बालविवाहको भयानक रुप : बालिका गर्भवतीदेखि सम्बन्ध विच्छेदसम्म
बेनी : सुजिता परियार(१५) आफू दुलही बन्न लागेको थाहा पाएपछि छाँगाबाट खसेजस्तै भइन्। म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीकी सुजिता (नाम परिवर्तन)ले फुपुको घरमा गएको तीनपछि मात्र आफू बुहारी बन्न लागेको थाहा पाएकी थिइन्।
‘आफन्तको किरीयामा चितवनबाट आएका फुपुका छोराले घर जाम भनेर फकाएर लगे,’ कक्षामा पढ्ने सुजिताले भनिन्,‘फुपूको घरमा गएको तीन दिनपछि सिन्दुर हाल्ने र भिœयाउने कुरा सुनेपछि म त्यहाँबाट भागेर आएँ।’
ताकम प्रहरी चौकी, हेम मावि र लमसुङ माविको जनजागृति बाल क्लबको पहलमा गत शुक्रबार ‘ठेकी लगाउन’ हिँडेका जन्तीलाई बाटैबाट फर्काइयो। धवलागिरी गाउँपालिका–२ लुलाङका केटा र वडा–७ मच्छिमकी केटीले १७ वर्षकै उमेर विवाह गर्न लागेका कारण जन्ती फर्काइएको थियो।
दलित समुदायमा दुहालको घरबाट लगिएको प्रसाद ‘ठेकी’ खुवाएपछि विवाहले सामाजिक मान्यता पाउने प्रचलन छ। बालविवाह गर्न नपाउने कानुनी व्यवस्था र कारबाही प्रक्रिया जानकारी गराएपछि दुबै पक्षका अभिभावकको सहमतिमा विवाह रोकिएको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए।
गरिबी, अभिभावकमा चेतना कमी, अशिक्षा, परम्परागत गलत संस्कार र सूचना प्रविधिको दुरुपयोगका कारण म्याग्दीमा बालविवाहले भयानक लिँदै गएको छ। बालबिवाहका कारण महिलाहरु सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक हिसाबले पछाडी परेको र विभिन्न अवसरबाट बञ्चित र स्वास्थ्य समस्या भोग्न बाध्य भएका धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले बताइन्।
‘हाम्रै स्कुलका तीन जना बालबालिकाले यही वर्ष भागेर विवाह गरे’, हेम मावि शिबाङका प्रअ शेरबहादुर केसीले भने,‘दुई जना स्कुल आउँनै छोडे। एक जनाले निरन्तरता दिएकी छन्।’
०७५ सालमा धवलागिरी गाउँपालिका–२मा मात्र १४ जोडी बालबालिकाले विवाह गरेका थिए। कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने गराउने कार्यलाई अपराध मानेको छ। यसो गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने समेत व्यवस्था छ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार म्याग्दीका ३० प्रतिशत गर्भवती २० वर्ष मुनिका छन्। छिटो बच्चा जन्माएपछि पाठेघर खस्ने, शारीरिक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपांगता हुने जस्ता समस्या देखिने धवलागिरी गाउँपालिकाको स्वास्थ्य संयोजक लोकनाथ पौडेलले बताए।
उमेर नपुग्दै विवाह गरेपछि पारिवारिक जिम्मेवारी बढ्दै जाँदा एक अर्कामा अविश्वास सिर्जना भई अलग हुने बाटो रोज्ने गरेका छन्। गत आर्थिक वर्षमा म्याग्दीमा १५६ जोडीले सम्बन्ध विच्छेद गरेका छन्। आर्थिक वर्ष २०७४/७५ मा १३८, २०७३/७४ मा १२७, ०७२/०७३ मा १२०, ०७१/०७२ मा ११४, ०७०/०७१ मा १०९, ०६९/०७० ४७ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। सम्बन्ध विच्छेद गराउनेमा १६–२७ वर्ष उमेर समूहका युवा/युवती बढी हुने अदालतका से्रस्तेदार खिलप्रसाद बुर्लाकोटीले बताए।
बालविवाहको समस्या विकराल बन्दै गएपछि स्थानीय तह, बाल क्लव, आमा समूह र विभिन्न संघ संस्थाले चासो देखाएका छन्। धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बालविवाह न्यूनीकरणका लागि उपाध्यक्षसँग उमेर सान्दर्भिक विवाह कार्यक्रम सञ्चालन गरिएको बताए। ‘विद्यालय र गाउँ बस्तीमा पुगेर बाल बिवाह सम्बन्धी कानुनी व्यवस्थाको बारेमा जानकारीसँगै सचेत बनाउन अभियान चलाएका छौं’, उपाध्यक्ष छन्त्यालले भने,‘किशोर किशोरीलाई परामर्शको माध्यमबाट सचेतीकरण गर्ने, अभिभावकमा बालअधिकार र बालविवाह विरुद्ध बनेका कानुनको बारेमा जानकारी गराइएको छ।’
पूर्व सूचना पाएको अवस्थामा बाल विवाह गर्न रोकिएको उनले जानकारी दिए। धवलागिरी गाउँपालिकामा सामुदायिक विकास परियोजना सञ्चालन गरेको गुड नेवर्स इन्टरनेसनलका जिल्ला संयोजक द्रोण जिसीले बाल क्लबमार्फत बाल विवाह न्यूनीकरण अभियान चलाएको बताए।
१६ वटा विद्यालयमा बाल क्लब गठन भएका छन्। उनीहरुको क्षमता विकास र सरोकारवालाहरुसँगको साझेदारीका लागि गत हप्ता शिबाङमा बालकचहरी आयोजना गरिएको थियो।
किशोर किशोरीलाई बालविवाह नगर्न सुझाव, परामर्श दिने गरिएको हेम माविको बाल क्लवकी अध्यक्ष चन्द्रकुमारी गोतमेले बताइन्। ‘समाजबाट आउने दवाव थेग्न जनप्रतिनि, अगुवा र सुरक्षा निकायको सहयोगका साथै विभिन्न कार्यक्रमका लागि बजेटको आवश्यकता छ,’ गोतामेले भनिन्।