मानसरोवर यात्रा र हाम्रो नियति
एक साताअघि मात्र कार्यक्रम बनेपछि मानसरोवर यात्रामा निस्कने निधो गरें। गायत्री परिवार नेपालका अध्यक्ष केशव मरहट्टाले एक साताअघि भन्नुभएको थियो, ‘हामी मानसरोवर यात्रामा निस्कने निर्णयमा पुग्यौं, तपाईंहरू पनि जानुहुन्छ कि ? ’ मैले भनें, ‘हुन्छ, हामी पनि जान्छौं। ’ उहाँ झनै उत्साहित हुनुभयो।
मानवरोवर भन्नेबित्तिकै कैलाश पर्वतको स्मरण भयो। भगवान् शिवले घुम्न गएर बिताएको ठाउँ पक्कै रमाइलो र आकर्षक होला भन्ने लाग्यो। मानसरोवर जीवनमा एकपटक पुग्नैपर्ने तीर्थस्थल हो भन्ने सुनेको थिएँ। उहाँसँगको टेलिफोन संवादकै क्रममा त्यो मौकाको सदुपयोग किन नगर्ने भनेरै हामी जाने निर्णयमा पुगेका हौं।
मरहट्टा परिवार, निर्माण व्यवसायी केशव थापा र अन्य केही उद्योगी व्यवसायीसहित हाम्रो ३५ जनाको टोली, दुई गाइड र पाँच किचन स्टाफसहित ४२ जना साउन २६ गते मानसरोवर यात्रामा निस्क्यौं। यात्रामा खाने चिजवीज सबै यतैबाट लिएर गएका थियौं। किनकि, यसअघि जानेहरूकै सल्लाहअनुसार सडक यात्राका क्रममा खानपानको उचित प्रबन्ध हुँदैन भन्ने सुनेरै काठमाडौंबाटै लिएर जाने निधो गरेका हौं।
साउन २६ गते राजधानी काठमाडौंबाट धादिङको गल्छी हुँदै नुवाकोटको कालिकास्थानसम्मको यात्रा सुखद नै भयो तर जब त्यसपछि अघि बढ्न थालियो सडकको दयनीय अवस्थाले चिन्तित तुल्याउन थाल्यो। नुवाकोटबाट स्याफ्रुबेंसीसम्मको करिब ३५ किलोमिटर सडक खण्डको अवस्थाले एकातिर यात्रालाई रोमाञ्चक बनाइरहेको थियो भने अर्कोतिर भयग्रस्त पनि। रसुवागढी नपुगुञ्जेल सडकको दुरवस्थाले पिरोलिरह्यो। नेपाली भूमिमा प्रकृतिले दिएका सुन्दर उपहार दृश्यावलोकन गर्दै हिँड्दाको मज्जा भने बेग्लै थियो।
रसुवागढी नपुग्दासम्म नेपाल खण्डमा भोटेकोशीका तीनवटा विद्युत् परियोजनामा चीनले काम गरिरहेको छ। त्यो क्षेत्रमा सडक बिग्रियो भने चिनियाँले तत्काल मर्मत गरिहाल्दा रहेछन्। जतिबेला अवरुद्ध भयो क्षणभरमै खोलिहाल्ने तर हाम्रोतर्फबाट गल्छीदेखि रसुवागढीसम्मको सडकखण्डमा लामो समयदेखि परेका खाल्डासमेत पुरिएको रहेनछ। रेलका सपना बाँड्दै गर्दा र हाम्रोतर्फको काम गर्ने शैली र सडक दुरवस्था हेर्दा रेल धेरै दूरको कुरा लागिरह्यो यात्राकै क्रममा।
साउन २६ गते रसुवागढी सीमानजिकैको घट्टे खोलामा वास बस्यौं। भोलिपल्ट २७ गते केरुङ पुग्यौं। २८ गते केरुङबाट करिब १९० किमिको यात्रापछि चीनको सागामा पुगेर होटेलमा वास बस्यौं।
चिनियाँ पक्षले अध्यागमनको भव्य कार्यालय संरचना निर्माण गरिरहेको रहेछ। सुक्खा बन्दरगाह तयारी अवस्थामा पुर्याएको छ। तर हाम्रोतर्फ भने भर्खर भन्सार कार्यालयको जग हाल्ने काम मात्र भइरहेको छ। अर्बभन्दा बढी भन्सार उठ्ने बन्दरगाह पारि बन्ने तर वारि नबन्ने स्थितिले दुःखी बनायो। हाम्रो खण्डमा सामान बोक्ने कन्टेनरहरू सडकका किनारामा राखिएका छन्। त्यसको कुनै सुरक्षा छैन। पानी आयो भने पहिरोको डरले राति नै अन्यत्रै लैजानुपर्ने अवस्था रहेछ। कन्टेनरका चालकहरू दिनरात नभनी ‘स्ट्यान्ड बाई’ बसिरहनुपर्ने।
