यान्त्रिक कि रचनात्मक ?
कुनै पनि कुरा सजिलो गरी लेख्नु निकै असजिलो काम हो।
कुनै पनि सन्देशसहितको सामग्रीलाई प्रकाशमा ल्याउनुपूर्व त्यसको विषयवस्तु, अर्थप्रवाह र प्रस्तुतिशैली मिलाउने कामलाई सम्पादन भनिन्छ। सन्देशप्रवाहका माध्यम अहिले धेरै छन् तापनि लेखन परम्पराको विकाससँगै लिखित सन्देशप्रवाह चल्दै आएकाले लेखको प्रकाशन छपाइका माध्यमबाट हुन थालेपछि सम्पादनको कार्यक्षेत्र सुरु भयो। यसैले सम्पादनको कामलाई आज पनि सुरुमा लेखनसँगै जोडेर चिनिन्छ, बुझिन्छ र हेरिन्छ। लेखनसँग सम्बन्धित अनेक शब्द दिनानुदिन हामी प्रयोग गर्छौं। लेख्नु, लेखाइ, लेख, लेखक, आलेख प्रलेख, संलेख, अभिलेख, उपलेख, प्रतिलेख, लेखन, विलेखन, निर्लेखन, अपलेखन हाम्रा लेखनफाँटसँग जोडिएका शब्द हुन्।
समतल सतहमा भाषागत लिपिद्वारा चित्रण गर्ने कामलाई सामान्य त लेखाइ वा लेखन भनिन्छ। वर्ण, शब्द, संख्या, चिह्न, छवि, विम्ब, संकेतका रूपमा श्रव्य वा दृश्य सतह (कागज, कम्प्युटरको दृश्यपाटी, भित्ता वा यस्तै समतल वस्तु) मा कलम, टंकनयन्त्र, प्रकाश, वा ध्वनि वा ध्वनिसंकेतका माध्यमबाट कोर्ने, खोप्ने वा अंकन गर्ने कार्य लेखन हो।
लेखनद्वारा तथ्य, अभिमत, कला, सन्देशका पाठ्य, श्रव्य वा दृश्य रचना जन्मन्छन्। यसरी रचना भएका सामग्रीलाई सुपाठ्य, सु श्रव्य वा सुदृश्य वा यी सबैको संयोजित स्वरूपमा ढाल्ने कामलाई सम्पादन भनिन्छ। यहाँ पाठात्मक लेख–रचनाको सम्पादन केकसरी गर्ने भन्ने विषयमा केही सुझाव प्रस्तुत गरिएको छ।
०००
धेरैले सम्पादन गर्नुलाई भाषा मिलाउनु, राम्रो शीर्षक मिलाउनु, छाप्ने ठाउँको आयतन विचार गरेर त्यो आयतनभित्रको हुने गरी काटछाँट गर्ने भन्ठान्छन्। सम्पादन भन्नेबित्तिकै भएको सामग्रीलाई कसरी छोट्याउने भन्ने मात्रै सोचिन्छ तर सम्पादन कार्यको यथार्थ यस्तो होइन। सूचनाको कच्चा पदार्थलाई प्रारम्भिक रूपमा लेख्य संरचनालाई ढाल्ने काम नै पाठात्मक लेखन हो। यसरी गरिएको लेख, रचना, समाचार, निबन्ध, वृत्तान्त, पत्र, आलेख आदिको लेखनलाई मौलिक लेखन भनिन्छ। मौलिक लेखनमा रहेका सन्देशलाई अझ बुझिँदो गरी, व्याकरणको ढाँचा मिलाई, प्रस्तुतिलाई अझ तेजिलो र प्रभावकारी बनाउन गरिने काटछाँट, थपथाप, सरलीकरण, शुद्धीकरण र परिमार्जन गर्ने कामलाई हामी सम्पादन भन्छौं।
सम्पादन के र कसरी गर्ने ? यो प्रश्नको उत्तर सरल छैन। यो प्रकाशन गरिने सामग्रीको स्वरूप, प्रकाशनका माध्यमबाट प्रवाहित गर्न खोजिएको सूचना वा सन्देश, सम्प्रेषित गर्न चाहिएको भाव वा उद्देश्य, लक्षित भावक (पाठक, श्रोता, दर्शक), भावकको भाषिक सामथ्र्यजस्ता कुरामा निर्भर गर्छ।
