स्थानीय सरकार संघीयताको जग
निरन्तर जनतासँग सहकार्य गर्दै अघि बढेका काभ्रेको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले निर्वाचित भएपछि उदाहरणीय काम गरी जनताको मन जित्न सफल भएका छन् । उनले पनौतीमा कृषि र पर्यटनमार्फत पनौतीको समृद्धि खोजिरहेका छन् । ग्रामीण भेगको बाहुल्य रहेकाले सोहीअनुसार विकास र योजनामा नजिक रहेर उनले काम गरेका छन् । उनले दुई वर्षमा गरेको कार्यक्रमले उनी निकै दूरदर्शी मेयर बनेका छन् । यिनै विषयमा पनौती नगर प्रमुख न्यौपानेसँग अन्नपूर्णकर्मी रोजन तामाङले गरेको कुराकानी :
पनौती नगरपालिकाको प्रमुख भएपछि के-के काम गर्नुभयो ?
हामीले हाम्रो भूगोलअनुसार विकास निर्माण गर्ने हो । पनौती नगरपालिकामा ७० प्रतिशत भूभाग ग्रामीण क्षेत्रले ओगटेको छ । यहाँको मुख्य आम्दानी भनेको कृषि र पशुपालन नै हो । त्यसमा हामीले सुधारको काम गरिरहेकाछौं । पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन विकासलाई गुरुयोजना बनाएर अघि सारेकाछौं ।
कृषि र पशुपालनमा सुधारका लागि खास के काम गर्नुभएको छ ?
परम्परागत पशुपालनमा रहेका किसानलाई व्यावसायिक रूपमा लाग्न भैंसी सुत्केरी खर्चको व्यवस्थापन गरेर प्रोत्साहन दिएका छौं । पहिलो बेत सुत्केरी भएको भैंसीलाई ५ हजार र दोस्रो बेतलाई २ हजार उपलब्ध गराएका छौं । नगरमा ४ हजार ६ सय ४७ वटा भैंसी छन् । तीन वर्षभित्र १० हजारभन्दा बढी पु¥याउने लक्ष्य छ । भैंसीको संख्या बढ्नासाथ दूधमा नगर आत्मनिर्भर हुने र किसानको आय स्तरमा सुधार हुने अपेक्षा छ । सुरुमा आलोचनासमेत सहनुप¥यो । काभ्रेबाट काठमाडौंमा सबैभन्दा धेरै दूध यही नगरपालिकाबाट जाने भएकाले किसानको आयस्तर सुधार्ने प्रयासस्वरूप यो काम गरेका हौं । सामूहिक खेतीको सुरुवात गराउन वैदेशिक रोजगारीबाट फर्किएका युवाको चाहनाअनुसार जोड दिएकाछौं ।
पर्यटन विकासका लागि के गर्ने योजना छ ?
प्रत्येक १२/१२ वर्षमा पनौतीको त्रिवेणीघाटमा मकर मेला लाग्ने गरेको छ । ०७८ सालको मकर मेला लक्ष्य गरी काम अगाडि बढाएका छौं । यस क्षेत्र विश्वसम्पदा सूचीमा प्रस्तावित छ । पनौती धार्मिक र सांस्कृतिक रूपमा विश्व विख्यात छ । सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे सञ्चालन, पुरातात्विक रूपमा बनाउने काम गरिरहेको छ । पनौती मात्र नभई खोपासी बजार, बल्थली, ¥याले कुशादेवीसँगै सबै वडा ग्रामीण पर्यटनको अथाह सम्भावना रहेकाले हामीले सोहीअनुसार काम गरिरहेका छौं ।
पनौतीको समृद्धिका आधार के–के हुन् ?
पनौतीका समृद्धिका आधार प्रशस्तै छन् । मकर मेला हुने त्रिवेणी घाटमा आउने पुण्यमाता खोला सफाइको अभियानमा नगरपालिकाले विशेष योजना बनाएको छ । फोहोर पानी प्रशोधन केन्द्रमा पु¥याउने र लीलावती खोलाको सफा पानीलाई सिँचाइमार्फत बासडोल खोलामा पु¥याइनेछ । बाँध बाँधेर माछा छाड्ने योजना छ । सुन्थान जाने सडकमा कलात्मक हिँड्ने बाटो बनाउने अभियान नगरले सुरु गरेको छ ।
बसपार्कको योजना अघि सारिएको छ । बनेपा–पनौती सडकले मात्रै हाम्रो भारलाई थाम्न सक्दैन । त्यसका लागि हामीले पुण्यमाता करिडोरको काम सुरु गरेका छौं । सो योजनाका लागि २५ करोड रुपैयाँ आवश्यक पर्छ । खेलकुदका लागि हामीले सुरु गरेको रंगशाला आधा सम्पन्न भइसकेको छ ।
विकास निर्माण कसरी गरिरहनुभएको छ ?
