पाइपबाट इन्धन : ३० महिनाको लक्ष्य, १७ महिनामै पूरा

पाइपबाट इन्धन : ३० महिनाको लक्ष्य, १७ महिनामै पूरा

अमलेखगन्ज : सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए। बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो।

अझ खुसीको कुरा– निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ। यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ। ‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन देशमा भित्र्याउन पाउँछौं। हाम्रो सबैभन्दा ठूलो उपलब्धि यही हुनेछ’, नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘सीमा क्षेत्र र सडकमार्गमा भइरहने आन्दोलन र विभिन्न प्रकारका अवरोधका कारण हुने इन्धन अभावबाट उपभोक्ताले अब छुट्कारा पाउनेछन्।’

यससँगै ढुवानी लागत घटेको सन्देश दिन निगमले मंगलबार मध्याह्नदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ।

निगमका अनुसार पाइपलाइनमार्फत प्रतिघण्टा २ लाख ९४ हजार लिटर इन्धन अमलेखगन्ज डिपोमा खसाल्ने क्षमता छ। हाल १ लाख ९२ हजार लिटरका दरले आपूर्ति गरिनेछ। काठमाडौंमा दैनिक ५ लाख लिटर पेट्रोल र ७ लाख लिटर डिजेल माग छ। देशभर दैनिक १६ लाख लिटर पेट्रोल र ४७ लाख लिटर डिजेल खपत हुन्छ। काठमाडौंका लागि साढे ३ र देशभर चाहिने मात्रा ल्याउन १८ घण्टा न्यूनतम क्षमतामा सञ्चालन गरे आपूर्ति सम्भव हुन्छ। पूर्व र पश्चिमका केही भागमा भने ट्यांकरमार्फत पायकका नाकाबाट इन्धन भित्र्याइनेछ।

यसअघि तेल ढुवानी गर्न दैनिक २ सयदेखि ३ सय ट्यांकर प्रयोग गरिन्थे। गोइतका अनुसार पाइपलाइन प्रयोगबाट इन्धन ढुवानी खर्च वार्षिक ५० करोड रुपैयाँभन्दा बढी जोगिनेछ। निगमले ढुवानीका लागि प्रतिलिटर दुई रुपैयाँ ५० पैसा ट्यांकर व्यवसायीलाई दिँदै आएको छ। ट्यांकर बन्द भएपछि सडकमार्गमा चाप घट्नेछ। यसले वातावरणलाई स्वच्छ बनाउनुका साथै बिग्रिराख्ने सडकमार्ग पनि जोगिनेछ। इन्धन चोरी, चुहावट र मिसावटजस्ता घटना पनि रोकिनेछन्।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले मंगलबार काठमाडौं र नयाँ दिल्लीबाट स्विच थिचेर पाइपलाइन परियोजना शुभारम्भ गरेका हुन्। दुवै प्रधानमन्त्रीले सन् २०१८ अप्रिल ७ मा यो परियोजना त्यही विधिबाट शिलान्यास गरेका थिए। साउन ३ मा पाइपलाइन परीक्षण गरिएको थियो। भारतीय आयल कर्पोरेसन (आईओसी)ले बरौनी–पटनासम्म आएको पाइपलाइन मोतिहारीसम्म ल्याएको छ। नेपालमा बिच्छ्याइएको पाइपलाइनलाई मोतिहारीमा जोडिएको हो। त्यहाँबाट रक्सौलको सीमासम्म ३२.७ किलोमिटर र त्यहाँबाट अमलेखगन्जस्थित क्षेत्रीय डिपोसम्म ३६.२ किलोमिटर दूरी पर्छ।

भण्डारणस्थल बनिनसकेकाले हाललाई पाइपलाइनबाट डिजेल मात्र ल्याइनेछ। पेट्रोल ल्याउने अवस्थामा पुग्न पाँच महिना लाग्ने निगमले जनाएको छ। मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माणमा भारत सरकारले ३ अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चिएको छ। सुरुमा कुल लागतको ३० प्रतिशत नेपालले व्यहोर्ने भनिए पनि अन्ततः सबै रकम भारतले लगाएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.