फलामको मान्छे

फलामको मान्छे

यो २०३६ सालको कुरा थियो। हामी कलेजका विद्यार्थी। त्यस बेला इलाम क्याम्पसमा विभिन्न तिरबाट पढ्न आएका विद्यार्थीको भीडमा निकै कवि थिए। विद्यार्थी राजनीतिले गाँजेको बेला पनि साहित्यको छुट्टै वातावरण तयार थियो। मदन अधिकारी, प्रकाश बुढाथोकी, राजेन्द्र परदेशी, राजेन्द्र शर्मा, गणेश निरौला, राधेश्याम लेकाली, लेखनाथ भट्टराई, याम भण्डारी, देवेन्द्र शक्तेन, कृष्ण धरावासी, जसुदा खाकी, पुष्प प्रधान आदि नयाँ जोश भरिएका कविहरूको जमात थियो। विभिन्न फरक मत बोकेर पनि एउटै मञ्चमा भेटिने उनीहरू लेखनयात्रामा सक्रिय थिए। नयाँ लेखकहरूलाई खासै प्रोत्साहन नदिए पनि विष्णु नवीनको अभिभावकीय उपस्थिति थियो। जनमतसंग्रहको राजनीतिक लहरले हामी कविहरूलाई पनि सँगसँगै उचाल्दै पछार्दै गर्दै थियो।

काठमाडौंबाट सुरु भएको सडक कविता क्रान्तिले हामीलाई पनि सडकमा जान प्रेरित गर्‍यो। हामीले इलामका विभिन्न चोकमा सडकमा कविता पाठ गरेर प्रजातन्त्रको पक्षमा आफ्नो पक्षधरता स्थापित गर्‍यौं। त्यस कविता अभियानले कविहरूमा पनि कित्ता छुट्टिनु स्वाभाविक थियो। हाम्रो लेखनमा अझ निखार ल्याउन त्यस आन्दोलनको महत्र्वपूर्ण योगदान छ।

जनमतसंग्रहको परिणाम नकारात्मक आयो। फेरि पनि पञ्चायती व्यवस्थाले नै सुधारिने सुझावसहित अनुमोदन पायो। हामी बहुदलपक्षीय भनी चिनिएका कविका लागि अब अनेकौं बाधा थिए र खासमा जागिरका लागि दिएका हरेक आवेदनलाई प्रहरी प्रतिवेदनले छेक्थ्यो। कलेज सकेर जो जो जहाँ जहाँ पुगे पनि सबैको अवस्था उस्तै थियो।

क्याम्पस सकेर झापा झरेपछि मदन अधिकारी, म र प्रकाश बुढाथोकीको सम्पर्क निरन्तर थियो। यसबीच आफ्नो आफ्नो पाराले हाम्रो सम्बन्ध कवि भवानी घिमिरेसँग बढ्दै गएछ। बिर्तामोडमा २०३७ सालमा पत्रकार मदन ढकाल र गोपीकृष्ण खनालहरूले खोलेको विश्वदीप मुद्रणालय हाम्रो भेटघाटको केन्द्र बन्दै गयो। त्यहाँ गणेशबहादुर प्रसाई, भवानी घिमिरे, बैरागी काइँला, दान खालिङ, खनुपरुदे रामबाबु प्रसाई, चूडामणि रेग्मीहरूसँग निरन्तर भेट हुन थाल्यो। त्यहीँ पहिलोपल्ट भेट भएको थियो मेरो केशव आचार्यसँग। त्यसपछि क्रमश : भेट हुँदै गयो अमृतलाल श्रेष्ठ, डिकमान विरही, लक्ष्मण ढकाल, देवेन्द्रकिशोर ढुंगाना, हीरा आकाश, दुर्गा दाहालहरूसँग।

दुर्गा दाहालले नेपाली कविताको स्तरीयताको बाँध २०४४ सालमा प्रकाशित ‘टाँगिँदै गरेको आकाश’ कवितासंग्रहबाट नै भत्काइसक्दा पनि नेपाली केन्द्रीकृत समालोचनाले उनलाई देखेन।

भवानी घिमिरे युवासँग बढी घुलमिल हुने र युवाहरूलाई ऊर्जा भर्ने फरक प्रकारको व्यक्ति हुनुहुन्थ्यो। यहाँले हामीलाई हरेक भेटमा आफैंसरहको मित्रको झैं व्यवहार गर्दै कविता कसरी लेख्ने र किन लेख्ने भनेर भनिरहनुहुन्थ्यो। बिस्तारै हामी भवानी घिमिरेको गहिरो संगतमा पर्दै गयौं र हाम्रो साहित्यिक नेता उहाँ हुनु भो।

