विश्वभर आज : बेलायतमा पाइलटहरुको हड्तालदेखि तालिबानीसँग अमेरिकी वार्ता पहल

विश्वभर आज : बेलायतमा पाइलटहरुको हड्तालदेखि तालिबानीसँग अमेरिकी वार्ता पहल

काठमाडौँ : आज पनि विश्वका केही मुलुकमा ठूला घटना भए । जसले संसारकै ध्यान तानेका छन् । खासगरी बम हमला, आन्दोलन, वार्ता असफल जस्ता केही मानव निर्मित घटनाले विश्वका प्रभावशाली देशलाई आकर्षित गरे । प्रस्तुत छन् केही मुख्य समाचार :


बुर्किना फासोमा बम हमला, २९ जना मारिए

बुर्किना फासो : बुर्किना फासोमा दुई अलग बम हमलामा कम्तिमा २९ जना मारिएका छन् । बुर्किना फासोको उत्तरी क्षेत्रस्थित खाद्यान्न र यात्रु बोकेर गुडिरहेका दुई फरक ट्रकमाथि हमला भएको यहाँको सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता रेमिस फुल्गान्स डान्जिनोका अनुसार मृत्यु हुने अधिकांश व्यापारीहरु थिए । संसारकै गरिबमध्ये पर्ने मुलुक बुर्किना फासोमा २०१५ देखि हतियारधारी समूहले विद्रोह गर्दैआएका छन् । र यस्ता समूहको संख्या बढ्ने क्रम छ । यही महिनाको सुरुमा उत्तरी क्षेत्रस्थित सैनिक क्याम्पमा हमला गर्दा २४ जना मारिएका थिए ।यहाँ सक्रिय विद्रोही समूह छिमेकी मालीबाट सुरु भएको बताइन्छ ।

तालिबानसँग फेरि वार्ता हुन्छ : अमेरिकी विदेशमन्त्री

काबुल : अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले तालिबानी समूहसँग भंग भएको वार्ता फेरि सुरु हुने बताएका छन् । दुई पक्षबीच वार्ताको तयारी भइरहँदा अफगानिस्तानमा बिहीबार तालिबानी समूहले विस्फोट गराएपछि वार्ता भंग भएको थियो ।

घटनापछि तालिबानी समूह वार्ताको लागि लचिलो भएको कुरा व्यवहारमा नदेखिएको पोम्प्योको गुनासो थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबान र अफगानिस्तानका प्रतिनिधिबीच यही शनिबार हुने भनिएको वार्ता रोकेका थिए ।

त्यसपछि नै त्यहाँका विदेशमन्त्री माइकले वार्ताको सम्भावना नटरेको भन्दै आशा व्यक्त गरेका हुन् । फक्स न्युजका लागि अन्तर्वार्ता दिँदै माइकले यस्तो बताए । उनले वार्ता फेरि सुरु हुनेमा विश्वास व्यक्त गरेका हुन् ।

तालिबानीलाई वार्ताको लागि युद्ध रोक्न अफगान सरकारको आग्रह


काबुल : तालिबानी विद्रोही समूहलाई युद्ध रोक्न र काबुलसँग प्रत्यक्ष वार्तामा आउन अफगान सरकारले आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार अफगान सरकारसहित तालिबानीसँग वार्ताको तयारी गरिरहँदा स्थगित भएपछि अफगान सरकारको यस्तो आग्रह आएको हो ।

अफगान सरकारले विज्ञप्ति जारी गर्दै तालिबानी समूहले हमला रोकेर युद्धविराम गरेपछि मात्रै वास्तविक शान्ति वार्ता सम्भव भएको जनाएको हो । साथै सरकारले जारी गरेको विज्ञप्तिमा आफूहरु शान्ति वार्ताको पक्षमा रहेको पनि बताइएको छ ।

‘हामीसँग वार्ताको लागि शर्तहरु छैनन, तर शान्तिसँग केही शर्त हुन्छन् । उनीहरुले हत्या रोक्नुपर्छ । हिंसालाई निरन्तरता दिएरै वार्तामा बस्न कसरी सम्भव हुन्छ ? प्रष्ट शंकेत के छ भने तालिबान शान्तिका लागि इच्छुक छैनन !’

