‘आन्तरिक विभेदको वृत्तान्त’ सार्वजनिक
काठमाडौं : दलित र गैरदलितभित्र भएको विभेद र छुवाछुतका विषय समेटिएको पुस्तक ‘आन्तरिक विभेदको वृत्तान्त’ सार्वजनिक भएको छ।
लामो समयदेखि पत्रकारितामा क्रियाशील मेघराज रसाइलीले लेखेको पुस्तक सार्वजनिक भएको हो। समता फाउण्डेसनले बजारमा ल्याएको उक्त पुस्तकमा जातिभित्रको आन्तरिक विभेदलाई समेटिएको छ।
‘जातीय विभेदका कुरा धेरै उठे। गैरदलितले दलितलाई विभेद गरेका धेरै सुन्यौँ’, लेखक रसाइली भन्छन्, ‘तर, दलितभित्र पनि आन्तरिक विभेद छ। गैरदलितभित्र पनि छ। यसलाई पुस्तकमा समेटेको छु।’
पुस्तकमा जातीय संरचनाको जालो नै विभेदको मुख्य कारण भएको उल्लेख गरिएको छ। ‘जातीय संरचनाको जालोले हामीलाई जेलेको छ। हामी जातीय व्यवस्थाको सीमा नाग्न सक्दैनौँ भन्ने पुस्तकमा छ’, उनले भने, ‘जातीय जालो कसैले तोड्न सक्दैन। यसैको वृत्तान्त समेटेको छु।’
३२३ पृष्ठको पुस्तकको मूल्य ४५० राखिएको छ। डेढ दशकदेखि पत्रकारितामा सक्रिय रसाइली समसामयिक राजनीति, सुशासन, सामाजिक न्याय र सीमान्तकृत जातजाकिा विषयमा काम गर्दै आएका छन्।