भवानी घिमिरेले जुटाइदिएका हामी अब आफैं दिनदिनै गहिरो मित्रतामा परिणत हुँदै गयौं। आज सम्झँदा पनि अचम्म लाग्छ— लगभग उस्तै उमेरका समकालीन युवामा कसरी त्यस्तो गहिरो सामूहिक मित्रता भयो होला जब कि त्यहाँ फरक फरक आस्था बोकेका थियौं हामी। प्रजातन्त्रवादी, प्रगतिशील र पञ्चायतवादी विचार बोकेका हामी एउटै मञ्चमा कुनै आग्रहबेगर भेला हुन्थ्यौं र एकअर्काको प्रशंसा गरेर थाक्दैनथ्यौं। यो सबैको प्रमुख कारण थियो भवानी घिमिरेको प्रजातान्त्रिक सोच। उहाँ आफू रुस समर्थित कम्युनिस्ट आस्था बोकेको भएर पनि उहाँले हामीलाई कहिल्यै आफ्नो आस्था अनुकूल बन्न प्रस्ताव गर्नुभएन। भन्नुहुन्थ्यो— आस्था भनेको व्यक्तिगत कुरा हो। साहित्यमा आएपछि आफ्नो व्यक्तिगत आस्थालाई घरमै राखेर आउनुपर्छ। भवानी घिमिरेको त्यो कुरालाई तागाधारी बटुकले निष्ठापूर्वक गायत्री जपेझैं हामीले मान्यौं। उहाँले सधैं भन्नुभो— साहित्यमा ककाप अर्थात् कम्युनिस्ट, कांग्रेस, पञ्च सबै एकै ठाउँ हुनुपर्छ।

प्रत्येक व्यक्तिको आस्थालाई सम्मान गर्ने भवानी घिमिरेजस्तो साहित्यिक अभिभावक पाएर त्यस कालका हामी झापाली युवाहरू निर्धक्क लेखनमा ओर्लियौं। हाम्रो लेखनले थोरै समयमै झापामा कसैले नसोचेको प्रगति गर्‍यो। हरेक गोष्ठीमा जब जत्था बनेर हामी पुग्थ्यौं, गोष्ठी नै कब्जाजस्तो हुन्थ्यो। अचेल पुराण भन्ने पण्डितहरूले गायक, वाद्यवादकको समूह लिएर जसरी जान्छन् त्यसैगरि हामी भवानी घिमिरेको पछि हुन्थ्यौं। उहाँले आफ्नो मतलाई सुरक्षित राख्दै हामीलाई दिने सुझावचाहिँ थियो बहुदलीय प्रजातन्त्र हाम्रो भित्री लक्ष्य हुनुपर्छ। यस कुरामा पञ्चायतवादी विचार बोकेका साथीहरू पनि मौन रहन्थे तर उनीहरूले साथ छोडेनन्। कालान्तरमा उनीहरू पनि प्रजातन्त्रवादी लहरमै उभिन आइपुगे।

उनै भवानी घिमिरेले २०४० सालको प्रारम्भमै एक दिन हामी सबै भेला भएको बेला भन्नुभो— तपाईंहरू अब एकदम राम्रो लेख्न सक्ने हुनुभयो। तर तपाईंहरूको लेखनले कुनै विशेष धार समात्न सकेको छैन। कुलोमा बगेको पानी मात्र खेतमा पुग्छ। वर्षाको पानी जतासुकै बगेर हराउँछ। लेखकको आफ्नो विश्वास भएजस्तै उसको लेखनमा पनि आफ्नो अडान हुनुपर्छ। मैले यहाँ राजनीतिक संलग्नताको ऐक्यबद्ध मञ्चको कुरा गरेको हैन। तपाईंहरू जहाँ जहाँ भए पनि आफ्नै आस्थाको आसनमा उभिएर लेखनमा एउटा साझा मञ्च बनाउनुहोस्। जसको शक्तिले तपाईंहरू यहाँको निरंकुशतासँग लड्न सक्नुहुन्छ, नत्र कुनै बेला प्रशासनले तपाईंहरूलाई एक्लाएक्लै निराश बनाउन सक्छ।

