मृत्युलोक
यो वर्ष पाँच सयजतिले आत्महत्या गरेको प्रतिवेदन छ। अघिल्ला वर्षहरूमा आफूलाई आफैंले मार्ने कारण थियो– मानसिक, आर्थिक, शैक्षिक, असफलता, प्रेम वियोग आदि। यसपटक अन्य कारण पनि देखिए। जस्तो– भ्रष्टाचारको दोषारोपण, पारिवारिक द्वन्द्व, गरिबी, आर्थिक अभाव। यी आदिका कारण आफू र सन्तानसहित झुण्डिने वा सामूहिक विषपान गर्ने वा नदीमा सपरिवार बगेर मर्ने। यसरी आत्महत्या गर्ने संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको छ। विदेशमा भएका युवा नेपालीले पनि आत्महत्या गर्न थालेका छन्। यसको मूल कारण हो– चरम आर्थिक विपन्नता, बेरोजगार, नैराश्य र मुलुकमा देखिएको आर्थिक विषमता र अनिश्चित भविष्य।
भौतिक युगको सुरुवातसँगै युवा जगत्मा असीमित इच्छा कामनामा वृद्धि भएको छ। नेपालको यस किसिमको राज्यव्यवस्था जहाँ आम जनताकेन्द्रित विकासका लक्ष्य नहुँदा युवा जमातले स्नातक र स्नातकोत्तर अध्ययन गरे पनि काम गर्ने स्थान भनेको दुबई, मलेसिया, कतार र अरब भूमि हो। तल्लो स्तरको काम गरी आर्जन गरेको रकम बिचौलिया र दलालबीच बाँड्दाबाँड्दै कति बचत हुन्छ र ? पढेलेखेर मुलुकमा रोजगार नपाउनु र परदेशमा अपमानको आँसु पिएर, लात र बात सहेर नारकीय जीवन जिउनु। यस्तै धेरै कारण छन् युवापिँढीका आत्महत्याका कारण। राज्यले यस्ता दुखान्त घटनाबारेमा न अध्ययान गरेको छ न त अनुसन्धान। राज्यभित्रका राजनीतिक दलका बडेभन्दा बडे नेताहरूलाई शक्ति प्राप्तिको खेल खेल्दाखेल्दै फुर्सद छैन। सबैको मनोकांक्षा प्रधानमन्त्री कसरी बन्ने भन्ने मात्र देखिन्छ। यो सर्वसाधारणको अकाल मृत्युप्रति न त उनीहरूको कुनै जिज्ञासा छ न त चासो।
पत्रपत्रिकामा लेख र समाचार पढ्न पाइयो– भ्रष्टाचारको आरोपका कारणबाटै स्वयं मृत्युवरण गर्नेहरू वास्तवमा निर्दोष हुनुपर्छ। हुन पनि सक्छ– भ्रष्टाचारको यो भेलबाढीमा घुनहरूसँग पुतलीहरू पनि पिसिएका हुन सक्छन्। कुकर्मको लाभ कुनै माथवरले उठाएर मर्नेहरूले दबाब प्रभावकै कारण काम गर्न बाध्य भएको हुनुपर्छ। यसरी एक, दुई, तीन गरी आत्महत्या क्रमशः कर्मचारीले गरेको अवस्थामा तथ्य र वास्तविकता के हो, त्यसको अनुसन्धान हुन जरुरी छ। वास्तवमा व्यवहारमा कहिलेकाहीं माथिको आदेशपालन गर्ने क्रममा कर्मचारीहरू फसेका हुन्छन्। यस्ता धेरै घटना छन् हाम्रो समाजमा। चारदिने नेताले पदमा बसेका बेला नाजायज काम गराउने र लाभ लिने दोषजति कर्मचारीको टाउकामा जाने गर्छ। तथापि, जो विशुद्ध जन्मैदेखि भ्रष्टाचारको वीज भएर हुर्किएको हुन्छ, ऊ किन डराउँछ ? पत्रकार, अख्तियार, प्रहरी, अड्डाअदालत सर्वत्र पैसा ओछ्याउँछ।
