नेपालका गान्धीको रुपमा दिल्लीमा बीपीको सम्झना
नयाँ दिल्ली : बीपी जयन्तीका अवसरमा नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बीपी कोइरालाको राजनीतिक योगदानको स्मरण गरिएको छ। बीपीको १०५ औं जन्मजयन्तीको अवसर पारेर नयाँ दिल्लीमा आयोजित कार्यक्रममा नेपालको लोकतान्त्रिक आन्दोलन तथा भारतीय स्वतन्त्रता संग्राममा उनले पुर्याएको योगदानको चर्चा गरिएको थियो।
जीवनको अधिकांश समय भारतमा बिताएका नेता बीपी कोइरालाले भारतको स्वतन्त्रता संग्राममा पनि सक्रिय र नेतृत्वदायी भूमिका खेलेका थिए। जसका कारण उनले दुई पटक भारतीय जेलमा समेत कैदी जीवन बिताएका थिए।
नयाँ दिल्लीमा भएको कार्यक्रममा इन्दिरा गान्धी कला केन्द्रका अध्यक्ष तथा वरिष्ठ पत्रकार राम बहादुर रायले बीपीलाई नेपालका महात्मा गान्धीको संज्ञा दिए। ‘भारतमा महात्मा गान्धीको जुन स्थान छ, नेपालमा त्यही स्थान बीपीको छ। नेपालमा उनीभन्दा महान राजनीतिक नेता अहिलेसम्म जन्मिएका छैनन्।’
अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठान, भारतले गरेको ‘बीपी कोइराला र प्रवासी जीवन’ कार्यक्रममा बोल्दै रायले भने, ‘बीपी जति राजनीतिज्ञ थिए उति नै अध्यात्मिक। गान्धीले पनि सम्पूर्ण जीवन राजनीतिक लडाइँ लडे तर उनी धार्मिक र अध्यात्मिक पनि थिए। बीपीले पनि आफ्नो सम्पूर्ण जीवन नेपालमा प्रजातन्त्र ल्याउनका लागि खर्चे तर उनी अध्यात्मिक व्यक्ति पनि थिए। त्यसकारण भारतमा गान्धीको जुन स्थान छ, त्यही नेपालमा बीपीको छ।’
बनारस,पटना र दिल्लीमा बीपीलाई धेरै पटक देखेको भए पनि उनको संगत भने गर्न नपाएको बताए।
बीपीको चाहना नेपालमा ब्रिटेनमा जस्तो लोकतान्त्रिक व्यवस्था स्थापित होस् भन्ने रहेको स्मरण गर्दै उनले भने, ‘नेपालको दुर्भाग्य र समस्या, नेपाल राज्य पहिले बन्यो र राष्ट्र बन्ने दुष्चर्कमा फँसेको छ।'
राष्ट्र बनाउन बीपीले आफ्नो सम्पूर्ण जीवन लगाएका थिए। ६८ वर्षको उमेरमा निधन भएका बीपीलाई त्यतिबेला पूरै दुनियाँले महान नेताको रुपमा याद गरेको पनि उनले स्मरण गरे।
बीपीको विश्वास के थियो थियो भने भारत स्वतन्त्र हुनासाथ नेपालमा पनि लोकतन्त्र बहाली हुनसक्छ। भारतको स्वतन्त्रता आन्दोलनलाई समर्थन गर्नुको पछाडिको कारण पनि यही थियो। १९४६ मा भारतमा जवाहरलाल नेहरुको नेतृत्वमा अन्तरिम सरकार बनेपछि बीपीले नेपालमा राणशासनको विरुद्ध लोकतन्त्रको संघर्ष आह्वान गर्दै अपिल जारी गरेका थिए।
विद्यार्थी जीवनकालमा बीपीको थोरबहुत संगत गर्न पाएका भारतका कौशल विकास तथा उद्यमशीलता मन्त्री महेन्द्रनाथ पाण्डेले बीपीलाई लोकतान्त्रिक आन्दोलनका अग्रणी नेताका रुपमा सम्झिए। ‘बीपी १९३० र १९४२ मा भारतको स्वतन्त्रता आन्दोलनको क्रममा जेल परेका थिए। उहाँको महात्मा गान्धी, जवाहरलाल नेहरु, राममनोहर लोहिया, जयनारायण प्रकाश (जेपी), अटल विहारी बाजपेयी, दीनदयाल उपाध्याय लगायतका नेतासँग घनिष्ठ सम्बन्ध थियो। प्रधानमन्त्री चन्द्रशेखरसँग पारिवारिक सम्बन्ध थियो।’
उनले बिहारको जेपी आन्दोलनमा पनि बीपीले साथ दिएको स्मरण गर्दै भने, ‘लोकतान्त्रिक अग्रणी नेता बीपीले नेपाल भारत बीचको एकतालाइ मजबुत बनाउने दिएको योगदानलाई भारतीयले कहिल्यै बिर्सन सक्दैनन्।’
प्रवासी जीवनका क्रममा बीपीले भारतलाई दिएको साथ चन्द्रशेखरले कहिल्यै बिर्सेका थिएनन्। ‘हिन्दुस्तानमाथि बीपीको ऋण छ। त्यसलाई चुक्ता गर्न आएको हुँ', नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन दिन पुगेको बेला चन्द्रशेखरले भनेको कुरा सम्झँदै उनका राजनीतिक सल्लाहकार एचएन शर्माले सुनाए।
आन्दोलन र जन-जनबीचको सम्पर्कबाट नेपाल भारतबीच जुन किसिमको सम्बन्ध बीपीको पालामा बनेको थियो, अहिले त्यस्तो अवस्था छैन। त्यसैले दुई मुलुकको सम्बन्ध पुनरावलोकन गर्दै युवा नेतृत्वलाई जोड्नुपर्ने कार्यक्रमका सहभागीले बताए। 'यसैको एक कडी यो कार्यक्रम हो', प्रतिष्ठानका संस्थापक सन्दीप रानाले भने।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. नारायण खड्का, दीलेन्द्र बडु तथा पूर्व अर्थराज्य मन्त्री उदयशमशेर राणा, कांग्रेस जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले बीपीको योगदान र उनको भारतसँगको सम्बन्धमाथि प्रकाश पारेका थिए।