गौचन हत्यामा जेल परेका समीरमानले चलाए गृहमन्त्रीका भाइ

गौचन हत्यामा जेल परेका समीरमानले चलाए गृहमन्त्रीका भाइ

काठमाडौं : कर्तव्य ज्यान मुद्दा लागेका समीरमानसिंह बस्न्यात केन्द्रीय कारागारमा छन्। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा उनी जेल परेका हुन्। ‘सहज’ तरिकाबाट बाहिर निस्किन उनी प्रधानमन्त्री वा गृहमन्त्रीनिकट व्यक्ति खोजिरहेका थिए।

उनी अन्ततः सहयोगीमार्फत नरेश थापासम्म पुगे। नरेश गृहमन्त्री रामबहादुर थापाका भाइ हुन्। जग्गा कारोबारमा संलग्न उनी काठमाडौंमा नयाँ घर बनाउँदै छन्। उनै नरेशसँग काठमाडौं भेंडासिंहका शैलेश प्रजापतिले पहिलो सम्पर्क गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। तत्कालीन वाईसीएलमा हुँदा नरेशसँग प्रजापतिको चिनजान थियो।

व्यवसाय गर्दै आएका शैलेश समीरमानका सहयोगी हुन्। समीरमानसँग उनको प्रायः कुरा हुन्थ्यो। नरेशसँग निकट भएको खबर उनले समीरमानलाई दिए। उनलाई सहयोग गर्नेमा स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, बाफलका विनोद लामा, मनबहादुर पुन मगर र सशस्त्र प्रहरी जवान वीरबल भट्टराई रहेको सीआईबीले जनाएको छ। सीआईबी टोलीले सुरुमा पवन र सुरेनलाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धान गर्दै जाँदा नरेशको मिलेमतोसमेत खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।

उनका अनुसार समीरमानको लक्ष्य पहिलो केन्द्रीय कारागारमै रहने, दोस्रो जेलमा बस्दा राम्रो व्यवहार देखाएको पत्र बनाउने अनि त्यसपछि सहज हिसाबले जेलबाट बाहिरिने थियो। त्यो काम फत्ते गर्न उपयुक्त पात्र नरेशलाई देखेको अनुसन्धानबाट खुलेको छ। नरेशले शैलेशको प्रस्ताव सहजै स्वीकार गरेका थिए। नरेशले यतिसम्म गरे कि निर्माण व्यवसायीलाई लगातार धम्की आएपछि गृहमन्त्रीसमक्ष डेलिगेसन पुगे। त्यहाँ छलफल भएको विषय उनले समीरमानलाई सुनाए। उनी कारागारमै पुगे।

० सहज हिसाबले जेलबाट बाहिरिने लक्ष्य थियो समीरमानको।

० नरेश थापा आर्थिक प्रलोभनमा परेको सीआईबीको दाबी।

० कुमार घैंटे इन्काउन्टरको बदला लिन चाहन्थे जावेद।

० दुई हत्याकाण्ड मच्चाएर गृहमन्त्री र आईजीपीलाई पदच्युत गराउने योजना।

‘जेलबाट सहज अवतरण भए समीरमानले नरेशलाई राम्रै पैसाको अफर गरेको पाइयो’, एक अनुसन्धान अधिकृतले भने, ‘गृहमन्त्रीसँग सुरक्षा निकायको ब्रिफिङको कुरासमेत समीरमानसमक्ष पुर्‍याए।’

नरेशसँगको संवाद सुन्ने अर्का व्यक्ति थिए, बागलुङका जावेद अनवरदिन। उनी दुबईमा बसेर हुन्डीको काम गर्छन्। प्रहरी इन्काउन्टरमा मारिएका कुमार श्रेष्ठ उर्फ ‘घैंटे’निकट थिए उनी। नरेश–समीरमान भेटको कुरा शैलेश र पवनले अपडेट गराउँथे। घैंटे इन्काउन्टरले जावेद प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग रुष्ट रहेको पवनले बयानमा खुलाएका छन्।

समीरमान र जावेदले केही दिनभित्रै दुई निर्माण व्यवसायीको हत्या गर्ने योजना बनाएका थिए। त्यसका लागि उनले हतियार व्यवस्थापनदेखि व्यवसायीको घरसमेत रेकी गरेका थिए। त्यसको जानकारी भने नरेशलाई नभएको पाइएको छ। सशस्त्र प्रहरी भट्टराईले समीरमानलाई कारागारभित्रै सिमकार्डसहितको मोबाइल उपलब्ध गराएका थिए। त्यसमार्फत नरेशसँग संवाद भएको पाइएको छ।

गृहमन्त्रीका भाइ पक्राउ गर्ने मोडमा जब प्रहरी पुग्यो तब पवनले यसबारे थप रहस्य खुलाएका थिए। ‘दुई हत्याकाण्डपछि गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई पदच्युत गर्न नैतिक दबाब पर्ने भएकाले उक्त योजना जसरी पनि सफल पार्ने मोडमा समीर देखिन्थे’, एक उच्च प्रहरी अधिकृतले भने।

पवनको बयानअनुसार खनाल पदच्युत भएपछि आफूले चाहेको व्यक्ति प्रहरी महानिरीक्षक बन्ने र जेलबाट निस्किने योजनामा समीरमान थिए। तर, चाहेको व्यक्ति को हुन् भनेर पवनले जानकारी नभएको बयान दिएका छन्।

सीआईबी प्रमुख डीआईजी नीरज शाहीले कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका समीरमानसँग सम्पर्क रहेकाले नरेशलाई पक्राउ गरिएको बताए। ‘नरेशको फिरौतीमै संलग्नताचाहिँ होइन’, डीआईजी शाहीले भने, ‘तर, पर्दा पछाडि रहेका समीर, जावेदलगायतले नरेशलाई प्रयोग गरी आफूहरू सेफल्यान्डिङ हुने योजना बनाएको देखिन्छ।’ आर्थिक लाभ लिन नरेश प्रयोग भएको सीआईबीको दाबी छ। स्काइप आईडी आधारमा जावेदको रहस्य खुलेपछि प्रहरीलाई अनुसन्धान गर्न बाटो खुलेको थियो।

जावेदबाहेक अन्यलाई प्रहरीले पक्राउ गरी मुद्दा प्रक्रिया अगाडि बढाइसकेको छ। आर्थिकसहित संगठित अपराधअन्तर्गत प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको शाहीले बताए। नरेश भने प्रहरी निगरानीमा अस्पतालमा उपचाररत छन्। गृहमन्त्री थापाले भाइ पक्राउमा दबाब नदिई अनुसन्धानमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.