अमेरिका-तालिबान वार्ता संकटमा

अमेरिका-तालिबान वार्ता संकटमा

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरूसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द गरेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले तालिबान समूहले गत साता काबुलमा गराएको कारबम आक्रमणबाट एक अमेरिकी सैनिक समेत १२ जनाको मृत्यु भएपछि वार्ता रद्द गरेको बताएका छन्।

ट्विट गर्दै ट्रम्पले अफगानी विद्रोही समूह तालिबानसँगको शान्ति प्रक्रिया पनि स्थगन गरिएको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पको शनिबारको उक्त ट्विट आश्चर्यजनक मानिएको छ। किनभने राष्ट्रपति स्वयंले अफगानी विद्रोही र अरू नेताहरूलाई राष्ट्रपति निवासमा भोजको निमन्त्रणा दिएका थिए।

आतंकवादी संगठन अल-कायदाले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा गरेको भीषण आक्रमणको वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा यो कार्यक्रम आयोजना हुन लागेको थियो।

अमेरिकामा आक्रमणलगत्तै अल-कायदाका नेता ओसामा बिन लादेन लुकेर बसेको अफगानिस्तानमा अमेरिकाले आक्रमण गरी तत्कालीन तालिबानी सरकारलाई अपदस्थ गरेको थियो। अल-कायदा र तालिबानविरुद्ध सन् २००२ यता भएका कारबाहीका क्रममा अफगानिस्तानमा २ हजार ४ सयभन्दा बढी अमेरिकी सैनिकको ज्यान गइसकेको छ।

वार्ता रद्द गरेको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्योलमा परेको छ। हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, सल्लाह र हवाई सुरक्षा प्रदान गर्दै आएको छ। अफगान मामिलासम्बन्धी अमेरिकी विशेषदूत जाल्मे खलिलजादले हालै मात्र तालिबान समूहसँगको वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए। तर राष्ट्रपति ट्रम्पमाथि अफगान सरकार र केही अमेरिकी सांसदले अमेरिकी सैनिक तत्काल फिर्ता गर्न नहुने भन्दै दबाब दिइरहेका थिए।

ट्रम्पले ट्विटमा भनेका छन्, ‘मुख्य तालिबान नेताहरू र अफगानिस्तानका राष्ट्रपतिसँग अलग्गै आइतवार क्याम्प डेभिडमा गोप्य भेटघाटको समय मिलाइएको थियो र यसलाई गोप्य राखिएको थियो। उनीहरू अमेरिका आजै राति आउँदै थिए। दुर्भाग्यवश, उनीहरूले काबुलमा आक्रमण गरे जसका कारण एक अमेरिकी सैनिक र ११ जनाको मृत्यु भयो। मैले तत्कालै बैठक रद्द गरें र वार्ता प्रक्रिया रोकेको छु।’

बिहीवार तालिबानले काबुलस्थित अमेरिकी राजदूतावास नजिकै गरेको कार बम विस्फोटमा ती सैनिक मारिएका थिए। अमेरिका-तालिबान वार्ता भइरहेका बेला केही दिनदेखि तालिबानले देशव्यापी रूपमा शृंखलाबद्ध बम विस्फोट गराइरहेको छ।

अमेरिका-तालिबानबीचको वार्ता समाप्त भएको हो वा स्थगित मात्र भएको हो भन्ने स्पष्ट भइसकेको छैन। राष्ट्रपति ट्रम्पले ट्विटबाट वार्ता भंग भएको जनाए पनि अमेरिकी विशेषदूत खलिलजादले बिहीवार र शुक्रवार कतारको दोहामा तालिबान समूहका नेताहरूसँग परामर्श गर्ने कार्यक्रम छ। अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसले उक्त विषयमा स्पष्ट गरेका छैनन्। यस बारेमा अफगान सरकारले पनि केही बताएको छैन।

तालिबानका एक प्रवक्ता जबिहुल्लाह मुजाहिदले क्याम्प डेभिड बैठकका बारेमा ट्रम्पको भनाइबारे आफूलाई स्पष्ट भइनसकेको बताए। उनले अमेरिकी भनाइका बारेमा अहिल्यै प्रतिक्रिया नदिने बताए।

मुजाहिदले भने, ‘यो राजनीतिक मामिला हो। हामी हाम्रा नेताहरूको प्रतिक्रियाको पर्खाइमा छौं।’ 

वार्ताको सम्भावना जीवितै : पोम्पेओ

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिबान समूहले महत्वपूर्ण प्रतिबद्धतासहित अघि आए थप वार्ताको सम्भावना नरोकिने आइतवार बताएका छन्।

विदेशमन्त्री पोम्पेओका अनुसार राष्ट्रपति ट्रम्पले अझै अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने वा नबोलाउने सम्बन्धमा अझै निर्णय नगरेको र यदि सहमतितर्फ तालिवान विद्रोही तयार नभए थप सैन्य दबावको सामना गर्नुपर्नेछ। अमेरिकी विदेशमन्त्रीले एबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भनिएको छ, ‘मलाई विश्वास छ, तालिवानहरूले आफ्नो व्यवहार परिवर्तन गरी पछिल्लो समय अमेरिकी वार्ता टोलीसँग गरेको सहमतिप्रति प्रतिबद्ध भएमा समस्या समाधान गरी अघि बढ्न सकिन्छ।’-रासस÷एपी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.