अमर न्यौपानेले ल्याए ‘गुलाबी उमेर’
![अमर न्यौपानेले ल्याए ‘गुलाबी उमेर’](https://annapurnapost.prixacdn.net/media/albums/amar-neupane-gulabi-umer_20190909041956_kDzKAsKZQ4.jpg)
काठमाडौं : लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण भएको छ। प्रज्ञा प्रतिष्ठानमा साहित्यकार कृष्ण धरावासी, नायिका केकी अधिकारी र लेखक न्यौपानेले पुस्तक लोकार्पण गरे। कार्यक्रममा धरावासीले यो पुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताए। यो समयमा किशोरीको मनोविज्ञान कसरी विकास हुन्छ, वर्षैपिच्छे उनीहरूको व्यवहार कसरी परिवर्तन हुन्छ र उनीहरूले आफ्नो परिवारसँग कस्तो व्यवहार गर्छन्, त्यो देखाउने प्रयास पुस्तकले गरेको उनको भनाइ छ।
नायिका अधिकारीले पुस्तक एकदमै फरक लागेको प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो। मलाई लाग्छ, यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाले आफ्नो किशोरावस्थाका घटना परिघटनालाई सम्झन्छन्।’
कार्यक्रममा लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए।
पुस्तकमा लेखकले एउटी किशोरीको हुर्कंदो उमेरको कथा पस्किएका छन्। जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखा पर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ। यही उमेरको कथा नै गुलाबी उमेर हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)