मुड्केचुला गाउँपालिकामा प्रथम अध्यक्ष कप शुरु
डोल्पा : डोल्पाको मुड्केचुला गाउँपालिकामा प्रथम अध्यक्ष कप शुरु भएको छ । गाउँपालिकाको आयोजनामा प्रथम अध्यक्ष कप खेलकुद शुरु भएको हो । आइतबारदेखि शुरु भएको प्रथम अध्यक्ष कपमा गाउँपालिका भित्रका ९ वटा वडाले सहभागिता जनाएका छन्। सबै वडाका खेलाडीले प्रथम अध्यक्ष कपमा सहभागिता जनाएका हुन्।
अध्यक्ष कपमा महिला तथा पुरुष भलिबल, फुटबल, ब्याडमिण्टन, म्याराथुनलगायतका दर्जन खेलकुद हुने गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। अध्यक्ष शाहीका अनुसार गाउँपालिकामा अध्यक्ष कप गराउँदा खेलाडीको छनौट पनि हुने र खेलाडीमा मनोबलको विकास हुने भएकाले कपको आयोजना गरिएको बताए।
गाउँपालिकाको अन्नपूर्ण माध्यामिक विद्यालय सर्मिमा अध्यक्ष कपका सबै खेलकुद सञ्चालन गरिएको र प्रोत्साहान स्वरुप थोरै नगदको समेत व्यवस्था भएको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।
गाउँपालिकामै खेलको शुरुवात गरेमा त्याहाँबाट छनौट भएको खेलाडीले जिल्लामा मात्रै नभएर प्रदेश तथा राष्ट्रिय स्तरमा समेत प्रतिस्प्रधा गर्न सक्ने आशा राखेकाले पनि गाउँपालिकाले अध्यक्ष कपको आयोजना गरेको अध्यक्ष दत्तबहादुर शाहीको दावी रहेको छ ।
मुड्केचुलामा भइरहेको प्रथम अध्यक्ष कप २५ गते सम्म सञ्चालन हुनेछ । डोल्पाबाट प्रदेश तथा राष्ट्रिय खेलकुदमा हाल सम्म मुड्केचुलाका खेलाडीले नै गर्दै आएका छन्। उनीहरुको मनोबल बढाउन खेलकुदको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।