नाझ्दा फुटबल : नेपाल २-० ले पछि
काठमाडौं : किर्गिस्तानमा जारी नाझ्दा कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाली महिला टोली अहिले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ। ५३औं मिनेटको खेल चलिरहँदा नेपाल २-० ले पछि छ । पहिलो हाफमा नेपाल १–० ले पछि परेको नेपालले दोस्रो हाफको केहिबेर पछि नै अर्को गोल खाएको हो ।
उज्वेकिस्तान महिला टोलीले ३४औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो। नेपाली डिफेन्स कमजोरीको फाइदा उठाउँदै उज्वेकिस्तानले गोल गरेको हो। नेपाली महिला टोलीले अर्को गोल ५१औं मिनेटमा खाएको हो । यसअघि आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८-२ गोल अन्तरले पराजित गरेको थियो। उज्वेकिस्तानले ताजकिस्तानलाई १२-० ले पराजित गरेको थियो।
गोल अन्तरका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ। चार टोली सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्।
नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीस्वरूप नाझ्दा कप फुटबल खेलेको हो। किर्गिस्तानको आमन्त्रणामा सहभागिता जनाएको नेपालले उपाधिको लक्ष्य लिएको टोलीका प्रशिक्षक हरि खड्काले बताएका छन्। नेपाली महिला टोली सागको उपाधि जित्ने लक्ष्यका साथ पछिल्लो समय लगातार अभ्यास गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)