चीनसँग सहयोगका क्षेत्र खोजिने

चीनसँग सहयोगका क्षेत्र खोजिने

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएका छन्। नेपालको तीनदिने औपचारिक भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौं आइपुगेका हुन्। द्विपक्षीय वार्तामा चीनसँग सहयोगका क्षेत्र खोजिने परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन्।

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गत रहेको कार्यक्रमलाई उठाउनेछ। नेपालबाट पनि दिइएको परियोजना वा चयन भएका नौ परियोजनाको अवस्थाबारे बैठकमा समीक्षा हुनेछ। सहायतासम्बन्धी केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले गर्ने भनिएको नेपाल भ्रमण र सुरक्षाबारे पनि छलफल हुनेछ। द्विपक्षीय पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने मन्त्रालयले जनाएको छ।

‘दुई देशबीच विगतमा भएका सन्धि-सम्झौता तथा नेपालमा सञ्चालित विकास परियोजनाको समीक्षाका साथै अन्य सहयोगका क्षेत्रबारे छलफल हुनेछ’, परराष्ट्र अधिकारीले भने। बीआरआई परियोजना अगाडि बढाउन ठोस निर्णय गरिने अधिकारीले बताए। चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालअन्तर्गत रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तारका विषयमा परियोजना चयन गर्ने जनाइएको छ।

मदन भण्डारी विश्वविद्यालय स्थापनामा सहयोग, रसुवागढी-ठोरी करिडोर, टोखा-छहरे सुरुङमार्ग, कोदारी राजमार्गको धुलिखेल-कोदारी र बेत्रावती-स्याफ्रुबेंसी खण्डको स्तरोन्नतिमा सहयोग गर्न जोड दिइने भएको छ। सी आउने समयका लागि भन्दै चिनियाँ केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउने बुँदा पनि पर्नेछ। बीआरआईअन्तर्गत विश्वविद्यालय निर्माण पनि परेकाले नेपालले विश्वविद्यालयमा जोड दिएको हो। यसपटक अधिकांश विषय तय गरी पछि राष्ट्रपतिस्तरमा सहमति हुने परराष्ट्र अधिकारीले बताए।

वाङको भ्रमणलाई आगामी कात्तिकमा हुने भनिएको सीको भ्रमण तयारीका रूपमा हेरिएको छ। केपी ओलीको नेतृत्वमा सरकार बनेपछि चीनबाट भएको यो सबैभन्दा उपल्लो औपचारिक राजनीतिक भ्रमण हो। उनले समकक्षी तहमा उच्चस्तरको औपचारिक वार्ता र राजनीतिक शिष्टाचार भेट गर्ने कार्यक्रम छ। उत्तरतर्फको यो भ्रमणले थप उच्चस्तरको भ्रमण कडी बन्ने परराष्ट्र अधिकारीको बुझाइ छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली-वाङ नेतृत्व डेलिगेसन स्तरमा वार्तापछि राजनीतिक भेट तय भएको छ। त्यसअघि भ्रमण टोलीलाई चिनियाँ दूतावासले यहाँको अवस्थाबारे जानकारी दिनेछ। उनी सोमबार बिहान दरबार हाईस्कुल पुनर्निर्माण अवलोकन र मौसम सफा भए ‘साइड सिन’मा जान सक्ने बताइएको छ। त्यसलगत्तै उनी वार्तामा सहभागी हुनेछन्। नेपालबाट मन्त्री ज्ञवालीको नेतृत्वमा अर्थमन्त्री युवराज खतिवडासहित परराष्ट्र, अर्थ र अन्य केही मन्त्रालयका सचिव र सहसचिव वार्तामा बस्नेछन्। नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनमा पनि उनले छलफल गर्ने भएका छन्।

वाङको भ्रमणलाई नेपालले महत्व दिएको छ। नेपाली सेना र चिनियाँ सेनाको संयुक्त सैन्य अभ्यास चलिरहेको अवस्थामा उनी आएका हुन्। भ्रमणको मुख्य उद्देश्य चीनले नेपालको स्थायित्वलाई समर्थन गर्र्दै अगाडि बढ्न लागेको सन्देश दिने रहेको जनाइएको छ। यस्तै, उच्चस्तरको भ्रमणलाई बढावा दिँदै अन्य मुलुकको उपस्थितिलाई कमजोर पार्ने उद्देश्य पनि रहेको बताइएको छ। चीनबाट २३ वर्षदेखि राष्ट्रपतिस्तरमा भ्रमण नहुँदा अन्य मुलुकले ‘स्पेस’ पाएको धारणा चिनियाँ अध्येताको छ।

