रोल्पामा वर्षेनी किन हराउँछन् महिला?

रोल्पामा वर्षेनी किन हराउँछन् महिला?

रोल्पा : बितेका ३ वर्षमा रोल्पाबाट १६० महिला हराए। हराएकामध्ये प्रहरीको मद्दतमा ९५ जना फेला परे भने अझै ६५ जना बेपत्ता छन्। हरेक वर्ष किन यति ठूलो सङ्ख्यामा महिलाहरु हराउने गर्दछन्? हराएकाहरु कसरी फेला पर्छन्?  

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष २०७३-७४ मा ५६ जना महिला हराए। यसरी हराएका महिलामध्ये ४१ जना मात्रै फेला परे। त्यस वर्ष हराएका ८ जना भेटिएनन्।  आव २०७४-७५ मा हराएका ५५ मध्ये ५० जना फेला परे भने पाँच जना फेला पर्न सकेनन्। गएको आवमा ५६ जना महिला हराए। हराएकामध्ये ४ जना मात्रै फेला परे। बाँकी ५२ जना अझै फेला पर्न सकेका छैनन्।

हराएको भनी उजूरी परेकामध्ये केही महिला तथा बालबालिका भने घर फर्किसकेका छन्। अभिभावकले दिएको हुलियाका आधारमा खोजी गरिँदा भेटिएका र आफैं घर फर्केका समेत गरी बितेको ३ वर्षमा ९५ महिला फेला परेको प्रहरीले जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार अझै ६५ बेखबर छन्। 

परिवारले दिएको सूचनाका आधारमा खोजी गर्न देशभरका प्रहरी युनिटहरुलाई हुलियासहित जानकारी गराउने गरिएको छ। हुलियाकै आधारमा प्रहरीले हराएकाहरुलाई फेला पार्ने गरेको छ। हराएकामध्ये धेरैलाई प्रहरीले काठमाडौँका ईंटा भट्टामा फेला पारेको थियो। र्इंटा भट्टामा काम गर्ने गाउँकै नाइकेले ललाइफकाइ लैजाने भएकाले अधिकांश महिला परिवारलाई जानकारी नदिइ भाग्ने गरेका छन्। राम्रो लाउने, मिठो खाने लहडमा दलालको जालमा फसेर परिवारका सदस्यलाई जानकारी नै नदिइ भाग्नेको सङ्ख्या ठूलो रहेको प्रहरीले जनाएको छ। 

हराएका सदस्यको खोजीमा लामो समय बित्ने गरेको अभिभावकको दुःखेसो छ। यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्न आफूखुशी हिँड्ने गरेको प्रहरीले बताएको छ। 'मादक पदार्थ सेवनसँगै हुने पारिवारिक बेमेलले महिलाहरुलाई घर छाड्न बाध्य पार्छ', जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख प्रहरी सहायक निरीक्षक मीना विकले जानकारी दिइन्। 

परिवारका सदस्य हराउँदा आत्तिएर प्रहरीलाई खबर गर्न आउने तर, सम्पर्कमा आउँदा प्रहरीलाई जानकारी नगराउने कार्यले पनि हराउनेको सङ्ख्या अधिक देखिने गरेको प्रहरीको भनाइ छ। हराएका नागरिक सम्पर्कमा आए-नआएको जानकारी सुरक्षा निकायमा हुनु जरुरी भए पनि त्यसो भएको छैन। हराएकाहरु सम्पर्कमा आउने बित्तिकै प्रहरीमा खबर गरे तथ्याङ्क अद्यावधिक गर्न सहज हुने प्रहरीले बताए। 

घरबाट भागेर हिँडेका तर सम्पर्कमा आउन नसकी अलपत्र परेका कैयौं महिलालाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाउने गरेको छ। अघिल्लो वर्ष ईंटा भट्टा जान भनी घरबाट हिँडेर पनि दलालसँग सम्पर्क हुन नसकेका पाँच महिलालाई प्रहरीले आफन्तको जिम्मा लगाएको थियो। यसरी अलपत्र पर्नेमा बालबालिकासमेत रहेका छन्। बालश्रमिकहरुलाई नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन) लगायतका संस्थाले समेत उद्धार गरी प्रहरीलाई जिम्मा लगाउने गरेका छन्। त्यस्ता बालबालिका प्रहरीमार्फत परिवारसम्म पुग्छन्। अघिल्लो वर्ष ललितपुरको एक संस्थाले रोल्पाका एक दर्जनभन्दा बढी बालबालिकालाई ईंटा भट्टाबाट उद्धार गरी प्रहरी तथा महिला बालबालिका कार्यालयको रोहवरमा आफन्तको जिम्मा लगाएको थियो। 

गरिबी, अज्ञानता, मादक पदार्थ सेवनका कारण पारिवारिक बेमेल जस्ता कारण महिलाहरु घर छाड्न बाध्य हुने गरेको पाइन्छ। गाउँकै नाइकेको लहलहैमा धन कमाउने आशामा ईंटा भट्टा जाने महिलाको सङ्ख्या धेरै देखिन्छ। परिवारको संरक्षण र सूचना बिना जाने महिलाहरु थप जोखिममा पर्ने गरेको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाइ छ। आचार्यका अनुसार उनीहरु यौन तथा अन्य हिंसाको समेत शिकार हुने गरेका छन्। 

धन कमाउने भन्दै घरबाट भागेर जाने यस्ता महिलामध्ये कतिपय घर फर्कंदा बाबुको पहिचान नखुलेका बच्चा सहित फर्कने गरेका छन्। जिल्लामा पछिल्लो पटक पारिवारिक विखण्डन गर्ने माध्यमको रुपमा समेत यसलाई लिन थालिएको छ। जिल्लामा यस्ता हिंसामा परी बाबुको पहिचान नखुलेका बालबालिकाको सङ्ख्या बढ्दै जान थालेको छ। नेपाली नागरिकता प्रमाणपत्रका लागि उमेर पुगे पनि बाबुको पहिचान हुन नसक्दा उनीहरुलाई नागरिकता लिन कठिनाइ छ। 

श्रम शोषणमा पर्दै आएका उनीहरु लामो समय न्यून ज्यालामा काम गर्न बाध्य हुने गरेको बताउँछन्। 'अतिरिक्त काम गर्दासमेत निकै कम ज्याला मात्र उनीहरुलाई दिइन्छ,' घरबाट भागेर काठमाडौँस्थित एउटा ईंटा भट्टामा पुगेर फर्किएकी रोल्पा नगरपालिका–४ की एक महिलाले भनिन्, 'पुरुषलाई ठगी गर्न सक्दैनन्। महिला कामदारलाई ललाइफकाई ईंटा भट्टा लैजाने गरेका छन्।'  

महिला हराउने यो क्रमले परिवारमा मनोवैज्ञानिक असर पर्ने गरेको छ। हराएको लामो समयसम्म अवस्था यकिन हुन नसक्दा उनीहरुको दैनिकीमा समेत प्रभाव पर्ने गरेको परिवारको दु:खेसो छ। खोजीका लागि भन्दै काम छोडेर बारम्बार जिल्ला प्रहरी कार्यालय धाउनु पर्दा उनीहरुको आर्थिक व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ। घरको आर्थिक अवस्था कमजोर हुनेहरु नै यसरी हराउने गरेकाले खोजीका लागि त्यस्ता परिवारले थप आर्थिक भार खेप्नुपरिरहेको छ। 

रासस/उमा केसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.