सरकारप्रति विकर्षण बढ्यो : नेता पौडेल
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा बढी योगदान दिएका र कम दिएका नेतालाई एउटै दृष्टिबाट हेर्न नहुने बताएका छन् । 'शेरबहादुर र रामचन्द्र बुढा भए भन्ने कुरा चलेको छ,' उनले भने, 'पार्टीमा योगदान दिनेलाई कम आँकलन गर्न मिल्दैन।'
आफूले पार्टीका लागि धेरै योगदान गरेको भन्दै उनले यस्ता कुराले अवमूल्यन हुने जिकिर गरे । 'एक सय खर काट्ने र आगो लगाउनेलाई एउटै रुपमा हेर्न खोजिएको छ,' उनले भने, 'पार्टीमा मेरो योगदान कति छ । बहस गरौं ।' उनले यस बारेमा पार्टीमा बहस हुनु जरुरी रहेको टिप्पणी गरे।
उनले पछिल्लो समय सरकारप्रति विकर्षण बढेको भन्दै माइतीघरमा भएको प्रदर्शन त्यसैको सूचक भएको टिप्पणी गरे । 'सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेको छैन,' उनले भने, 'जनता असन्तुष्ट छन् ।'
बीपीको सम्झना
बीपीले २०३६ साल असोज ६ गते सम्बोधन गरेको बीपी वन वाटिकास्थित बेलको चौतारामा सम्बोधन गरेको ठाउँमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले बीपीले विकास गाउँबाट थालेको बताए । 'बीपीले हरेक नेपालीको घर र दुहुनो गाई हुनुपर्छ भन्नुभएको थियो,' उनले भने, 'कांग्रेस नेतृत्वमा रहँदा गाउँ गाउँमा विकासका पूर्वाधार पुगेको थियो।'
उनले गाउँबाट विकास थाल्नका लागि बाटो, बिजुली, शिक्षा, स्वास्थ्य र सञ्चार पहुँच विस्तार कांग्रेसका पालामा भएको भन्दै गाउँमै सुख सुविधा पुर्याए पनि पछिल्लो समय रोजगारी र आम्दानी नपुगेकाले गाउँ रित्तिन लागेको बताए । 'गाउँमै बस्ने बनाउन हामीले सुविधा पुर्यायौं,' उनले भने, 'तर सरकारले रोजगारी र आम्दानी नपुर्याउँदा गाउँ रित्तो बनिरहेको छ ।'
बीपीले कहिल्यै जात, भेदको कुरा नगरेको भन्दै उनले सबै बराबर बनाउन लागेको बताए । कांग्रेस बीपीको समाजवादी बाटोमा रहेको भन्दै उनले समानता, गरिबी र शोषण अत्याचार प्रजातान्त्रिक तरिकाबाट हटाउनुपर्ने बताए । 'हिंसाको बलमा समानता आउँदैन,' उनले भने ।