लेख्य रचनाको सम्पादनका लागि ध्यान पुर्याउनुपर्ने रचनाको संरचना–विधान हो। हरेक रचनाका लागि विधागत मानक संरचना स्वीकार गरिएका हुन्छन्। लेखन संरचना भनेको त्यो रचनाको संरचनाकारी तत्त्व केके हुन् भन्ने हो। यसैले सम्पादन गर्नेलाई सम्बन्धित रचनाको आधारभूत संरचनाबारे जानकारी रहनुपर्छ। रचनाले समेट्ने सूचना त्यो संरचनाअनुसार मिलेको छ कि छैन भनेर जाँच गर्नु सम्पादनको पहिलो चरण हो।
उदाहरणका लागि, समाचारको सम्पादन गर्ने हो भने सूचनासमुच्चय (के, कहाँ, कहिले, कसले, कसलाई, किन र कसरी) खेस्रामा के–कसरी बसेको छ यकिन गर्नुपर्छ। समाचारको संरचना अधोसंकोचनमूलक हुन्छ र अग्रसन्देश (लिड) बाट सुरु हुन्छ। अग्रसन्देश प्रस्तुतिका विभिन्न शैली हुन्छन्। सम्पादकले समाचारको समग्र सन्देशका आधारमा त्यसलाई मिलाउनुपर्छ र कतिपय अवस्थामा पुनर्लेखन नै आवश्यक पर्छ। विचारप्रधान लेखको सम्पादन गर्ने सम्पादकले सामान्यतः निबन्धको संरचनाको जानकारी राख्नुपर्छ। सामान्यतः लेख भनेर चिनिने सामग्री सिर्जनात्मक लेखनको दृष्टिमा निबन्ध हो।
निबन्धको संरचनाले विषयवस्तु, परिवेश, प्रवाह गर्न खोजिएको सन्देश, प्रस्तुतिको शैलीको माग गर्छ। सम्पादकले खेस्रा लेखमा यी तत्त्व पहिचान गरी लेखमा सूचनासमुच्चयलाई कसरी रहेका छन् हेर्नै पर्छ। बनोट र बुनोट मिलेको छैन भने मिलाउने काम सम्पादनको हो। संरचनात्मक रूपमै यसरी गरिने सम्पादनलाई पाठ–सम्पादन (टेक्स्ट इडिटिङ) मानिन्छ। संरचना वा पाठ सम्पादन गर्ने कार्यले खेस्रा सामग्रीमा रहेका सूचना र सन्देशलाई प्रकाशित गरिने आयतन (पृष्ठ, स्तम्भ, अनुच्छेद, वाक्य र शब्दको संख्यात्मक सीमा) मा ढाल्ने काम गर्दछ।
सम्पादनको दोस्रो पक्ष भाषा सम्पादन हो। संरचनात्मक सम्पादन सकिएपछि सामान्यतः सामग्री प्रकाशन गर्न सकिने आकारमा त बदलिन्छ तर त्यसबाट मात्रै सन्देश सम्प्रेषित हुन्छ भन्न सकिने अवस्था हुँदैन। सन्देश सम्प्रेषित हुनका लागि सामान्यतः सरल भाषा र कुतूहल सिर्जनकारी लेखनशैली पनि चाहिन्छ। कुनै पनि कुरा सरल भाषामा लेख्नु निकै असजिलो काम हो।
भाषिक सम्पादन गर्नु भनेको सन्देश वा मूल लेखकले भन्न खोजेको वा व्यक्त गर्न चाहेको कुराको अभिप्रायलाई विचलित गर्नु होइन बरु त्यो अभिप्राय वा तात्पर्यलाई अझ तिक्खर रूपा प्रस्तुत गर्नु हो। यसैले रचनाको भाषासम्पादन गर्दा अनुच्छेदको तहबाट प्रारम्भ गर्नुपर्छ। एउटा अनुच्छेदमा एउटा स्पष्ट लक्ष्य वा सन्देश व्यक्त गरिएको हुन्छ। खेस्राको कुनै पनि अनुच्छेदमा व्यक्त त्यो लक्ष्य वा सन्देश सम्पादकले पहिले बुझ्नै पर्छ। बुझेपछि अनुच्छेदका वाक्यहरू तार्किक ढाँचामा छन् कि छैनन् भन्ने जाँच्नुपर्छ।