अझ बढी समाजमा चोखो देखिनका निम्ति मुठीका मुठी दान दिन्छ, मन्दिर धाउँछ। पितृका नाउँमा सप्ताह, पुराण, यज्ञ, पूजाहरू लगाउँछ। जसरी कमाउँदा बद्नाम भएको हुन्छ, यो समाजमा सुनाम प्राप्तिका लागि पैसा त्यत्तिकै ओछ्याउँछ पनि। हाम्रो समाज यही हो भ्रष्टहरूलाई मर्द भन्ने र भ्रष्टाचार नगरी सुकी पनि नखानेलाई नामर्द भन्ने। दलले पनि पैसावाललाई चुनाव लड्न टिकट दिने हो। हिजोआजका दलहरूमा आदर्श र गरिब नेता तथा कार्यकर्ताको कुनै महत्त्व छैन। तसर्थ यो मुलुकमा भ्रष्टाचारीले डराउनुपर्ने अवस्था पनि छैन। मात्र मस्तिष्क खियाएर ठाउँठाउँमा पैसाले मुख बन्द गर्न सक्नुपर्छ। आम जनताले माफिया थियो कि ? तस्कर थियो कि ? अथवा सुपारी, श्रीखण्ड, कोइला, सुनतस्करी थियो कि वा तिनीहरूबाट कमिसन असुल गरी भ्रष्टाचार गर्ने कर्मचारी वा माफिया थियो ? सबैथोक बिर्सन्छन्। तथापि तिनै मानिस नेता भएमा बीए, एमए पढेका बेरोजगार युवाहरू पछि लाग्ने कार्यकर्ता भएसम्म भेट्टाउने छन्।
नेपाल कृषिप्रधान देश हो। तर अब यो मुलुक वैदेशिक रोजगारबाट आउने रेमिट्यान्सबाट चल्न थालेको छ। लाखौंलाख युवा मुलुक छाडी रोजगारका निम्ति बिदेसिएका छन्। किनकि, मुलुकमा रोजगारको अभाव छ। कृषि सत्यनाश छ न त यसमा वैज्ञानिकीकरण हुन सक्यो न त मलजल छ। न त भएका कृषिजन्य वस्तुको भाउ किसानले पाउँछन्। वर्षभरि दुःख र कष्ट गर्यो, अन्त्यमा हात लाग्यो शून्य हुन्छ। तसर्थ पढेका र नपढेका सबै युवा अरब र मलेसियातिर जान थालेका छन्। त्यहाँ कामको कष्ट, गर्मी, खानाको तजवीज नमिल्ने आदिका कारण अनाहकमा मृत्यु भई दिनको चारपाँचवटा काठका बाकस नेपाल भित्रिन्छन्। प्रतिवेदन जुन वैदेशिक रोजगार बोर्डको छ, यसअनुसार प्रत्येक दिन सरदर ६ जनाजस्तो विदेशमा रोजगार गर्न जाने हाम्रा नेपाली युवाको मृत्यु हुने गरेको छ।
वर्षभरिको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७४/७५ मा ८२१ जनाले ज्यान गुमाएका थिए भने आव ०७५/०७६ मा सात सय ५३ जनाले ज्यान गुमाएका छन्। यो आँकडा सरकारको रेकर्डअनुसार भएकाहरूको मात्र हो। तथापि चोर बाटो गरी भारत, श्रीलंका आदि मुलुक भई जानेको रेकर्ड भने यसमा समावेश छैन। यो अकाल मृत्यु हो र यसमा मर्ने आम युवा हुन्। यो मृत्युबाट हजारौं परिवारका घरघरमा नकारात्मक असर पर्छ। कतिको सिउँदोको सिन्दूर लुटिन्छ र कति परिवार त मियोविहीन भइदिन्छ। यसरी ठगेर, झूटो बोलेर विदेशीबाट पैसा लिने र दोहोरो रूपमा रोजगारमा जानेसँग पैसा लिएर मृत्युको मुखमा धकेल्ने अरू कोही होइन, स्वयम् खातापिता नेपाली हुन्। जसको राजनीतिमा पकड छ वा राजनीतिक वृत्तको लगानीबाटै त्यो ठगीधन्दा चलेको हुन्छ। एउटा नेपाली मरुभूमिमा ताप र कामको रापले मर्छ भने अर्को आफ्नै देशमा कारमा चढी, आलिशान बंगालामा बसी पाँचतारे होटलको भोजनको स्वाद लिइरहेको हुन्छ। कयौं नेपाली त्यही ठगीधन्दाबाट प्रताडित भएर विस्मृतिमा पुगेर ओछ्यानमा लम्पसार परेका छन्, कति लुलालँगडा र विकलांग भएका पनि छन्।