राज्य परिषद् सदस्यसमेत रहेका मन्त्री वाङलाई परराष्ट्रसचिव शंकरदास वैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। सीको अघिल्लो कार्यकालमा पनि उनी विदेशमन्त्री थिए। उनी २०७२ को भूकम्पपछि आयोजित दाता सम्मेलनमा आएका थिए। उनले त्यति बेला टुँडिखेलमा रहेका भूकम्पपीडितसँग अन्तक्र्रिया गरेका थिए। फेरि विदेशमन्त्रीकै रूपमा नेपाल आउन पाउँदा उनले खुसी व्यक्त गरे।

पाकिस्तानको राजधानी इस्लामावादबाट विशेष विमान चढी उनी भारतीय आकाश हुँदै काठमाडौं ओर्लिएका हुन्। भ्रमण टोलीमा उपविदेशमन्त्री लु झाओ हुई, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष देङ बोकिङ, दक्षिण एसिया डेस्क हेर्ने अधिकारी सहभागी छन्। राजदूत होउ याङछी र दूतावासका अधिकारी पनि बैठकमा सहभागी हुनेछन्। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल पनि काठमाडौं आएका छन्।

यसरी बित्नेछ वाङको तीन दिन

बस्ने द्वारिकामा, औपचारिक वार्ता याक एन्ड यती र राजनीतिक वार्ता मेरिअट होटलमा

आइतबार

वाङ विमानस्थलबाट होटल द्वारिका पुगे। केही बेर आराम गरी उनले दूतावास र दूतावासनिकट केही साथीसँग डिनर गरे। आइतबार साँझ र सोमबार बिहान औपचारिक कार्यक्रम छैन। उनी त्यो समय दूतावासले तय गरेको कार्यक्रममा सहभागी हुने अधिकारीले बताएका छन्। उनले आइतबार साँझ केही चिनियाँ निकटस्थसँग भेट गरे। दूतावासले सिफारिस गरेका केही व्यक्तिसँग उनले अनौपचारिक वार्तासमेत गरे।

 सोमबार

बिहान दरबार हाईस्कुल पुनर्निर्माण क्षेत्रको अवलोकन र साइड सिनमध्ये एकमा सहभागी हुने बताइएको छ। मौसमले साथ दिए माउन्टेन फ्लाइटमा जानेछन्। उनी चिनियाँ दूतावासले आयोजना गरेका आन्तरिक ब्रिफिङ र दिवाभोजमा सरिक हुनेछन्। त्यसबीच उनले चिनियाँ क्षेत्रका जानकार, नेपालमा रहेका लगानीकर्तासँग भेट गर्ने कार्यक्रम छ। उनको औपचारिक वार्ता सोमबार साढे ३ बजे आरम्भ हुनेछ। उनले नेपाली पक्षसँग औपचारिक वार्ता गरी भेटघाटमा समय दिनेछन्। साढे ३ बजेदेखि पौने ५ सम्म नेपाल र चीनबीच मन्त्रीस्तरीय वार्ता हुनेछ। दुवै देशका प्रतिनिधिमण्डलबीच होटल याक एन्ड यतीमा वार्ताको तयारी छ। त्यसलगत्तै दुई सम्झौतामा हस्ताक्षर हुनेछ। सामान्य सहयोगसम्बन्धी सम्झौता रहेको अधिकारीले बताएका छन्।

बैठकलगत्तै वाङ प्रधानमन्त्री केपी ओलीसँगको भेटका लागि बालुवाटार पुग्नेछन्। त्यसका लागि एक घण्टा समय छुट्याइएको छ। उनले त्यहाँ प्रधानमन्त्रीसँग एक्लाएक्लै भेट गर्ने तय भएको छ। त्यसपछि राष्ट्रपतिसँगको शिष्टाचार भेटका लागि उनी शीतल निवास पुग्नेछन्। त्यहाँबाट उनी नेपाली समकक्षी प्रदीप ज्ञवालीले दिने रात्रिभोजमा सरिक हुन याक एन्ड यती पुग्नेछन्। त्यहाँबाट द्वारिका आएर आराम गर्ने कार्यक्रम तय भएको छ।

मंगलबार

राजनीतिक भेटघाटको कार्यक्रम नक्सालस्थित मेरियट होटलमा गर्ने तय भएको छ। उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार बिहान मेरियट होटलमै छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ। त्यहाँबाट वाङ द्वारिका फर्कनेछन्। त्यहाँ लन्च गरी उनी बेइजिङ प्रस्थानका लागि विमानस्थल पुग्ने कार्यक्रम छ। पूर्वप्रधानमन्त्री र केही मधेसवादी दलका नेताले पनि चिनियाँ मन्त्रीसँग भेट्ने इच्छा व्यक्त गरेको जनाइएको छ। त्यो भेट परराष्ट्रमन्त्रीले दिएको रात्रिभोजमै सामूहिक रूपमा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.