सामान्यतः अनुच्छेदमा उपस्थापना (प्रेमिसेस), तर्क वा युक्ति, पुष्टि वा प्रमाण र निष्कर्षका रूपमा सबल लक्ष्य वा सन्देश व्यक्त गरिएको हुन्छ। कहिलेकाहीँ खेस्राको सुरुमा निष्कर्ष र अन्तिममा उपस्थापना लेखिएको हुन सक्छ। यस्ता कुरालाई मिलाउनुपर्छ। उपस्थापनबाट सुरु गरेर निष्कर्षमा पुगेको ढाँचामा अनुच्छेदलाई सच्याउनुपर्छ।
कुनै पनि सामग्रीलाई सरल र सुबोध्य बनाउने कुरामा प्रयुक्त वाक्यको भूमिका सर्वाधिक महŒवको हुन्छ। सरल वाक्यमा लेख्नुपर्छ भन्नु एक आदर्श कुरा हो। सरल वाक्य मात्र प्रयोग गरेर व्यवहार चल्न सकिने भएको भए सायद संयुक्त र मि श्र वाक्यको उदय नै हुँदैनथ्यो होला नि ! यसैले सम्पादन गर्दा मौलिक लेखकले खेस्रामा संयुक्त र मि श्र वाक्य अपरिहार्य भएरै गरेको हो वा सरल वाक्यमा तिनलाई व्यक्त गर्नपट्टि नलागेर गरेको छुट्याउनुपर्छ। सकेसम्म सरल वाक्यमा ढाल्नुपर्छ। मि श्र वाक्यमा नलेखी नहुने भयो भने अर्थ बरालिने हो कि भनेर एक पटक फर्केर हेर्नै पर्छ।
प्रकाशनगृहहरूमा सम्पादनको कामलाई पाठ (टेक्स्ट) सम्पादन, प्रति (कपी) सम्पादन, कक्ष (डेस्क) सम्पादन भनेर पनि विभाजन गरिएको पाइन्छ। माथि वर्णन गरिएको संरचना र भाषिक सम्पादन पाठ सम्पादनको फाँट हो। पाठ सम्पादन भइसकेको सामग्रीमा पनि केही कुरा दोहोरिएको, केही छुटेको, केही विवरण वा सूचना नै त्रुटिपूर्ण रहेको वा केही प्रस्तुतिमा तलबितल परेको हुन सक्छ। यस्तो कुरालाई जाँच्ने, हेर्ने र सच्याउने कामलाई प्रति सम्पादनको फाँटमा राखिन्छ।
प्रति सम्पादनको कार्य प्रश्नबाट सुरु हुन्छ। यो सामग्री कसले पढ्ने हो ? लक्षित पाठकले सामग्रीको पाठ र सन्देश बुझ्ने छ कि छैन ? बुझ्ने छैन भने बुझ्ने भाषामा सामग्रीलाई ढाल्नुपर्छ। समयसापेक्षतामा सन्देशको भाषा मिलाउनुपर्छ। पाठको लमाइले सन्देशको स्पष्टतालाई बाधा पार्छ भने छोट्याउनुपर्छ अनि सन्देशको अस्पष्टतालाई खुलस्त पार्न केही दृष्टान्त वा स्पष्टीकरण थप्नुपर्ने पनि हुन सक्छ।
तथ्यहरू त्रुटिरहित रूपमा रहेको सुनिश्चित पार्नु यस्तो सम्पादनभित्रको काम हो। प्रकाशनमा गइरहेको सन्देशको तथ्यगत पक्षको त्रुटिले लेखक र प्रकाशककै विश्वसनीयता र साख गुम्न सक्छ त्यसैले तथ्यगत सामग्रीलाई तथ्यगत त्रुटिमुक्त बनाउनु सम्पादकको मूल दायित्व हो। यसैले सामग्रीमा प्रस्तुत भएका तथ्यगत तालिका, स्तम्भचित्र, रेखाचित्र, तस्बिर आदिको पाठसँगको सामाञ्जस्यको पुनरीक्षण गर्ने काम यसैभित्र पर्छन्। प्रति सम्पादनको काम भनेको लेखन वा रचनालाई सर्वोत्कृष्ट बनाउने हो।
