नेपाली हिन्दु मात्र होइनन् विश्वका करोडौं मानिस यो धार्मिकस्थलमा आउँछन्। श्रद्धा जगाउन। उनीहरुलाई के थाहा हुन्छ त्यहाँ नेपालको राष्ट्रियगान बज्छ भनेर,’ उनले भने, ‘पस्नासाथ उनीहरुले दर्शन गर्छन्।उनीहरुले उभिएन भने के हुन्छ ? त्यो राष्ट्रियगानमाथि सम्मान जनाउँछ कि बेइज्जत।’
भिडियो :