भारतको चन्द्रयान–२ को प्रशंसा गरिन् पाकिस्तानी खगोलविद्ले


नयाँदिल्ली : पाकिस्तानी पहिलो महिला खगोलविद्को रुपमा चिनिने नमिरा सलीमले भारतले चन्द्रमामा पठाएको चन्द्रयान–२ बारे खुलेर प्रशंसा गरेकी छन् । एक ऐतिहासिक काम भएको भन्दै भारतको उक्त कदमको तारिफ गरेकी हुन् ।

उनले भनिन्, ‘म भारत र आईएसआरओको चन्द्रमाको दक्षिणी ध्रुवमा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङको प्रयासको सह्राना गर्छु । चन्द्रयान–२ दक्षिण एसियाको लागि मात्रै नभएर पूरा विश्वको अन्तरिक्ष उद्योगका लागि गर्वको विषय हो ।’

वैज्ञानिकहरुका अनुसार ७ सेप्टेम्बरमा चन्द्रयान–२ चन्द्रमाको सतह भन्दा २ किलोमिटर परसम्म पुग्दा सम्पर्कमा थियो । यसपछि सम्पर्कविहीन भएको बताइन्छ ।
आईएसआरओका वैज्ञानिकहरु अझै सम्पर्कको पहल गरिरहेको बताएका छन् ।

पाकिस्तानी खगोलविद् नमिराले अन्तरिक्षमा दक्षिण एसियाको प्रयास उल्लेखनीय रहेको बताएकी थिइन् । साथै कुन देशबाट पठाइयो भन्ने कुराले केही फरक नपर्ने पनि उनको भनाइ थियो । नमिरा पाकिस्तानको तर्फबाट अन्तरिक्षमा जाने पहिलो महिला हुन् ।

श्रीलंकामा हात्तिको आक्रमणबाट १८ घाइते


कोलम्बो : श्रीलंकाको एक बुद्धिष्ट कार्यक्रममा प्रदर्शन गराइएको एउटा हात्तिले आक्रमण गर्दा १८ जना घाइते भएका छन् । गत रातिको कार्यक्रममा उपस्थित मान्छेको भीडलाई हात्तिले अचानक आक्रमण गर्न थालेको हो ।

कोट्टेस्थित गरिएको उक्त बुद्धिष्ट कार्यक्रमको देराना टेलिभिजनले भिडियो सार्वजनिक गरेको थियो । हात्तिको आक्रमणसँगै मान्छेहरुको भागदौड नै मच्चिएको थियो । घटनामा घाइतेहरुलाई दुईवटा अस्पतालमा उपचार गराइँदै छ । जसमध्ये केहीको डिस्चार्ज भइसकेको छ ।

चीनको व्यापार नीतिमाथि भारतीय विदेशमन्त्रीको कडा आलोचना

नयाँदिल्ली : भारतीय विदेशमन्त्री एस जयशंकरले चीनको एकपक्षीय व्यापार नीतिको आलोचना गरेका छन् । खुला व्यापार सम्झौताको सहजिकरण नगरेकोमा गुनासो गर्दै उनले चीनका नीतिमाथि टिप्पणी गरेका हुन् ।

सिंगापुरस्थित ‘प्यानल डिस्कसन’मा उनले यस्तो बताएका हुन् । मन्त्री जयशंकरले यस क्रममा ‘अपारदर्शी बजार, र ‘चिनियाँ संरक्षणवादी नीति’बारे आलोचना गरे । र त्यस्ता नीतिले गर्दा दुई देशबीचमा संकट पैदा भएको उनले बताए । प्यानल डिस्कसनमा सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णन पनि सहभागी थिए ।

बेलायतमा तलब माग्दै पाइलट हड्तालमा, सबै उडान रद्ध

लण्डन : बेलायतमा ब्रिटिश एयरवेजले पाइलटहरुको हड्तालका कारण लगभग सबै उडान रद्ध गरेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार तलब विवादका कारण पाइलटहरु हड्तालमा छन् ।

ब्रिटिश एयरलाइन्सको १ सय वर्षको इतिहासमा यसलाई सबैभन्दा ठूलो हड्ताल मानिएको छ । कम्पनीका प्रवक्ताले एयरलाइन्सले हरेक दिन उडान भर्ने आफ्ना ८५० वटा उडान रद्ध गरेको हो ।

टेलिग्राफको समाचार अनुसार पाइलटको हड्तालबाट २ लाख ८० हजार मानिस प्रभावित बनेका छन् । यसबाट ८० मिलियन पाण्ड नोक्सान हुने बताइन्छ । न्युयोर्क, हङकङ, दिल्ली, जोहानेसबर्ग लगायत सहरमा जाने उडान रद्ध गरिएको छ । तलब र भत्ता कटौती भएको भन्दै असन्तुष्ट पाइलटहरु हड्तालमा उत्रिएका हुन् ।
अगस्ट २३ मा उनीहरुले दुईदिने हड्तालको घोषणा आह्वान गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.