‘सत्तामाथि जित’को प्रतीक इन्द्रजात्रा
काठमाडौं : काठमाडौंमा मनाइने ‘येंयाः’ पर्व (इन्द्रजात्रा) मंगलबारबाट सुरु भएको छ । आठ दिनसम्म मनाइने यो जात्रा शासन सत्ता परिवर्तन भएसँगै परिमार्जन हुँदै अगाडी बढेको पाइन्छ । लिच्छवी, मल्ल र शाहकाल हुँदै आजको संघीय गणतन्त्र नेपालसम्म आइपुग्दा नेपालमा थुप्रै शासक र शासन व्यवस्था परिवर्तन भइसक्यो।
हरेक पल्ट जनता सडकमा उत्रिएपछि जतिसुकै शक्तिशाली भनिएको सत्ताले पनि घुँडा टेक्न बाध्य भएको छ । इन्द्रजात्राका अवसरमा मरुटोलमा रहेको मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा डोरीले बाँधेर राखिने इन्द्र त्यहि सत्ताको प्रतीक हो।
संस्कृतिविद् हरिराम जोशीका अनुसार जनताले आफ्नो पूजा नगर्ने डरका कारण इन्द्रले धर्तीमा अतिवृष्टि गराएर खेतीबाली सखाप पारिदिएका थिए । आफूप्रतिको आस्थामा कमी आउन नदिन कहिले अनावृष्टि गराउने त कहिले अतिवृष्टि गराएर तर्साउँथे ।
एक दिन आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आए । पारिजातको फूल टिप्न लाग्दा यहाँका किसानहरुले उनलाई चोरको संज्ञादिई डोरीले पाता कसी बीच सडकमै उभाएका थिए । आफूहरुलाई दुःख दिने राजा इन्द्रलाई नियन्त्रण गर्न सकेको खुसियालीमा इन्द्रजात्रा मनाउन थालिएको हो भन्ने किंवदन्ती छ।
संस्कृतविद् जोशी भन्छन्, ‘इन्द्र सत्ताको प्रतीक भएकाले नै इन्द्रजात्रामा उनको पूजाआरधना गरिँदैन ।’ जोशी इन्द्र सत्ता र इन्द्रध्वज (लिंङ्गो) राष्ट्रिय झण्डाको प्रतीक भएको बताउछन् ।
इन्द्रजात्रा शाह राजाको उत्सव
इन्द्रजात्राको महत्व धार्मिक र साँस्कृतिक रुपमा जति छ त्यति नै महत्व राजनितीक रुपमा पनि छ ।साढे दुई सय वर्ष अगाडी पृथ्वी नारायण शाहले कान्तिपुर (हाल काठमाडौं) मा आक्रमण गरेका थिए । उक्त आक्रमणपछि उनले कान्तिपुर नगरी जिते । जितसंगै विजय उत्सव निकालियो।
संयोगबस त्यो समयमा इन्द्रजात्रा चलिरहेको थियो । भाद्र शुक्ल द्वादशीका दिनबाट सुरु हुने इन्द्रजात्रा काठमाडांैबासीले धुमधामसँग मनाउँछन् । यहि पर्वको मौका छोपेर विजय उत्सवलाई पनि सँगसँगै लग्न थालियो।
संस्कृतविद डा. त्रिरत्न मानन्धरका अनुसार हाल भदौ शुक्ल चतुर्दशी (यस वर्ष भदौ २७ गते परेको छ) मा दिइने विदाले त्यहि शाह राजाको विजय उत्सवलाई इंगित गर्छ । काठमाडौं जितेपछि यही ठाउँलाई देशको राजधानी घोषित गरी शाह राजाहरुले शासन गरेका थिए ।
फाइल फोटो
यःसिं (लिङ्गो) ठड्यापछि सुरु हुने इन्द्रजात्राको चौथो दिन कुमारीको रथ तानिन्छ । कुमारीलाई मुख्यतया भाद्र शुक्ल चतुर्दशी र पूर्णिमाका दिन काठमाडौंका निश्चित स्थानहरुमा घुमाउने चलन छ । चतुर्दशीका दिन क्वनेयाः अर्थात हनुमान ढोकाको तल्लो टोलहरुमा नेवार समुदायले मान्दै आएको जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी परिक्रमा गराइन्छ । भाद्र शुक्ल पूर्णीमाका दिन थनेयाः अर्थात माथिल्लो टोलहरुमा परिक्रमा गराइन्छ ।
राजा जयप्रकाश मल्लको शासनकालसम्म भाद्र शुक्ल पूर्णिमालाई इन्द्रजात्रामा विशेष महत्व दिइन्थ्यो । तर पृथ्वी नारायण शाहले काठमाडौं जितेको दिन भाद्र शुक्ल चतुर्दशी भएकाले चतुर्दशीको दिनलाई बढी महत्व दिन थालिएको हो । डा. त्रिरत्न भन्छन्, ‘चतुर्दशीका दिन पृथ्वीनारायण शाहले काठमाडौं जितेका थिए,’ उनले भने, ‘त्यही जितलाई उत्सवको रुपमा मनाउन थालिएको हो ।’
