जापानका स्मृतिविम्ब
कृष्ण बजगाईं कहिले ‘युरेशियाको स्पर्श’ र ‘भायासाक्रा’ जस्ता नियात्रासंग्रहबाट पाठकलाई बेलायत र युरोपका विभिन्न सहर घुमाउँछन् कहिले ‘दाइबुचु’ नियात्रासंग्रहबाट जापान घुमाउँछन्। कतिलाई लामो यात्रा सास्ती र झमेलाको पर्याय भन्ने लाग्दो हो। तर कृष्ण बजगाईं यात्राभित्र पनि सुन्दरता र उत्सुकताले ढकमक्क फुलेको काव्यकानन देख्छन्। त्यसैले त पछिल्लो कृति दाइबुचुमा हाइकु र नियात्राको सम्मि श्रण गरेर पृथक् शैलीको कृति तयार पारेका छन्।
हाइकुको जन्मथलो जापानबारे उनको मस्तिष्कमा अनेक आकृति बनेका थिए। हुन त बेलायतजस्तो सम्पन्न राष्ट्रबाट उनले अर्को विकसित देशमा पाइला चाल्दा सुविधायुक्त भौतिक जीवनसँग सम्बन्धित विकासका पूर्वाधारहरूसँग खासै फरक त भेट्टाएनन् होला। तर पनि विश्वमैै पृथक् पहिचान राख्न सफल जापानीहरूको जीवनशैलीमा भने आफ्नो छुट्टै पहिचान छ। संसारमै अनुशासित र सभ्य नागरिकका रूपमा आपूmलाई चिनाउन सफल जापानीहरूको संस्कार, सभ्यता र युद्धस्तरमा प्रविधि सम्पन्नता कायम गर्ने जापानको जति प्रशंसा गरे पनि कमै हुन्छ, यी कुरालाई बडो गम्भीरतापूर्वक अध्ययन गर्छन् नियात्राकार। संसारको सबैभन्दा धेरै जनसंख्या भएको महानगर टोकियोको सहरमा आपूmलाई पाउँदा उनी दंग पर्छन्। जापानी सुन्दरी महिला देख्दा उनीहरूको सौन्दर्यमा वशीभूत भएर हाइकु सिर्जना गर्छन्।
बैंसको भारी
छाताभित्रकी गोरी
कर्के नजर।
जापानको जेब्राक्रसमा भएको भीडभाडबाट आत्तिएर नियात्राकारकी जापानी साथी कुमीले वैकल्पिक बाटो डोर्याउँछिन्। तर नियात्राकार यति प्रसिद्ध देशको जेब्राक्रसमा आफ्ना पाइला राख्न पाएँ भनेर आपूmलाई भाग्यमानी महसुस गर्छन्। कुमी साथीले नियात्राकारलाई जापानीहरूको बिरालोमोहबारे बताएपछि एक दिन नियात्राकार क्याट क्याफे जान्छन् र कालो बिरालोसँग आँखा जुधाउँछन्। नेपालमा अवशकुनका रूपमा हेरिने कालो बिरालो जापानमा भने अत्यन्त सगुनका रूपमा हेरिन्छ। जति सम्पन्न मुलुक भए पनि जापानमा पनि अन्धविश्वास त रहेछ आखिर भन्ने उनलाई लाग्छ।
सिबुया स्टेसनमा रहेको बफादार कुकुर हाचिको सालिक हेर्न उनी जुर्मराउँछन्। फिल्ममा मात्र देखेका उनले प्रत्यक्ष हाचिको सालिक अगाडि पुग्दा अत्यन्त खुसी बन्छन्। आफूले सुनेका ठाउँहरूमा सशरीर घुम्न पाउँदाको सन्तुष्टि शब्दहरूमा उतार्न गाह्रो भएको कुरा पाठकले अनुमान लगाउन सक्छ। बुद्ध धर्मको बारेमा जापानीहरूको आस्था र विश्वासलाई पनि उनले नजिकैबाट नियालेका छन्।
कामाकुरा भन्ने स्थानमा अवस्थित ठूलो बुद्ध अर्थात् जापानी भाषामा दाइबुचुको अवलोकनपछि बौद्ध संस्कृतिका बारेमा धेरै ज्ञान बटुलेका छन्। जापानीहरूको पुरानो धर्म सिन्तो धर्मका बारेमा बुझ्न तथा नेपाली शैलीका मन्दिरहरूलाई पनि उनले चाख मानेर अध्ययन गरेका छन्। कतिपय ठाउँमा भाषिक समस्याका कारण पर्याप्त जानकारी पाउन सकेका छैनन भने कतिपय ठाउँमा पहिलेदेखि नै जापानमा बसोबास गर्ने नेपालीले बुझेको आधारमा भनेका कुराहरूलाई नै पत्याउन विवश भएका छन्।