अनि उहाँले भोक कविता आन्दोलनको प्रस्ताव ल्याउनुभयो र त्यसको व्याख्या गर्नुभयो। हामीले त्यसलाई मान्यौं। भवानी घिमिरे प्रवक्ता हुने भएपछि हामीले अबको हाम्रो लेखनको नाम भोक कविता हुनेछ भनी घोषणा गर्‍यौं। २०४० साल असार २१ गते झापाको भद्रपुरस्थित देवकोटा भवनमा कवि तथा कानुनविद् लीला उदासी सभापति भएको सभाबाट भोक कविता आन्दोलनको औपचारिक घोषणा गरियो। त्यसै साल काठमाडौंमा तरलवादको सुरुआत भयो। त्यसले काठमाडौंका तमाम समालोचकलाई आकर्षित गर्‍यो, केन्द्रबाट टाढा परेकाले भोक कविताले खासै चर्चा पाउन सकेन। तर त्यस आन्दोलनले पूर्वमा एउटा सशक्त कवि पुस्ता जन्माउन सक्यो। त्यसको एक सदस्य म आफैं पनि हुँ। म निर्धक्क भन्न सक्छु— भवानी घिमिरेले त्यो दिन हामीलाई एउटै डालामा हालेर नहल्लाएको भए आज हामी कसैको पनि यसरी चर्चा हुन सक्ने थिएन।

भोक कविता आन्दोलनका बारेमा मैले अन्यत्र पनि धेरै ठाउँमा लेखिसकेको छु। यो लामो भूमिका भर्खरै दिवंगत भएका हाम्रा अनन्य मित्र दुर्गा दाहाललाई विशेष गरी सम्झनका लागि हो। नेपाली समालोचना र संग्रहहरूले काठमाडौं केन्द्रभन्दा बाहिर उति बेला त देख्दैन थियो तर आज पनि उति उदारता देखाउँदैन। दुर्गा दाहालले नेपाली कविताको स्तरीयताको बाँध २०४४ सालमा प्रकाशित ‘टाँगिँदै गरेको आकाश’ कवितासंग्रहबाट नै भत्काइसक्दा पनि नेपाली केन्द्रीकृत समालोचनाले उनलाई देखेन। उनलाई मात्र होइन, हीरा आकाश, केशव आचार्य, प्रकाश बुढाथोकी, डिकमान विरहीहरूलाई पनि देख्न सकेको छैन। तीमध्ये हीरा आकाश र डिकमान विरही बितेको झन्डै दशक पुग्न लागेको छ।

दुर्गा दाहाल हामी सबैभन्दा राम्रो कविता लेख्ने कवि थिए। हामीले उनलाई र उनको लेखनलई स्वीकार गर्‍यौं। हामीबीच प्रतिस्पर्धाको मनोविज्ञान भए पनि त्यसले कहिल्यै ईष्र्याको रूप लिएन। हामी प्रत्येकले प्रत्येकलाई प्रशंसा र सम्मान गर्न जान्यौं। त्यसो हुन सधैं भवानी घिमिरेको अभिभावकत्व उपस्थित थियो।

२०४३ सालमा स्थापित भएको मेची अञ्चलस्तरीय महानन्द पुरस्कार हामीमध्ये सबैभन्दा पहिलोपल्ट दुर्गा दाहालले पाए। त्यही मञ्चमा उनको ‘टाँगिँदै गरेको आकाश’ कवितासंग्रह पनि विमोचन भयो। त्यो संग्रह दुर्गा दाहालको मात्र होइन नेपाली आधुनिक कविताको चालीसको दशकमा प्रकाशित प्रतिनिधि संग्रहको लस्करमा हस्तक्षेपकारी छ तर त्यो काव्य पारखी आँखाको केन्द्रमा उभिने गरी देखिन सकेन।

प्रचारबाट सधैं टाढा रहन चाहने दुर्गाको स्वभाव उनकै प्रतिभाको प्रकाशनका लागि बाधक भयो। हरेकपल्ट भेटमा म उनलाई सम्पर्कमा रहन कर गर्थें। उनी हुन्छ भनेर छुट्टिन्थे र फेरि महिनौं भेटिँदैन थिए। फोन उठ्दैनथ्यो। दुर्गा वास्तवमा कवि थिए र कवि मात्र थिए। उनी कविताबाहेकका मञ्चमा कतै भेटिँदैनथे। उनी संगठक पनि कहिल्यै भएनन्। उनलाई मानका लागि राखिएका संगठनहरूमा पनि एकप्रकारल् थपना मात्र हुन्थे। सबैभन्दा पछिल्लोपल्ट हामीले उनलाई भवानी घिमिरे साहित्य प्रतिष्ठानमा उपाध्यक्ष राखेका थियौं। सम्भवत उनी एउटाभन्दा बढी कुनै मिटिङमा भेटिएनन् पनि।