सामाजिक अन्याय, आर्थिक असमानता र विसंगति, अत्याचार र शोषणबाट मुलुक र जनतालाई उन्मुक्ति नदिलाउने हो भने यसलाई मृत्युलोक भन्नुबाहेक अरू उपाय छैन।
नेपाल वास्तवमा भन्ने हो भने कुनै बखत यो स्वर्ग थियो। प्रकृतिको वरदान नै भने हुन्थ्यो। परिणामतः आज मरे मृत्युको पर्यायवाची शब्द मृत्युलोकमा परिणत भएको छ। यहाँ बसबाट कहींकतै यात्रा गर्नुपर्दा पछिल्लो पुस्तालाई तालाचाबी र हिसाब बहीखाता बुझाएर हिँडे हुन्छ। के थाहा फर्कने हो कि होइन। पहाडका कन्दरा खनेर विनाशको नाउँमा पूर्वाधारबेगर बाटो खनिएका छन्। जग्गा दलालको व्यापारको स्तरोन्नतिनिम्ति डोजर चलेको छ। नेपालका पहाड नयाँ पहाड हुन्। वातावरणीय परीक्षण नगरी माटोको शक्ति नहेरी जग्गाको प्लटिङ गर्न बाटो बनेका छन् यत्रतत्र। स्थानीय निकायका गाविस अध्यक्ष र उपाध्यक्षका डोजर छन् व्यापारका लागि। तसर्थ मोटर वा बस कम्पनीलाई पनि थोत्रो बस चलाउन के आपत्ति ? आए बाउको गए साहुको भनेर चलाउँछन्। तसर्थ यिनैकारण अथवा अपरिपक्क चालकका कारण, साना साधन सञ्चालन गर्ने लाइसेन्स लिनेले भारी बस चलाएका कारण, सिकारुले जोखिमपूर्ण बाटोमा बस चलाएबाट वा गुरुजीले मादक पदार्थ सेवन गरेका कारण एक मुष्ट परिवार घरको दैलो खोल्नेसम्म नबाँची मरेका छन्।
नेपालका थोत्रा बसहरू चढ्दा यात्रुलाई भरसक मरिने डर त छँदै छ, बाँचिए ईश्वरले बचाएको सम्झनुपर्छ। मान्छे मर्छ विनाकरण लाऊँ लाऊँ र खाऊँ खाऊँ उमेरमा। युवा मर्छ, ससाना नानी मर्छन् अथवा सात सन्तानका आमाबुवा दुर्घटनामा परी मर्छन्। कसैलाई पिर पर्दैन। कसैले शोक मान्दैन। उहिले गाउँटोलमा छिमेकी मर्दा लास मसानघाट लैजान नउठाएसम्म सिंगै गाउँ र टोल भोकै बस्थे। कति दिनसम्म उसको चर्चा हुन्थ्यो। समाजले पिर मान्थे। तर अब २०५२ सालदेखि २०६३ सालसम्म सशस्त्र आन्दोलनको नाममा १७ हजारले अनाहकमा मृत्युवरण गरे। त्यसपछि हामीलाई कोही मरे पनि सायद मृत्यु नै मृत्युको पहाड देखेर होला, सन्ताप हुन छाड्यो।
केही वर्षदेखि अदूरदर्शी नीतिका कारण पहाड भत्काउने र बाटो खन्ने नाममा व्यापक भूस्खलन हुन थालेको छ। त्यस्तै वनजंगल मासिए। पहाड जोगाउने रूखबिरुवा, झाडी र बाँस हुन्। ती सबै मासिँदै छन्। जग्गा प्लटिङको नाउँमा डाँडा खुइलिएको छ। तसर्थ व्यापक भूस्खलनका कारण गाउँका गाउँ बगेका छन्। त्यति मात्र होइन, सुक्खा पहिरोका कारण भीरपहरा भत्केका छन्। वर्ष दिनमा यसका कारण कति परिवार मरे, बगे, त्यसको लेखाजोखा छैन। तथापि अकाल मृत्युको एक जरिया नेपालमा यो पनि हो।
