आँधीले भग्नावशेष बहमास
नसाउ : बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीले बहमासलाई तहसनहस बनाएको छ । स्थानीय बासिन्दा भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन संघर्षरत रहेका छन् ।
समुद्रको छाल र भीषण वर्षासहित आएको डोरियन आँधीले अस्तव्यस्त तुल्याएको यहाँको जनजीवन अझै पनि असामान्य रहेको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी ‘इतिहासकै दुःखान्त’ भएको बताएका थिए । डोरियनका कारण अमेरिकाको पूर्वी तटीय इलाकासहित हाल यो पूर्वी क्यानडामा केन्द्रित भएको छ ।
यहाँ पनि आँधीले ठूलै क्षति गरेको छ । बहमासका स्वास्थ्यमन्त्री ड्वाने सनड्सले डोरियन आँधीबाट ४४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यसअघि यस आँधीको प्रकोपबाट ३० जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको थियो । यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् । –रासस÷एएफपी