एनआरएनएको महिला संयोजकमा संगीताको उम्मेदवारी किन ?

एनआरएनएको महिला संयोजकमा संगीताको उम्मेदवारी किन ?

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजक पदमा मिडियाकर्मी, एनआरएनए अभियन्ता तथा लन्डन निवासी व्यवसायी संगीता मरहट्टाले उम्मेदवारीसँगै आफ्ना प्रतिवद्धता र योजना सार्वजनिक गरेकी छिन्। 

आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा आफ्नो उम्मेदवारी बलियो रहेको संगीताको दाबी छ। हाल युरोप क्षेत्रीय महिला उपसंयोजक रहेकी संगीता पहिले बीबीसी नेपाली सेवामा कार्यरत थिइन्।

स्थापनाको डेढ दशक नाघिसकेको र ८० वटा देशमा फैलिसकेको गैरआवासीय नेपाली संघलाई आजको यस अवस्थासम्म ल्याइपुर्‍याउन महिलाको अत्यन्तै ठूलो योगदान रहेको संगीता बताउँछिन्। तर संघमा अझैं पनि महिला र दोस्रो पुस्ताको संलग्नता तुलनात्मक हिसाबले कमी नैं देखिएको छ। संघमा महिलाको सशक्त उपस्थितिलाई बढावा दिँदै नेपाल तथा डायस्पोरामा रहेका महिलाको ज्ञान, सीप र अनुभव समेतलाई समेटेर महिलाको आर्थिक स्वाबलम्बन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरममार्फत विविध योजनाहरु समेटेर आफू अघि बढ्न लागेको उनले बताइन्।

 
मरहट्टाले भनिन्,  'सञ्चारकर्मी, व्यवसायी तथा विगत एक दशक लामो एनआरएनए सँगको संलग्नताको अनुभवका आधारमा महिला संयोजकको भूमिकालाई कुशलताका साथ निर्वाह गर्न सक्नेमा म अत्यन्तै विश्वस्त छु।

उनले महिला संयोजकको जिम्मेवारी आफूले पाएमा महिलासँग रहेको सीप र क्षमतालाई अझै बढी उजागर गर्ने र उनीहरुलाई उद्यमशील बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने कुरामा सहयोग गर्ने लक्ष्य राखेकी छन् । 

बिबिसी नेपाली सेवा, लन्डनमा लामो समय काम गरिसकेकी मरहट्टा उच्च शिक्षाका सिलसिलामा १९ वर्षअघि बेलायत आएकी हुन् । पेशाले पत्रकार उनले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथाबाट रेडियो पत्रकारिताको शुरुवात गरेकी हुन् । यसअघि उनी छापा पत्रकारितामा संलग्न थिइन्। 
 
बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् । 

लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित मरहट्टाले आफ्नो लेखनलाई पनि निरन्तरता दिइरहेकी छन् । अहिले पनि नियमित रुपमा राष्ट्रिय मिडियामा आफ्ना लेखहरु छपाउँदै आएकी छन् ।

गैरआवासीय नेपाली अभियानमा शुरुदेखि नैं संलग्न रहँदै आएकी मरहट्टा सन् २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भूमिकाबाट औपचारिक रुपमा संघमा आबद्ध भएकी हुन् ।

सन् २०१३ देखि २०१५ कार्यकालमा एनआरएनए युकेको सचिवमा निर्वाचित भएकी हुन्।सो कार्यकालमा उनले नारी दिवस कार्यक्रम, काउन्सिल बैठक, च्यारिटि डिनरलगायतका कार्यक्रमको संयोजन गरी त्यसलाई सफल रुपमा सम्पन्न गरेकी थिइन् । एनआरएनए युकेको इतिहासमा पहिलोपटक 'एनआरएन पत्र' नामक न्युजलेटरको शुरुवात पनि उनकै संयोजनमा भएको थियो ।

सन् २०१५ देखि २०१७ को कार्यकालमा आइसिसि सदस्य रहेकी मरहट्टा एनआरएनए आइसिसिको मिडिया उपसंयोजकका रुपमा चुनिएकी थिइन् । हाल २०१७ देखि २०१९ मा मरहट्टा युरोप क्षेत्रीय उपसंयोजक छन् । लक्जेम्बर्ग तथा इटालीमा क्षेत्रीय महिला भेलाहरु सम्पन्न गर्नुका साथै उनले आफ्नो कार्यकालमा बेल्जियम, फ्रान्स, अष्ट्रियालगायतका युरोपेली देशहरुमा पुगी महिला फोरमको सशक्तिकरण, युरोपमा महिलाले भोग्नु परेका भाषालगायतका समस्यामा जोड दिँदै त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने माग गर्दै आएकी छन् । 

संगीताले उम्‍मेदवारीसँगै दस बुँदे घोषणापत्र सार्वजनिक गरेकी छिन्। आइसिसि महिला संयोजक, क्षेत्रीय महिला संयोजकहरुको काम, कर्तव्य र अधिकारलाई स्पष्ट पार्ने, एनआरएनए महिला फोरमले स्वदेशमा रोजगारीका लागि प्रोत्साहन र विदेश जानेहरुका लागि चेतनामुलक कार्यक्रमको शुरुवात गर्ने, डायस्पोरामा रहेका सफल महिला व्यवसायी तथा अन्य विभिन्न पेशामा संलग्न महिलालाई एकै ठाउँमा ल्याउने र अनुभवहरु साटासाट गर्न महिला फोरमले सक्दो पहल गर्ने, एनआरएनएका मुख्य धारका पदमा संलग्न हुन र अन्य महिलालाई प्रोत्साहन दिन, हरेक राष्ट्रिय समन्वय परिषदमा महिलाको सशक्त सहभागीताका लागि आवाज उठाउने र नेतृत्व तहमा समेत महिलाको सहभागीताका लागि विश्वव्यापी रुपमा नैं आवाज उठाउने काम महिला फोरमले गर्ने, हरेक एनसिसिका महिला फोरममा घरेलु हिंसाको लागि कमिटि बनाउन महिला फोरमले पहल गर्नेलगायतका विषयलाई घोषणापत्रमा जोड दिइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.