बालकथा : वृक्षरोपण

बालकथा :  वृक्षरोपण

उड्दाउड्दै जुरेली फ्यात्त जमिनमा खस्यो। ऊ छटपटाउन थाल्यो। उसको घाँटी प्याकप्याक भयो।

‘पानी ! पानी !’ ऊ छटपटाउँदै सुस्तरी बोल्यो।

गर्मी ज्यादै बढेको थियो। पानी पर्न सकेको थिएन। जताततै सुक्खा थियो। खेतबारी पनि बाँझै थिए। मानिसहरू पनि पानीको लागि कति ठाउँमा धाउन बाध्य भएका थिए। भएका कुवा, इनार, ढुंगेधारा सुकेका थिए।

चारकोशे वनमा यस्तो सुक्खा त कहिल्यै भएको थिएन। जुरेली मात्र होइन बेलाबेलामा भँगेरा, काग, कोइली, बकुल्ला पनि कति पटक गर्मीका कारण उड्दाउड्दै जमिनमा खसिसकेका छन्।

जुरेली जमिनमा खसेर छटपटाइरहेको दृश्य परेवाले देख्यो। त्यसैले ऊ त्यहाँबाट उड्यो। केही समयपछि पुनः परेवा त्यही आइपुग्यो। उसले आफ्नो चुच्चोमा राखेर ल्याएको पानी जुरेलीको चुच्चोभित्र झार्‍यो। अनि पानीमा डुबाएर ल्याएको आफ्नो जीउ झट्कारेर जुरेलीलाई राहत दिने प्रयास गर्‍यो।

बिस्तारै जुरेली होसमा आयो। आफ्नो अगाडि उसले परेवालाई देख्यो। आफ्नो ज्यान जोगाएकोमा उसले परेवालाई भन्यो, ‘तिमीले मेरो ज्यान बचायौ। त्यसको लागि तिमीप्रति म आभारी छु। म यो गुण जीवनभर बिर्सने छैन।’

‘यो त सबैको कर्तव्य नै हो। मैले त आफूले सकेको सानो सहयोग मात्रै गरेको हुँ।’ परेवाले जवाफ दिँदै भन्यो।

जुरेली सामान्य अवस्थामा आइसकेको थियो। त्यसैले उसले परेवालाई भन्यो,‘अब म उड्न सक्छु। जाऔ।’

‘हुन्छ। तर धेरै माथि नउड। के गर्नु गर्मी चर्को छ। म तिम्रो पछि पछि उड्छु।’ परेवाले भन्यो।

त्यसपछि दुवै उडे।

उनीहरू चर्को घाममा उडिरहेका थिए।

‘पहिला आमा हजुरआमाको पालामा यो चारकोशे वनमा घाम नै छिर्दैनथ्यो रे। जताततै खोला, पोखरी, पानीको मूल हुन्थ्यो रे। जनावर र पन्छीहरू पनि थुप्रै थिए रे। तर अहिले यो कस्तो समय आयो।’ परेवाले दुःखेसो पोख्यो।

‘के गर्नु र ? जंगलका रूखहरू सब काटिएका छन्। आजकल अग्ला रूखहरू भेट्टाउनै गाह्रो भइसक्यो। जताततै गिट्टी बालुवा निकालेका छन्। अनि कहाँबाट पानीको मूल नसक्नु ? जंगल मासेपछि प्रदूषण बढेपछि त गर्मी पनि त बढिहाल्छ नि।’ जुरेलीले पनि आफ्नो कुरा राख्यो।

‘अब त हामी चुप लागेर बस्न भएन। केही त गर्नुपर्‍यो नि। नत्र त यस्तो दुःख सधैं झेल्नुपर्छ। यसबारेमा जंगलसभा बस्नुपर्छ।’ परेवाले भन्यो।

‘हो , त्यो त एकदम राम्रो विचार हो। यसबारेमा सबैलाई जानकारी गराऔं र जंगलसभा बसौं।’ जुरेलीले सहमति जनायो।

‘अँ, बरु यसमा मानिसलाई पनि डाक्नुपर्ला। यो मानिसको पनि सरोकारको विषय हो। अर्को कुरा हामीलाई उनीहरूको पनि त सहयोग चाहिन्छ नि। उनीहरूले चाह्यो भने जे पनि हुन सक्छ।’ परेवाले प्रस्ताव राख्यो।

‘ठीकै छ, उसो भए बोलाऔँ।’ जुरेलीले समर्थन गर्‍यो।

त्यसपछि उनीहरू जंगलका सम्पूर्ण जनावर र पन्छी तथा बस्तीका मानिसलाई जंगलसभाका लागि आमन्त्रण गरे। सबैको समस्या भएकोले सम्पूर्ण जनावर तथा पन्छीहरू सभामा आए। मानिसका प्रतिनिधि पनि सहभागी भए। सभाको सभापतित्व बाघ र मानिसले गरे। त्यसपछि त्यहाँ व्यापक छलफल चल्यो।