यसैले प्रति सम्पादकले पूर्वसम्पादित मसौदालाई छरितो बनाउने काम गर्नुपर्छ, जटिल शब्दावली प्रयोग भएको भए बुझिँदा शब्दावलीबाट प्रतिस्थापन गर्नुपर्छ। पाठको संगठनको पुनरीक्षण गर्नुपर्छ। प्रयोग भएको भाषाशैली र भावतरंगको प्रवाह स्थिर छ कि छैन जाँच्नुपर्छ। कुतूहल कायम राख्ने स्थिर शैलीले रचनामा प्राण भर्छ र रचना जीवन्त बन्छ। यसैले सन्देशप्रवाहको क्रम चाखपूर्ण, सूचनामूलक र प्रभावउत्पादक छ कि छैन मूल्यांकन गर्नुपर्छ।
सम्पादनको उपान्त क्रिया भनेको रचनाको शीर्षक र पाठको तारतम्यको परीक्षण हो। सामान्यतः साहित्यिक रचना (कविता, निबन्ध, कथा, गीत)का शीर्षक सर्जकबाटै निर्धारण गरिएका हुन्छन्, तथापि तिनको शीर्षकको उपयुक्तता हेरी परिमार्जन गर्ने अधिकार सम्पादकलाई हुन्छ। समाचार र विचार–आलेख, टिप्पणी वा पत्रको त प्रकाशित हुने शीर्षक दिने काम नै सम्पादकको हो।
सम्पादनको अन्तिम काम भाषाको प्रभाविलो प्रयोग हो। यसका लागि मानक भाषाको प्रयोग गरिनुपर्छ, व्याकरणको अविचलित पदक्रम (नेपाली भाषामा कर्ता कर्म र क्रियाको क्रममा रहेको, अंग्रेजीमा भए कर्ता, क्रिया र कर्मको क्रममा रहेको) लाई प्रस्थानबिन्दु बनाउनुपर्छ। आवश्यकताअनुसार साहित्यिक सामग्रीको सम्पादनमा अविचलित पदक्रम प्रयोग हुन सक्छ। भाषामा शब्दमा आधारभूत अर्थ अन्तर्भूत रहेको हुन्छ। यो अन्तर्भूत अर्थलाई त्यसको वर्णविन्यासले बोकेको हुन्छ, यसैले वर्णविन्यास उपयुक्त तरिकाले भए भएनन् भन्ने जाँच गर्नु असल सम्पादनको महत्त्वपूर्ण काम हो।
कतिपयले शुद्धिपठनलाई नै सम्पादन मान्छन्, कतिले चाहिँ शुद्धिपठनलाई सम्पादनको अंगै मान्दैनन्। यी दुवै सोच अतिवादी हुन्। कुनै पनि भाषामा मानक शब्दद्वारा अर्थवहन गराइन्छ। यसैले शुद्धिपठनले अर्थमा भूमिका खेल्छ र त्यो शब्ददेखि वाक्यको बनोटसम्मै रहन्छ। यसो हुनाले सम्पादन गर्दा सम्बन्धित भाषाको व्याकरणिक ढाँचाअनुसार स्वीकृत वर्णविन्यासको प्रयोग गर्नुपर्छ नभए अनर्थ हुन्छ। यसैले सम्पादनको ध्यान यसमा पनि पुग्नैपर्छ।
सिर्जनात्मक लेखन आफैंमा एउटा कठोर काम हो। मानिसभित्रको प्रतिभा, त्यो प्रतिभाले नयाँ कुरा प्रतिपादन गर्न सक्ने तर्कोक्ति क्षमता र अभ्यासले लेखन र सम्पादनको कार्यलाई खिरिलो बनाउन सक्छ। यसैले सम्पादन गर्दा जहिले पनि म प्राविधिक निरस र यान्त्रिक काम गरिरहेको छु भन्ने सोचाइबाट मुक्त रहनुपर्छ। सम्पादनको काम लेखनको जस्तै रसिलो, कला र विज्ञानको सम्मि श्रण रहेको, चाखलाग्दो, उत्तरदायी र रचनात्मक काम हो।