इतिहासकार योगेन्द्रमान श्रेष्ठका अनुसार पृथ्वीनारायण शाहले तीन पटकसम्म विभिन्न राज्यमा इन्द्रजात्रा कै समयमा आक्रमण गरेका थिए । उनले उपत्यकामा आक्रमण गर्न धेरै वर्षदेखि योजना बनाइरहेका थिए । इन्द्रजात्रा लामो पर्वमध्ये एक भएकाले उनले हरेकपल्ट यही जात्राको अवसर छोपेर उपत्यकामा आक्रमण गरे । चन्द्रागिरीको डाँडाबाट उपत्यकाको मनोहरा फाँटदेखेपछि पृथ्वी नारायण शाहमा उपत्यका जित्ने महत्वकांक्षा पलाएको थियो । त्यतिबेला उनी लोभिनुको अर्को कारण उपत्यकामा राम्रो खेती हुनुकासाथै प्रत्येक मन्दिरमा सुनका गजुर हुनेगर्थे ।
पृथ्वीनारायण शाहले उपत्यका जित्न नाकाबन्दी नै लगाएका थिए । उनले क्षेत्रपाटि, टुँडिखेल, नरदेवी, खिचापोखरीमा सेना समेत परिचालन गराएका थिए । ‘पृथ्वीनारायण शाह नरदेवीको द्यःछेँमा बसिरहेका थिए, श्रेष्ठले भने, उक्त समय कुमारीको रथ घुमेर ह्ुमत पुगिसकेको थियो । सोही ठाउँमा पृथ्वीनारायणले आक्रमण गर्दा जयप्रकाश मल्ल पाटन भागे । कान्तिपुरका राजा भागेपछि त्यसको भोलिपल्ट नै कुमारी घरको डबलीमा गद्दी राखेर नयाँ राजाकारुपमा पृथ्वीनारायण शाहलाई कुमारीसँग टिका ग्रहण गरे । यस्तो प्रचलन २००७ सालसम्म कायम भएको श्रेष्ठ बताउछन् । कुमारीको रथ परिक्रमा गराउने कार्यको थालनी जयप्रकाश मल्लले सुरु गरेका हुन् ।
अहिलेको इन्द्रध्वज शाह राजाको तामझाम
नेपाल पञ्चाङ निर्णाय समितिले मंगलबार बिहान नौं बजेर १७ मिनेटमा लिङ्गो अर्थात इन्द्रध्वजोत्थानको साइत निकालेको थियो । सोही साइतमा लिङ्गो ठड्याइएको छ । हनुमानढोमा रहेको कालभैरवको अगाडी लिङ्गो ठड्याएपश्चात इन्द्रजात्राको चहलपहल सुरु हुन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो प्रतिस्थापन गर्ने चलन पृथ्वी नारायण शाहका छोरा प्रताप सिंहको पालामा चलेको मानिन्छ । तर त्यो भन्दा अगाडीदेखि नै कान्तिपुरमा लिङ्गो गाड्ने चलन भएको संस्कृतविद्को भनाइ छ।
मल्ल कालमा सुरु भएको लिङ्गो गाड्ने चलन साधारणरुपमा मनाइन्थ्यो । शाह कालदेखि यस पर्वलाई तामझामका साथ मनाउन थालिएको हो । डा. मानन्धर भन्छन्, ‘मल्लकालमा एकादशीका दिन नै लिङ्गो ठड्याइन्थ्यो । पृथ्वीनारायण शाहको पालादेखि द्वादशीका दिनबाट लिङ्गो ठड्याउन थालियो ।’
इन्द्रजात्रा शाह राजाहरुको उत्सवको रुपमा रहेको प्रमाण २००७ सालसम्म टुँडिखेलमा गरिने विजय परेडबाट पाउन सकिन्छ । नेपाली सेनाले उक्त परेड काठमाडौं जितेको खुसीयालीमा मनाउने गथ्र्याे। प्रजातन्त्र आएपछि भने रोकियो ।आठ दिनसम्म मनाइने यो पर्व काठमाडौं लगायत भक्तपुर र ललितपुरमा समेत धुमधामले मनाइन्छ।
इन्द्रजात्राको अवसरमा जिवित देवी कुमारीको रथ यात्रादेखि देवीनाच, इन्द्रद्यः ब्वयेगु (इन्द्र प्रदर्शन), सवःभक्कु (हल्चोक आकाश भैरव) प्रदर्शन, उपाकु वनेगु (बाटो बाटोमा बत्ती बाल्दै हिंड्ने), पुलुकिसि नाच, लाखे नाच, दागिं जात्रा, बौमत, दश अवतार, महाकाली नाच, हाथुद्यः (श्वेत भैरव) प्रदर्शन लगायत विभिन्न साँस्कृतिक तथा धार्मिक गतिविधि सञ्चालन हुन्छन् ।