नेपालमा हवाईजहाज सञ्चालन गरेको पचास वर्ष भयो होला। हामीभन्दा पछि सञ्चालन गर्ने मुलुकले हवाई क्षेत्रको विकासमा ठूलो फट्को मारेका छन्। तर, अब हाम्रो नेपाल वायु सेवा निगम एउटा रुग्ण संस्थाका रूपमा कायम छ। यसले बहुदल प्राप्तिपछि पञ्चायतमा भए/पाएको साखलाई पनि समाप्त पारेको छ। त्यसमाथि हवाई व्यवस्था हेर्ने हो भने त्रिभुवन विमानस्थलमा दुर्घटना भएको बंगलादेशको विमानमा यात्रुहरूलाई उद्धार गर्ने साधन अहिलेसम्म हामीसँग रहेनछ। हाम्रा पहाडी हवाई ग्राउन्ड त्यस्तै छन्। तसर्थ प्रशस्त दुर्घटना भएका छन्। सरकारले प्रयास गर्ने हो भने र साधनहरू जोड्ने हो भने यात्रुहरू सुरक्षित हुन सक्ने थिए। जबकि बेलाबखतमा डरलाग्दो दुर्घटना भएका कारण बिनाकारण यात्रुहरूको देहावसान हुन गएको देखिन्छ। चाहने हो भने यस्ता दुर्घटना न्यूनीकरण गर्न सकिने थियो, तर यो यस्तो मुलुक हो, जहाँ दुर्घटना भएर घटनामाथि घटना थपिन पुगी यात्रुको मृत्यु भएमा कसैको व्यापार र व्यवहारमा लाभ प्राप्त हुन सक्छ।
अकालमा हुने मृत्युको कुरा गरिरहँदा अहिले केही वर्षदेखि हाम्रो समाजमा अचम्मका घटना हुन थालेका छन्। हत्याको अपराधमा यदाकदा कोही रिसईबी हुने व्यक्तिले कोही कसैलाई मारिदिन्थ्यो। तथापि अब आम हत्याहरूमा आफन्तहरूले आफन्तलाई मार्न थालेका छन्। पतिले पत्नीलाई, पत्नीले पतिलाई, बुवाले छोरालाई, छोराले बुवालाई, ज्वाइँले छोरीको परिवारलाई सखाप पारेको पाँचथरको उदाहरण छ। ससाना रिसईबी थाम्न नसकी परिवारकै सम्पूर्ण हत्या गरेको देखिन थालेको छ। यो संख्या कति छ खुल्न आएको छैन। त्यस्तै युवतीहरूको बलात्कारपछिको हत्याको संख्यामा त्यत्तिकै वृद्धि भएको देखिन्छ।
यसपछि खान नपाएर अवश्य मर्नेको संख्या पनि होलान्। यस्तो गरिबी भएको मुलुकमा त्यो छैन भन्न सकिन्न। विषयुक्त खाद्यान्न, तरकारीहरू खाएर र कति रोगाएर मरेका होलान्। यो निश्चित हो। पहिले कृषिप्रधान यस मुलुकमा आम जनता गाईवस्तु पालेर दही, मही, घिउ, दूध र प्रांगारिक मल राखी आफ्नै बारीमा उब्जाएका ताजा तरकारी खान्थे। पहाडमा उकालो र ओरालो हिँड्थे। त्यसै पनि स्वास्थ्य राम्रो थियो। तराईमा पनि काम गर्दथे। शुद्ध खान्थे। तसर्थ रोजगारका निम्ति बाहिर सेनामा जाँदा पनि ज्यान दरो देखिएर भर्ती गरिन्थ्यो। अब शुद्ध खाना छैन, विषयुक्त छ। दही, दूध सपना भएको छ। आम नेपालीको स्वास्थ्य गतिलो कसरी हुने ? यी अखाद्य वस्तुको प्रयोगवाद पनि कति रोगाएका छन्, मरेका छन्। त्यसको लेखाजोखा छैन। आम गरिब र मध्यमवर्गका निम्ति अस्पतालहरूले दिने सेवा महँगीका कारण सम्भव छैन। अर्कोतर्फ आयको अभाव हुनेलाई महँगीको मारले त्यति नै सताएको छ। जति सहर महँगो छ, गाउँमा पनि महँगी कम छैन। गाउँमा काम गर्ने मस्तिष्कको अभाव हुँदा उत्पादन छैन। तसर्थ यही परिपाटीमा मुलुक जाने हो। सामाजिक अन्याय, आर्थिक असमानता र विसंगति, अत्याचार र शोषणबाट मुलुक र जनतालाई उन्मुक्ति नदिलाउने हो भने यसलाई मृत्युलोक भन्नुबाहेक अरू उपाय छैन।