हामी योजना घटाउने क्रममा छैाँ । बजेट कनिका छरेजसरी भन्दा पनि एकीकृत विकास गर्ने हाम्रो मुख्य उद्देश्य हो । गत वर्ष हाम्रा २ सय ४३ योजना थिए । यस वर्ष १ सय १९ वटा योजना छन् । अर्काे वर्ष सयमा झार्नेछैाँ ।
वडामा हुने सामान्य मर्मत सम्भारको योजना सञ्चालनका लागि २२ लाख दिएकाछौं । सो रकमले साना योजना सञ्चालन हुनेछन् ।
जनप्रतिनिधि, कर्मचारी र जनताले कसरी काम गर्नुभएको छ ?
हामी सबै मिलेर अघि बढेनौं भने विकास हुन सक्दैन । म के कुरामा ढुक्क र विश्वस्त छु भने जनताले मलाई गाडी चढ्न मेयर बनाएर पठाएका हैनन् । म जनताप्रति कहिल्यै विश्वासघात गर्दिनँ । जनताको सेवक हुँ । अहिले जनप्रतिनिधिलाई कसैले छोटे राजा भनेर आरोप लगाउँछन् । त्यो जनप्रतिनिधिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेका कारण जनताको आक्रोश हो । अब कुरा रह्यो जनप्रतिनिधि, कर्मचारी र आम पनौतीवासीको समन्वय ।
योजना उत्कृष्ट भए पनि अनुगमन फितला ेहुँदा विकास राम्रोसँग भएन भन्ने आरोप छ नि ?
योजना किन घटाइयो । यसको उत्तर यहीँ छ । अनुगमन बलियो बनाउन । विकासलाई वास्तविक ठाउँमा लैजान । विकासको उच्चतम प्रतिफल लिन । मैले यसअघिका वर्षमा उपभोक्ता समिति गठनमा म आफैं नगर प्रमुखसमेत उपभोक्ता समितिको गठनमा सहभागी हुने गरेको छु । वडाध्यक्ष, वडासदस्य सबै त्यस काममा सक्रिय हुनुहुन्छ । हाम्रो विकास नमुना छन् । आउनुस् हेरौं, छलफल गरौं म सबैलाई आह्वान गर्दछु । हाम्रो उपप्रमुखको संयोजकत्वमा भएको अनुगमनले उत्कृष्ट छ । उहाँले राम्रोलाई सम्मान र गलतलाई सुधार्ने कार्यमा जोड दिनु भएको छ ।
नगरका चुनौती पनि होलान् नि ?
पनौती नगरपालिकाको खास ठूलो समस्या छैन । एक मात्र समस्या भनेको कर्मचारी र कामको व्यवस्थापन रहेको छ । कर्मचारीको संख्या हामीसँग पर्याप्त छ तर स्किलफुल कर्मचारी हामीसँग छैनन् । कर्मचारीको काम गर्ने सवालमा कर्मचारीमा काम गर्ने जाँगर चलेको र स्थानीय सेवाग्राहीले समेत कर्मचारीलाई क्रमशः विश्वास गर्न थालेका छन् ।
नगरमा आउने बजेटको अवस्था कस्तो छ ?
हामीले सबै क्षेत्रको विकासमा जोड दिएर काम गरिरहेकाछौं । स्थानीय तहमा समस्या नै नभएको होइन तर हाम्रो स्थानीय तहमा त्यस्तो कुनै समस्या छैन । हामीले आएका समस्यालाई हाम्रो हिसाबले समाधानसमेत गरिरहेकाछौं ।
सिंहदरबार गाउँसम्म आएन भनेर हल्ला चलेको छ नि ?
केही गाउँपालिका र नगरले महत्वाकांक्षी कर योजना ल्याए । धेरैले नियम मिचेर काम गरे । कुनै नगर र गाउँको निर्णयले देशभरका ७ सय ५३ वटा स्थानीय सरकारले आरोप भोग्नुपरेको छ । संघीयतालाई प्रहार गर्नका लागि स्थानीय तहको एउटा व्यक्तिले गरेको गल्तीलाई सबैलाई औंल्याउने काम भएको छ । सिंगो स्थानीय सरकारविरुद्ध एक पटक सबैबाट प्रहार गर्ने अवस्था आएको थियो । स्थानीय सरकारका प्रतिनिधिले ठीक काम ग¥यौं भने संघीयता बाँच्छ नत्र डुब्छ । संघीयताको जग भनेकै स्थानीय सरकार हो ।
पर्यटनको अथाह सम्भावना रहेकाले पर्यटन विकासलाई गुरुयोजना बनाएर अघि सारेकाछौं।