वाइसीएल–युवा संघ एकता : यसरी मिल्यो समीकरण
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले आफ्नो संगठनात्मक एकता पक्रिया अगाडि बढाएको छ। भदौ २५ गते बसेको संगठनको बैठकले संगठनमा ३३५ जना सदस्यको केन्द्रीय समिति बनाउनका लागि पार्टीसँग अनुमति मागेको हो।
तत्कालीन माआवादी केन्द्र निकट वाइसियल र नेकपा एमाले निकट युवा संघ नेपालको एकताबाट राष्ट्रिय युवा संघ नेपाल गठन भएको थियो। संगठनका इन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलको उपस्थितिमा भएको उक्त बैठकले केन्द्रीय कार्यालय पेरिशडाँडामा राख्नेसमेत निर्णय गरेको छ।
३३५ जना केन्द्रीय सदस्यमध्ये तत्कालीन युवा संघबाट १७६ र वाइसियलबाट १५५ चयन गरिने संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ‘केन्द्रीय समितिको एकतिहाइ हुन आउने १११ सदस्यको सचिवालयमा साविक वाइसिएलबाट ५२ र युवा संघबाट ५७ सदस्य चयन गरिने छ’, विज्ञप्तिमा भनिएको छ,‘केन्द्रीय कार्यालयको ९ सदस्यका लागि साविक युवा संघ नेपालबाट ५ र वाइसियलबाट ४ सदस्य चयन गरिनेछ।’
७ प्रदेशमध्ये ३ प्रदेशमा वाइसिएल र ४ प्रदेशमा युवा संघ नेपालले संगठनात्मक जिम्मेवारी लिनेसमेत बैठकले निर्णय गरेको छ। त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा युवा संघ र ३५ जिल्लामा वाइसिएलले संगठनात्मक नेतृत्वको जिम्मेवारी लिने विज्ञाप्तिमा उल्लेख छ।
‘एकता प्रक्रियालाई शिघ्र टुंग्याउन यही भदौ २७ गते साविक पदाधिकारीको संयुक्त बैठक, कार्यालय उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको छ, सँगै चयन हुने केन्द्रीय समिति बैठक असोज ९ गते काठमाडौंमा बस्नेछ’, युवा संघद्वारा जारी विज्ञाप्तिमा भनिएको छ।
राष्ट्रिय युवा संघ नेपालको विज्ञप्ति :