लेखकलाई सबैभन्दा ठूलो हुटहुटी हिरोसिमा पुग्नलाई भएको छ। हिरोसिमाबारे संसारले थाहा पाएको छ। त्यस्तो विश्वप्रसिद्ध ठाउँमा जाने अधिक चाहना सबैलाई हुन्छ, त्यसबाट नियात्राकार किन अलग हुन सक्थे र ? टोकियोबाट ओसाका हुँदै हिँडेको साहित्यिक टोलीमा यात्रारत नियात्राकार कति बेला हिरोसिमा पुगूँला र त्यसको भूमिलाई नियाल्न पाइएला भनेर व्यग्र बनिरहेको आशय पाठकले सजिलै अनुमान लगाउन सक्छन्। जब उनी हिरोसिमा पुग्छन्, सबैभन्दा बढी भावुक उनी संग्रहालयको अवलोकनपछि हुन्छन्।
सन् १९४५ मा अमेरिकाले आणविक बम हानेर क्षतिग्रस्त बनेको हिरोसिमा सहरको अवस्था अत्यन्तै कारुणिक थियो। बम आक्रमणपछिको त्रासद अवस्थालाई झल्काउने हिसाबले विभिन्न जीवन्त तस्बिरहरू संग्रहालयमा सुरक्षित राखिएको थियो। बम विस्फोटको बेला जापानी नागरिक कति भयावह अवस्थामा रहे होलान् भनेर सम्झँदा उनी दुःखित भएको देखिन्छन्। बुद्धको देशमा जन्मिएका लेखकलाई त्यो हिंसा र बर्बरतालाई पचाउनै नसक्ने लाग्छ।
यही बम आक्रमणको कारणले अमेरिका र जापानको सम्बन्ध त पानी बाराबार होला भन्ने अनुमान गरेका लेखक जब जापान र अमेरिका अहिले घनिष्ठ मित्रराष्ट्र बनेका छन् भन्ने सुन्दा अचम्ममा पर्छन्। युद्धबाट थिलथिलो परेको जापानलाई उकास्ने काम अमेरिकाले नै गरेको थियो। आज अंग्रेजी भाषा बोल्ने मानिस र अमेरिकी नागरिक देख्नेबित्तिकै जापानी नागरिकको शिर श्रद्धाले उचालिएको कारण पनि थाहा पाउँछन्।
हिरोसिमा पछि क्योटो सहरमा पुग्दा उनी त्यसको कलाकौशल र स्थानीयताले मोहित भएका छन्। विश्व सम्पदा सूचीमा रहेको सुनैसुनको मन्दिर किङकाकुजीको दर्शन र अन्य ऐतिहासिक महत्त्वका स्थलहरू हेर्दा उनले पढेको र क्योटोभन्दा देखेको क्योटो अझ जीवन्त रहेको महसुस गरेका छन्। जापानको पुरानो राजधानीका रूपमा परिचित क्योटो सांस्कृतिक, ऐतिहासिक र पुराताŒिवक हिसाबले महत्त्वपूर्ण रहेछ भन्ने कुरा उनले थाहा पाउँछन्।
जति नै विकसित देश भए पनि अमेरिकामा जस्तै मगन्ते जापानमा पनि रहेको र तिनलाई वर्षको एकपटक कानागावा नेपाली कम्युनिटीले नेपाली खाना खुवाउने गरेको कुरा सुन्दा थोरै भए पनि नेपाली समुदायप्रति गर्व व्यक्त गर्छन्। हाइकुको जन्मथलो भएकाले होला प्रसिद्ध ठाउँहरूमा हाइकु लेखेर हाइकुको प्रवद्र्धन गरेको देख्दा उनलाई उस्तै खुसी लाग्छ। दुईवटा हाइकुसंग्रह प्रकाशन गरिसकेका नियात्राकारले दाइबुचु नियात्रासंग्रहभित्र पनि ७८ वटा हाइकु नियात्रासँगै मि श्रण गरेका छन्। तेह्रवटा शीर्षकमा उनिएका नियात्रा लेखकको लगभग दुई हप्ता जापान भ्रमणको दस्तावेज हो। – प्रभा बराल