झापाका दुई ठाउँमा बम विस्फोट
दमक : आइतबार राति अज्ञात समूहले झापाका दुई ठाउँमा विस्फोट गराएको छ । झापाको गौरादह नगरपलिकाको गाडीमा र चारपानेस्थित सहारा साकोसको निर्माणधीन भवनमा विस्फोट गराइएको हो ।
गौरादह नगरपालिकाको माताहातमा रहेको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा आइतबार राति करिब १२.३० बजे बम विस्फोट भएको गौरादह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले जानकारी दिए । गाडी आवश्यकता अनुसार अधिकृत मिश्रसहित अन्य कर्मचारीहरूले समेत प्रयोग गर्दै आएका थिए ।
क्वार्टर छेउमा पार्किङ गरी राखेको गाडीमा विस्फोट भएको र गाडी पूर्णरूपले क्षति भएको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए। मध्यरातमा ठूलो आवाजकासाथ विस्फोट हँुदा गाउलेहरू त्रसित भएका थिए । मिश्र गौरादह–३ धोबिनिया इन्द्र कटुवालको घरमा बस्दै आएका थिए । विस्फोटबाट कटुवालको घरमा पनि क्षति पुगेको छ।
विस्फोटमा परेको गाडीकोमुनि ठूलो खाल्डो रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ।
त्यस्तै बिर्तामोड–२ चारपानेस्थित सहारा साकोसको निर्माणाधीन भवनमा समेत विस्फोट गराइएको छ । विस्फोटबाट भवनका सिसाहरु चर्किएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको र विस्फोट कसले गराएको हो भन्ने नखुलेको प्रहरीको भनाइ छ ।