चिनियाँ भूमि टेक्नेबित्तिकै सडकको अवस्था राम्रो छ। नयाँनयाँ सहर निर्माण भइरहेका रहेछन्। बायापट्टि देखिने नेपाली प्रकृतिका उपहारले भने उत्साह जगाउँदो रहेछ। बर्खामा पर्ने पानीका कारण छिटोछिटो भत्किने सडक सिमेन्टेट गरिएका रहेछन्। सडकमा ससाना प्वाल परे तत्काल पुरिहाल्ने प्रचलन रहेछ। तर नेपाल खण्डतिर खाल्डो परेर यातायात अवरुद्ध नभएसम्म बनाउने चलन नभएको स्थानीयले बताए। तीन भञ्ज्याङ पार गर्न असजिलो भएको भन्दै उतापट्टि सुरुङ मार्ग बनाइँदै छन्, तर हामी भएका सडकलाई पनि सहज तरिकाले आवातजावत गर्न सक्ने स्तरको समेत बनाउन सकिरहेका छैनौं। हामी चीनबाट सामान ल्याएर नेपाली जीविका चलाउन सक्छौं भन्दै गर्दा सडकको यो दुरवस्थाप्रति सोच्ने फुर्सद भने छैन।
मानसरोवर यात्रामा जाने भारतीय र नेपाली तीर्थयात्रीको घुइँचो दिनप्रतिदिन बढ्दो छ भन्ने यात्राका क्रममा हुने सवारी चापले देखाउँछ। मानसरोवर पनि पछि तिब्बतमा गाभिएको नेपाली भूमि भएकाले नेपाली र भारतीय तीर्थयात्रीलाई भिसा सहज तरिकाले मिल्दो रहेछ। त्यसैले पनि यात्रुको चाप बढेको छ।
साउन २९ गते सागाबाट दार्चेन पुग्यौं। त्यहाँबाट मानसरोवर पुग्न आठ किमि रहेछ। समुद्री सतहबाट ५४०० मिटरको उचाइमा रहेको कैलाश पर्वत भने दार्चेनबाट ६ किमि दूरीमा पर्दो रहेछ।
हाम्रो टोली ठूलो भए पनि टुर गाइड आवश्यक पर्ने रहेछ। गाइडको काम चिनियाँ आफैंले गर्दा रहेछन्। चीनले चिनियाँ गाइडबाहेक अरूलाई त्यो पेसा गर्ने अवसर दिएको रहेनछ। बीचबीचमा राखिएका सूचना पार्टी चिनियाँ भाषामा भएकाले भारतीय र नेपाली तीर्थयात्रीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै हुँदो रहेछ। मुस्किलले एकदुई ठाउँमा अंग्रेजी भाषा उल्लेख गरेको पाइयो सूचना पाटीमा।
तिब्बत खण्डको हरेक वास बस्ने ठाउँमा नयाँनयाँ सहर बनाइएको रहेछ। सडकको अवस्था राम्रो भएकाले यात्रा सहज भए पनि बीच बाटोमा तीर्थयात्रीको स्वास्थ्यस्थिति खराब हुँदा औषधोपचारको कुनै व्यवस्था रहेनछ। प्राथमिक उपचारसमेतको अभाव छ। नेपाल सरकारले तीर्थयात्रीको हितलाई ध्यानमा राखेर चिनियाँ पक्षसँग कूटनीतिक तवरबाट छलफल चलाई उपचार र औषधिको प्रबन्ध गरिदिनुपर्छ। कम्तीमा यस्ता मानवीय सेवाबाट कुनै पनि तीर्थयात्री वञ्चित हुन नपरोस् भन्ने ख्याल चिनियाँ पक्षले गर्नुपर्छ। आफ्नै भूमिको तीर्थस्थलमा पुग्ने यात्रीको चाप बढ्दा आर्थिक उन्नतिमा थोरै भए पनि टेवा पुग्छ भन्ने भाव चिनियाँ पक्षमा विकास हुनुपर्छ। चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बत सरकारलाई निर्देशन दिएर तीर्थयात्रीको मर्कामा सहयोगी बन्नुपर्छ। यसले उनीहरूकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि मानसरोवर यात्रालाई सहज बनाउन सहजीकरण गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीसँग हालै काठमाडौंमा भएको भेटवार्तामा आग्रह गरेका छन्। तीर्थयात्रीको उपचार प्रबन्ध र भोग्नुपरेका कठिनाइबारे सचेत हुनसमेत देउवाले सुझाए। देउवाको त्यो आग्रह सकारात्मक छ। तर त्यसले कार्यरूप पाउँछ कि पाउँदैन भन्नेमा पनि अनुगमन र निगरानी आवश्यक छ।