‘पहिला मानिसहरू हामीसँग डराउँथे। अब हामी उनीहरूसँग डराउनुपर्ने भएको छ। उनीहरूकै कारण जंगल मासियो, पानीको मूल सुक्यो। त्यसैले हाम्रा अनेक प्रजातिहरू लोप भएका छन्। कुनै दिन हामी पनि लोप हुन्छौ। त्यसैले अब मानिसविरुद्ध प्रतिकारमा उत्रिनुपर्छ।’ हात्तीले आक्रोश पोख्यो।

‘जंगल मास्दै ढुंगा, गिट्टी निकालेर मानिसले हाम्रो बासस्थानमा हस्तक्षेप गरेको छ। जताततै प्रदूषण गरेको छ। जसले गर्दा जलवायु परिवर्तन भएको छ। गर्मी बढ्न थालेको छ। यस्तो हुँदाहुँदै हामी कसरी चुप लागेर बस्न सक्छौं र ? ’ सारसले आफ्नो विचार राख्यो।

‘मानिसकै कारणले गर्दा पृथ्वीमा गर्मी बढेको छ। खडेरी पर्न थालेको छ। हाम्रा साथीहरू उड्दाउड्दै जमिनमा खसेका छन्। पानी खान नपाएर काकाकुल भएका छन्।’ कोइलीले पनि आफ्नो असन्तुष्टि पोख्यो।

‘सबैले मान्छेलाई मात्र दोष दिने ? हाम्रो बस्तीमा आएर दुःख दिएको पनि चुपचाप सहनुपर्ने ? हाम्रो बालीनाली सखाप पारेको पनि हेरिरहनुपर्ने ? यो सभा के को लागि हो ? मानिसलाई मात्र दोष थोपर्न हो ? म यसलाई बहिष्कार गर्छु। म यहाँ बस्दिनँ।’ मान्छे रिसाउँदै करायो र जान लाग्यो।

‘पख्नुस्, त्यसरी आवेशमा नआउनुस् न। तपाईं गएर समस्या समाधान हुन्छ र ? मिलेर पो जानुपर्छ त।’ बाघले भन्यो।

‘हो यो हामी सबैको समस्या हो। जनावर पन्छी त मारमा परेका छन् नै। हामी पनि परेका छौं। पानीको मूल सुक्दा हामीलाई धेरै दुःख परेको छ। गिट्टी बालुवा निकाल्दा बाढी पहिरोले पिरोलेको छ। प्रदूषण बढ्दा हामीले पनि लु सहनुपरेको छ। अब कसरी समाधान गर्ने हो त्यसमा पो ध्यान दिनुपर्छ।’ सभापतित्व गरेका मानिसले भने।

व्यापक छलफल र बहसपछि जंगलसभा एउटा निष्कर्षमा पुग्यो। मानिस, पन्छी र जनावरबीच एउटा सम्झौतापत्र तयार भयो। सबैले त्यसमा सहमति जनाए र ल्याप्चे ठोके। सम्झौतापत्र यस्तो थियो–

जनावर, पन्छी र मानिसबीच भएको जंगलसभाले मानिस, पन्छी र जनावरबीच ६ बुँदे सम्झौता भएको छ। सो सम्झौता कार्यान्वयनका लागि हामी प्रतिबद्ध छौं। सहमतिका बुदाँहरू निम्नलिखित छन्–

· मानिसले अबदेखि चुरे वनमा जथाभावी ढुंगा, गिट्टी बालुवा ननिकाल्ने।

· मानिसले जंगलका रूखहरू नकाट्ने र पुराना रूखहरू मात्र काट्न सकिने।

· जंगलको सुरक्षाका लागि वन वरिपरि तारबारले घेर्ने।

· जनावर र पन्छीले मानिसका खेतबाली नष्ट नगर्ने र मानिसलाई दुःख नदिने।

· वनमा रहेको पानीको मूल, पोखरी, खोला, सीमसार क्षेत्रको संरक्षण गर्न दुवै पक्षले पहल गर्ने।

· मानिसले वन वरपर फोहोरको व्यवस्थापन गर्ने र धेरै प्रदूषण फैलाउने उद्योगधन्दा सञ्चालन नगर्ने।

सो सम्झौता कार्यान्वयनका लागि हामी प्रतिबद्ध रही हस्ताक्षर गरेका छौं।                                      

मानिसका तर्फबाट        जनावरका तर्फबाट        पन्छीका तर्फबाट

प्रेम चौधरी               बाघ (पाटे)               सारस (लम्बु)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.