एउटा कविता लेख्न उनलाई महिनौं लाग्थ्यो। आफूलाई चित्त नबुझेसम्म उनी त्यसलाई बाहिर निकाल्दैनथे। त्यसैले उनका धेरै कविता हुन पनि पाएनन्। बहसमा खासै रुचि नलिने, एकपल्ट स्थापित भएको सम्बन्धलाई सधैं बचाइरहन प्रयत्न गर्ने, गुनासो नबोक्ने, आफ्ना कविता नछापिएकोमा चित्त पनि नदुखाउने उनी हामीमध्ये निकै फरक धारका थिए। उनकै स्वभावका अर्का भोक कवि प्रकाश बुढाथोकीबारे पनि मैले छुट्टै लेख्नुपर्ने छ।

तीन वर्षअघि ‘दुर्गा दाहालका कविताहरू’ नामक कृति प्रकाशित भयो। सायद पहिलोपल्ट उनी आफ्ना कविताहरूका साथ काठमाडौंको मञ्चमा उभिएका थिए। त्यो दिन उनको अनुहारमा देखिएको खुसी म आज पनि झलझली सम्झिरहेको छु।

उनका हरेक कविता एकअर्कासँग प्रतिस्पर्धी छन्। तर हामीबीच उनको एउटा कविता अत्यन्त चर्चित र लोकप्रिय थियो। हामी उनलाई बोलाउँदा कहिल्यै दुर्गा भन्दैनथ्यौं। उनलाई हामी फलामको मान्छे भन्थ्यौं र पछि त फलाममात्र भन्न थाल्यौं। उनले त्यसलाई कहिल्यै नराम्रो मानेनन्। उनी भन्थे— तिमीहरू कोही आकाश भयौ, कोही धरती भयौ। ठिकै छ, म फलाम नै सही। अनि हाँस्थे जीउ हल्लाउँदै। मैले धेरै ठाउँमा उनको त्यो कविता प्रयोग गरेको छु।

पाठकहरूलाई पस्किन्छु आज पनि—

निर्धक्क काँटी रोपेर

बदनामी हातहरू

बेनामी आँखाहरू

लिलामी पैतालाहरू

निरंकुश सपनाहरू

र काँतर हस्ताक्षरहरू !

इतिहासदेखि- बुखेनवाल शिविरका जर्जर भित्ता भएर

मलाई फर्सी पछार्छन्।

मलाई अब जन्मने कुनै इतिहासमाथि विश्वास छैन

मान्छेका सपनाहरू

र, दोहोरिने इतिहासहरू सब एउटै हुन्।

इतिहासको चक्कामा मान्छेका आकांक्षाहरू कसरी पेलिन्छन् ?

मलाई नसोध !

भरियाको पसिनामा र अनुहारमा खोज्नु

त्यहाँ यसको उत्तर हिजै लेखिएको छ।

मान्छे फलाउन बनिएका यी सडकहरू

मान्छेको पानीको महागाथा

रातारात टंक ओछ्याएर लास खोज्ने आकांक्षाहरू

मान्छेको महासागरमाथि।

मलाई विश्वास छैन !

तिमी जुनसुकै स्वर्णयुग आउन सक्छौ !

मलाई विश्वास छैन ! तिमी जुनसुकै स्वर्णयुग ल्याउन सक्छौ !

म त तिमीलाई उही पुरानो गीत भन्छु

बदनामी हातहरू

बेनामी आँखाहरू

लिलामी पैतालाहरू

निरंकुश सपनाहरू

र काँतर हस्ताक्षरहरू !

मलाई संसार भिराउने मेरा आदम र ईभहरू

माटोको भाँडोमा

तिरस्कार छ आजै तिमीजस्ता स्रस्टालाई

जसले कुनै युगमा पनि मलाई फलामको मान्छे बनाउन सकेनौ

जसले कुनै युगमा पनि मलाई प्रस्तरको मूर्तिमा उभ्याउन सकेनौं।

म अब जन्मँदा मात्र फलामको मान्छे भएर जन्मनेछु

मेरो कुनै घाउ हुनेछैन !

मेरो कुनै दाउ हुनेछैन !

दुर्गा दाहालको शोकभित्र छौं हामी। यही भदौ ३ गते मंगलबार त्रिसट्ठी वर्षको उमेरमा उनको हृदयगति बन्द भएर निधन भएको छ। उनको शरीर अब हामीबीच छैन तर उनी फलामझैं दरो भएर उभिएका छन् हामीभित्र।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.