के हो, हेमोफिलिया ?
विराटनगर : प्रायः महिलाबाट पुरुषमा सर्ने रोग नै हो ‘हेमोफिलिया’। यो ‘ए’ र ‘बी’ गरी दुई प्रकारको हुन्छ। नेपाल हेमोफिलिया सोसाइटीका सदस्यसमेत रहेका डा. प्रेम देवान मानव रगतमा १३ प्रकारका प्रोटिन पाइने बताउँछन्।
त्यसमध्ये रगतमा ८ र ९ औं तत्वको प्रोटिनको कमी हुँदा ‘हेमोफिलिया’ को समस्या देखा पर्छ। क्रोमोजोमले रक्त तत्वमा पाइने प्रोटिन उत्पादनमा भूमिका खेल्न नसक्दा यो समस्या आउँछ। ८ औं को कमीले ‘ए’ र ९ औं तत्वको कमीले ‘हेमोफिलिया’ ‘बी’ निम्त्याउने डा. देवानले जानकारी दिए।
पुरुषमा ‘एक्स’ र ‘वाई’ क्रोमोजोम हुन्छ। महिलामा दुवै ‘एक्स’ ‘एक्स’ क्रोमोजोम हुन्छ। मानिसको रक्त तत्वमा पाइने प्रोटिन उत्पादन गर्ने मुख्य भूमिका क्रोमोजोमले गर्छ। त्यसमध्ये ‘एक्स’ क्रोमोजोमले मात्रै प्रोटिनको ८ औं र ९ औं तत्व उत्पादन गर्छ। पुरुषमा एउटा मात्रै ‘एक्स’ क्रोमोजोम हुने भएकाले प्रोटिन उत्पादनमा त्यसले महत्वपूर्ण भूमिका खेल्न नसक्दा यो समस्याबाट पुरुष बढी पीडित बन्नुपरेको डा. देवानको भनाइ छ।
लक्षण
– शरीरमा नीलडाम देखिने
– चोटपटक लाग्दा रगत नरोकिने
– शरीरभित्र (आन्तरिक) रक्तस्राव हुने
– दिसा–पिसाबबाट रगत जाने
– जोर्नी दुख्ने तथा सुन्निने
– मांशपेसीमा रक्तस्राव हुने
– गिजा, दाँत र नाकबाट रगत बग्ने
महिलामा दुवै क्रोमोजोम ‘एक्स’ नै हुने भएकाले एउटाले उत्पादन गर्न नसके अर्कोले प्रोटिनको ८ र ९ औं तत्व उत्पादन गर्दा महिलामा न्यून मात्रामा हेमोफिलिया देखा पर्ने डा. देवान बताउँछन्। उनका अनुसार बुवा ‘हेमोफिलिया’ युक्त र आमावाहक भएको अवस्थामा महिलामा यो समस्या देखिन सक्छ।