१९ वर्षीया एन्ड्रेस्कुको कमाल, ६ पटककी च्याम्पियन स्तब्ध

१९ वर्षीया एन्ड्रेस्कुको कमाल, ६ पटककी च्याम्पियन स्तब्ध

न्युयोर्क : ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘यूएस ओपन’ को महिला एकलतर्फ यसपटक अप्रत्याशित नतिजा आएको छ। अप्रत्याशित नतिजा निकाल्दै १९ वर्षीया क्यानेडियन खेलाडी बियान्का एन्ड्रेस्कुले उपाधि चुमेकी छन्। उनले शनिबार राति सम्पन्न फाइनलमा आफूभन्दा करिब दोब्बर उमेरकी अनुभवी खेलाडी सेरेना विलियम्सलाई ६-३, ७-५ अंकले हराउँदै उपाधि हात पारेकी हुन्।

सेरेना २३ पटककी ग्रान्डस्लाम च्याम्पियन खेलाडी हुन्। ६ पटक यूएस ओपनको उपाधि जितिसकेकी ३७ वर्षीया अमेरिकी खेलाडी सेरेनालाई एन्ड्रेस्कुले प्रारम्भदेखि नै दबाबमा राखेकी थिइन्। एन्ड्रेस्कुले जितेको यो पहिलो ग्रान्डस्लाम उपाधि हो। सेरेना आठौं र एन्ड्रेस्कु १५औं वरीयता प्राप्त खेलाडी हुन्।

यूएस ओपनको मुख्य प्रतियोगितामा एन्ड्रेस्कुको यो पहिलो सहभागिता हो। ‘अन्ततः मेरो सपना साकार भएको छ’, खेलपछि निकै भावुक देखिएकी एन्ड्रेस्कुले भनिन्, ‘यो उचाइसम्म पुग्न मैले निकै कडा परि श्रम गरेकी छु। दर्शकको अपार स्नेह पनि मेरो जितको कारण हो। मेरो सफलताको कामना गर्ने सबैप्रति अभार व्यक्त गर्न चाहन्छु।’

सेमिफाइनलमा अनुभवी अमेरिकी खेलाडी सेरेनाले युक्रेनकी एलिना भितोलिनालाई र एन्ड्रेस्कुले स्विट्जरल्यान्डकी बेलिन्डा बेनसिचलाई हराएर फाइनलमा स्थान पक्का गरेका थिए। सेरेना यूएस ओपनको साबिक उपविजेता पनि हुन्। अघिल्लो संस्करणको फाइनलमा सेरेना विवादमा पनि परेकी थिइन्।

त्यतिबेला महिला एकलतर्फको फाइनलमा जापानी खेलाडी नाओमी ओसाकाले सेरेनालाई हराएकी थिइन्। ओसाकासँग पराजित भएपछि सेरेनाले आफ्नो हारको दोष अम्पायरमाथि थोपरेकी थिइन्। उनले त्यतिबेला अम्पायरलाई ठगी गरेको र झूटो बोलेको आरोप पनि लगाएकी थिइन्। सोही कारणले हार स्विकार्न नसकेको भन्दै सेरेनाको आलोचना पनि भएको थियो।

सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेकी छन्। उनले ६ पटक यूएस ओपन, सात पटक विम्बल्डन, तीन पटक फ्रेन्च ओपन र सात पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्। सेरेनाले पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्।

सन् १९९९ मा सेरेनाले आफ्नो खेल जीवनको पहिलो उपाधि जितेको नौ महिनापछि मात्र एन्ड्रेस्कु जन्मिएकी थिइन्। अन्तर्राष्ट्रिय टेनिसमा एन्ड्रेस्कु स्थापित नाम पनि होइन। यो वर्ष उनी अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको दोस्रो चरणमै पराजित भएकी थिइन्। विम्बल्डनमा भने उनी पहिलो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन्।

खेलपछि सेरेनाले एन्ड्रेस्कुको मुक्त कण्ठले प्रशंसा गरिन्। उनले एन्ड्रेस्कु निकै क्षमतावान् खेलाडी भएको प्रतिक्रिया दिइन्। ‘एन्ड्रेस्कु, तिमीले अपत्यारिलो र लोभलाग्दो खेल पस्कियौं। मैले आज आफ्नो खेलजीवनकै उत्कृष्ट फाइनल खेलेँ। मलाई तिमीप्रति गौरव छ’, सेरेनाले एन्ड्रेस्कुको प्रशंसा गर्दै भनेकी छन्।

एन्ड्रेस्कु कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने पहिलो क्यानेडियन खेलाडी पनि बनेकी छन्। उनी सन् २००६ पछि कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने पहिलो किशोर खेलाडी पनि हुन्। सन् २००६ मा रुसी टेनिस सुन्दरी मारिया सारापोभाले यस्तो सफलता हात पारेकी थिइन्।

यसैगरी उनी सन् २००४ पछि आफ्नो पहिलो सहभागितामै ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने पहिलो खेलाडी पनि बनेकी छन्। यसअघि सन् २००४ मा सारापोभाले आफ्नो पहिलो सहभागितामै विम्बल्डनको उपाधि जितेकी थिइन्। एन्ड्रेस्कुका पिता निकु र आमा मारिया रोमानियाका नागरिक हुन्। उनीहरू सन् १९९० मा क्यानडा बसाइँ सरेका थिए।

यूएस ओपनको उपाधि जितेपछि एन्ड्रेस्कुलाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउ, विम्बल्डन च्याम्पियन सिमोना हालेप, सन् २०१९ को सिनसिनाटी मास्टर्स च्याम्पियन माडिसन किज, टेनिसका महान् खेलाडी बिली जेन किङलगायतका चर्चित व्यक्तित्वहरूले बधाई पनि दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.