वडाध्यक्ष कुट्ने वडाध्यक्ष पक्राउ
ओखलढुंगा : छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गर्ने चम्पादेवी गाउँपालिका ८ का वडा अध्यक्ष अजय लुइटेल पक्राउ परेका छन्। लुइटेल आइबार साँझ पक्राउ परेका हुन्। उनलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले जानकारी दिए। डीएसपी मल्लले अनुसन्धान सुरु भएको जानकारी दिए।
लुइटेलले चम्पादेवी गाउँपालिकाको कार्यालयमै सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेश थापालाई गत असार ३० गते कुटपिट गरेका थिए। थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गत साउन १ गते उजुरी दिएका थिए।
उजुरीपछि उनी सम्र्पकमा नरहेको प्रहरीले बताउँदै आएको थियो। उनलाई पटकपटक कार्यालयमा हाजिर हुन आउने ताकेता गरे पनि अटेर गरेपछि प्रहरीले पक्राउ गरेको हो। लुइटेलविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कुसरमा मुद्दा दर्ता भएको छ।
स्थानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेर्कड प्रहरीमा बुझाएका थिए। अडियोमा लुइटेलले थापालाई कुटेको र अरु दुई कर्मचारी प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई आफुले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ।
आफुलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफुमाथि कार्यालयमै आक्रमण भएको पीडित थापाले बताए। उनले गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधीले असुरक्षा महसुस गरेको र सुरक्षाका लागि कानुनी उपचार खोजेको बताए।
लुइटेल कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन् भने थापा नेकपाका जिल्ला सदस्य। अध्यक्ष, उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य जितेको कांग्रेस र नेकपाबीच गाउँपालिकाको बजेट लगायतका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ। थापा र लुइटेलबीच गाउँपालिकाका योजनालगायतका विषयमा विवाद हुने गरेको थियो।