यात्राका क्रममा एउटा अविस्मरणीय घटना भयो। हामी चढेको गाडीमा सानो चरा ठोक्कियो। चरा ठोक्किनेबित्तिकै तिब्बतीयन चालकले एउटा मन्त्र भन्यो। त्यो चरा गाडीको वाइपरमा अड्कियो। जहाँनेर ठोकिएको हो गाडी त्यहींनेर फर्काएर चालकले फेरि मन्त्र पढ्यो। त्यसपछि हातमा राखेर त्यो चरालाई उडाइदियो। चालकको त्यो धार्मिक आस्थाप्रति हामी चकित भयौं। त्यसभित्र उसको मानवीय गुण पनि बलशाली रहेछ भन्ने लाग्यो।
युगौंदेखि स्थापित प्रकृतिले दिएका पर्यटकीय, धार्मिक र ऐतिहासिक महŒवका धरोहरहरूको अवमूल्यन हामीकहाँ हुने अनावश्यक विवादका कारण घटिरहेको छ।
दसदिने तीर्थयात्रापछि फर्किंदै गर्दा मानसपटलमा त्यहाँको हिजोको अवस्था र आज विकासपछिको अवस्था नियाल्दा इच्छाशक्ति र चाहना हुने हो भने चाहेको काम गर्न सकिँदो रहेछ भन्ने लाग्यो। हिजो उजाड र केही उत्पादन नहुने जमिन आज हराभरा र सुविधानसम्पन्न देख्दा जोकोहीको मन पग्लिन्छ। तिब्बतमा तीनवटा आरक्षण, घाँसे मैदान (जहाँ भेडा, चौंरीका गोठ र घरगोठसहित) को आरक्षण, वन्यजन्तुको आरक्षण र हिमालय र्यान्जको आरक्षण गरी तिब्बतमा तीनवटा आरक्षणको व्यवस्था गरिएको रहेछ।
यात्रा पूरा गरी नेपाल फर्कंने क्रममा भ्रमण दलका सबैले आआफ्नो अनुभव साटासाट गर्न थाले। पानीबिनाका खुलाजस्तै देखिने शौचालयका कथा कहिल्यै बिर्सन सकिन्न। संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुककै स्वशासित क्षेत्रमा पानीबिनाको शौचालय कल्पना गर्न सकिन्न। तर त्यो सत्य रहेछ। युरोपलाई माथ गर्ने चीनले तिब्बतमा सार्वजनिक शौचालय पनि व्यवस्थित गर्न सकेको रहेनछ। कसैले रोचक पक्ष त कसैले मानसरोवरमा भोगेका सप्ठेरो/अप्ठेरोका कथा भन्दै आए।
कसैले कति राम्रो मानसरोवर भनेर प्रशंसा गरे भने चिनियाँको एकलकाटे व्यवस्थापनबारे कसैले आलोचनासमेत गरे। हामीमा इच्छाशक्तिको अभाव छ। चाहने हो भने उजाड मरुभूमिमा पनि सुन फलाउन सकिँदो रहेछ भन्ने उदाहरण खाडी मुलुकबाट मात्र होइन, चीनबाट पनि सिक्नुपर्ने रहेछ। तर हाम्रो मानसिकता नै संकुचित छ। सिक्न हामी लाज मान्छौं। संसारका विकसित देश पनि अरूकै सिको गरेर सुविधासम्पन्न भएका हुन्। आध्यामिक र धार्मिक आस्था कति उचो, सहिष्णु र उदार हुँदो रहेछ भन्ने उदाहरण पनि मानसरोवर यात्राले सिकाएको छ।
हो, हामी त्यसै पछि परेका रहेनछौं। यहाँ धार्मिक सद्भाव खलबल्याउन भएका जातीय आन्दोलन र त्यसअनुकूलका राज्य स्थापना गर्न अनेक प्रयास भए। अन्ततः ती प्रयासले मूर्तरूप लिन पाएनन्। व्यक्ति, समाज अनि मुलुक भन्ने भावनाबाट माथि उठेर मुलुक समाज अनि व्यक्तिलाई प्राथमिकता दिने हो भने हामी पनि केही कुरामा कमी छैनौं। प्रकृतिले उपहारस्वरूप दिएका मानसरोवरजस्ता पर्यटकीय, धार्मिक र ऐतिहासिक महŒवका धेरै धरोहर नेपालमा युगौंदेखि स्थापित छन्। तर हामीबीच आपसमा हुने वादविवादले ती धरोहरको मूल्य घटिरहेको छ। तीनै धरोहरलाई व्यवस्थित मात्र बनाउन सक्ने हो भने मुलुक बनाउन कठिन छैन।