हनुमानढोकामा इन्द्रजात्राको तयारी (तस्बिर)
![हनुमानढोकामा इन्द्रजात्राको तयारी (तस्बिर)](https://annapurnapost.prixacdn.net/media/albums/indra-jatra-tayari-cover_20190909071715_1bAjHZUjbm.jpg)
काठमाडौं : हनुमानढोका दरबार क्षेत्र यतिबेला बेहुलीझैं सिंगारिएको छ। काठमाडौंको सबैभन्दा ठूलो चाड येंयाः पून्हि (इन्द्रजात्रा) का लागि दरबार क्षेत्रका मन्दिरहरुमा रातो झल्लर लगाएर सिंगारिएको हो। इन्द्रजात्रा मंगलबारदेखि सुरु हुँदैछ।
जात्रामा आकर्षण थप्न २९ गुठी अन्तिम तयारीमा जुटिरहेका छन्। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यका अनुसार इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्षको इन्द्रजात्रालाई व्यवस्थित र सनुशासित बनाउन विशेष तयारी भइरहेको उनले बताए। ‘सधैंझैं यसवर्ष पनि सुरक्षा निकायसँगको सहकार्यमा जात्राको व्यवस्थापन भइरहेछ,’ उनले भने।
कुमारीको रथ परिक्रमा गरिने बाटोको मर्मत सम्भार पनि सकिएको उनले बताए। इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाइ चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ। सोमबार जात्राको तयारीका लागि अशोक विनायक गुठीले इन्द्रराख्न खट बाँधिरहेको छ।
स्वेत भैरवको मन्दिरमा होम गर्ने र बली दिने कार्यको सुरुवात पनि आजैबाट सुरु भएको स्वेत भैरव व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ताम्रकारले जानकारी दिए। जात्राका लागि हनुमानढोका दरबार क्षेत्रमा रहेका मठमन्दिरमा झल्लर लगाउने र सरसफाइको काम केहि दिन अगाडिबाट नै सुरु भएको थियो।
आठदिनसम्म मनाइने यो पर्व काठमाडौं लगायत भक्तपुर र ललितपुरमा समेत धुमधामले मनाइन्छ। द्वादशीका दिन हनुमानढोकाको काल भैरव अगाडि यःसि(इन्द्रध्वज)ठड्याएपछि इन्द्रजात्राको रोनक सुरु हुन्छ।
इन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीको रथ यात्रादेखि देवी नाच, इन्द्रद्यः ब्वयेगु(इन्द्र प्रदर्शन), सवःभक्कु (हल्चोक आकाश भैरव) प्रदर्शन, उपाकु वनेगु (बाटो बाटोमा बत्ति बाल्दै हिंड्ने), पुलुकिसि नाच, लाखे नाच, दागिं जात्रा, बौमत, दश अवतार, महाकाली नाच, हाथु द्यः प्रदर्शन लगायत विभिन्न सांस्कृतिक तथा धार्मिक कार्य हुन्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)